प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा छलफल हुँदै
बुटवल, असोज १९ : प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदै छ।प्रदेश सभाको बैठकमा सभामुखले...
बुटवल, असोज १९ : प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदै छ।
प्रदेश सभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिने कार्यक्रम छ। सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ। यसरी छलफल र प्रस्ताव पेश गर्नका लागि प्रदेश सभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ।
सोमबार र मङ्गलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेश गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ।
कार्यविधिअनुसार, संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुनेछ।
राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेश सभाले राजधानी र नामकरण टुङ्ग्याउनेछ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रस्तावका पक्षमा दुई तिहाई नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुनेछ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घन्टाको समय निर्धारण गरिएको छ। यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेश सभामा प्रस्ताव पेश भएको थियो।
प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घन्टाभित्र चित्त नबुझेका प्रदेश सभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ।
सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घन्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घन्टाको मात्रै समय दिएका छन्।
प्रस्ताव पारित हुनका लागि प्रदेश सभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ। संविधानले प्रदेश सभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ।
६१ सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ। कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
प्रदेश ५ को अस्थायी राजधानी सार्ने प्रस्ताव सभामा पेश भएपछि रुपन्देहीमा आन्दोलन चर्किएको छ। दाङलगायत बाँके र बर्दियामा भने राजधानी सार्ने प्रस्तावको स्वागत भएको छ। दाङ, बाँके, बर्दियामा सत्तारुढ र प्रतिपक्षी दलले नै स्वागत गर्दा रुपन्देही, गुल्मी, पाल्पामा भने विरोध भएको छ।
स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी कांग्रेस सडक आन्दोलनमा छ। संयुक्त सङ्घर्ष समिति र काङ्ग्रेसले आज प्रदेशसभा भवन घेराउको कार्यक्रम राखेका छन्। प्रदेश सभा घेराउ हुने भएपछि प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ।











