Kathmandu Press

सदनमा छलफलको तयारी, सडकमा आन्दोलन

एकातिर सदनमा छलफलको तयारी भएको छ भने अर्कोतिर सडकमा आन्दोलन चर्किएको छ। यसले नेकपाभित्र पनि तीव्र असन्तुष्टि बढेको छ।
सदनमा छलफलको तयारी, सडकमा आन्दोलन

बुटवल, असोज १९ : प्रदेश ५ को राजधानीको विवाद चर्किदै गएको छ। एकातिर सदनमा छलफलको तयारी भएको छ भने अर्कोतिर सडकमा आन्दोलन चर्किएको छ। यसले नेकपाभित्र पनि तीव्र असन्तुष्टि बढेको छ।

प्रदेश ५ सरकारले दाङलाई राजधानी बनाउनेसम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गराएपछि विवाद सुरु भएको हो। अहिले अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै आन्दोलन चर्किएको छ।

एकातिर आन्दोलन चलिरहेको छ भने अर्कातिर सदनमा छलफलको तयारी सुरु भएको छ। आज दिउसो १२ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

आजको प्रदेश सभा बैठकमा प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा छलफल सुरु हुनेछ। प्रदेश सभाले छलफल तथा निर्णयार्थ प्रस्तुत गर्नका लागि तीन दिनको समय तय गरेको छ।

यसले सत्तारुढ नेकपाभित्र पनि तीव्र असन्तुष्टि बढेको छ। आज बिहान बोलाएको नेकपा संसदीय दलको बैठक बस्न सकेको छैन। मुख्यमन्त्री शंकर पोखरेलसमेत बैठकमा लागि आएका छैनन्।

त्यस्तै, दाङलाई राजधानी बनाउने प्रदेश सरकारको प्रस्तावको विरोध गर्दै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन्। उनी नेकपा सांसद हुन्।। रुपन्देही २ (क) बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष पनि हुन्। उनी बुटवललाई नै राजधानी बनाउनुपर्ने पक्षमा छन्।

उता नेपाली कांग्रेसले आन्दोलन चर्काएको छ। आज पनि बुटवलमा बिहानैदेखि प्रदर्शन जारी रहेको छ। बुटवललाई राजधानी बनाउनुपर्ने माग गर्दै आन्दोलन जारी रहेको छ। आज प्रदेश सभा भवन घेराउन गर्ने कार्यक्रम रहेको जनाएको छ।

आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। असोज १८ गते बिहान ६ बजेदेखि असोज २१ गते बेलुकी ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

तर, निषेधाज्ञा उलंघन गर्दै प्रदर्शन भइरहेको छ। प्रदर्शनमा कांग्रेससँगै अन्य दलका स्थानीय नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दा सहभागी रहेका छन्।

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमा सबैको सहमति छ। तर, राजधानी दाङ बनाउने प्रस्तावमा भने विवाद रहेको छ।
प्रस्ताव पारित हुनका लागि प्रदेश सभामा रहेका ८७ सांसदमध्ये ५८ जनाले पक्षमा मत दिनुपर्नेछ। तर, नेकपाका २० सांसद असन्तुष्ट छन्। जसले गर्दा राजधानीको प्रस्ताव पारित हुनेमा आशंका गरिएको छ।

नेकपाका ६१ सांसद छन्। सबैले प्रस्तावको पक्षमा मतदान गरेमा पारित हुनेछ। तर, असन्तुष्ट २० सांसदले पक्षमा मतदान नगरेमा दाङलाई राजधानी बनाउने प्रस्ताव असफल हुनेछ।

प्रदेश सभामा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६  र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्। यि तीनै दल राजधानी बुटवल नै बनाउनुपर्ने पक्षमा छन्।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्