डा. केसीको माग अविलम्ब पुरा गरी जीवन रक्षा गर्न कांग्रेसको माग
काठमाडौं, असोज १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीकाे माग तत्काल सम्बोधन गरी...
काठमाडौं, असोज १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीकाे माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न माग गरेका छन्। देउवाले आइतबार विज्ञप्ती जारी गर्दै केसीका माग सम्बोधन गरी जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन्।
देउवाले केसी अनशन बसेको २१ दिन पुग्दासमेत सरकारले चासो नदेखाउनु दुखद भएको बताएका छन्। ‘डा केसीको अनशन २१ दिन पुग्दा उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दासमेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर छ,’ देउवाले विज्ञप्तीमार्फत भनेका छन्, ‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका उहाँका मागहरु केवल एक ब्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन्। जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो।’
सरकारले शुरूवातमा डा. केसीप्रति दुर्व्यवहारपूर्ण ब्यवहार गर्नु आपत्तिजनक भएको भन्दै देउवाले अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको बताएका छन्।
‘०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको सर्वविदितै छ। समयक्रममा कतिपय विसंगति चिकित्सा शिक्षा क्षेत्रमा बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्चस्तरीय कार्यदल गठन गरेको थियो भने कार्यदलको सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाएको थियो,’ विज्ञप्तीमा भनिएको छ, ‘केसीका मागहरू पूरा गर्दै मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ०७४ कार्तिक २४ मा जारी गरेको थियो। तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको भन्दै देउवाले फेरि पनि संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न प्रधानमन्त्री आलीलाई आग्रह गरेका छन्। देउवाले केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उनको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत दिएका छन्।











