Kathmandu Press

कर्णाली  प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण

वीरेन्द्रनगर, असोज १८ : पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन।दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी...
कर्णाली  प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण
सांकेतिक तस्वीर।

वीरेन्द्रनगर, असोज १८ : पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन।

दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन। दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। 

“शनिबार पुष्टि भएका सङ्क्रमितमा गृहणीदेखि क्याम्पस लेक्चररसम्म छन्”, स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भने, “बाह्र जना त स्वास्थ्यकर्मी मात्रै छन्। शनिबार पुनः ५१ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ७८० पुगेको छ।” सङ्क्रमितमा सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र प्रदेशबाहिरका तीन व्यक्ति रहेको उनले बताए। 

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका दुई, स्वास्थ्यकर्मी १२, बहालवाला दुई र अवकाश एकसहित तीन कर्मचारी, क्वारेन्टिनमा रहेका पाँच, विद्यार्थी चार, व्यापारी तीन, कृषक, नेपाली सेना, गृहणी, लेक्चरर, सहकारी, सुनचाँदी पसल र शिक्षक एक-एक व्यक्ति रहेका छन्। दैलेखमा भने नौ नागरिकमा सङ्क्रमण देखिएको हो।
  
त्यस्तै शनिबार ४५ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ९० पुगेको अधिकृत कँडेलको भनाइ छ। प्रदेशका विभिन्न आइसोलेसनमा ६०५ जना रहेका छन्। कोरोना महामारीका रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँका सबै क्षेत्रमा सङ्क्रमण फैलिँदै गएको जनाइएको छ। रासस

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्