Kathmandu Press

यी हुन कोरोना भाइरसबाट संक्रमित विश्वका नेताहरू

जोहन्सवर्ग, असोज १६ : विश्वभरमा कोरोना संक्रमित बढिरहेको अवस्थामा नेताहरु पनि संक्रमित बन्न पुगेका छन्। आजमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  उनकी पत्नीमा...
यी हुन कोरोना भाइरसबाट संक्रमित विश्वका नेताहरू

जोहन्सवर्ग, असोज १६ : विश्वभरमा कोरोना संक्रमित बढिरहेको अवस्थामा नेताहरु पनि संक्रमित बन्न पुगेका छन्। आजमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  उनकी पत्नीमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै अन्य देशरुमा पनि कोरोना संक्रमित नेताहरु रहेका छन्। यी हुन् कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरु :

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन 

Hardik ivf

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन्। उनलाई गत अप्रिलमा संक्रमण भएपछि आइसियुमै राख्नुपरेको थियो। उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो। तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन। उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्नो कामहरु पनि गरेका थिए।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको संक्रमण भएको थियो। उनले संक्रमित भएको बेला मलेरिया विरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरिया विरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोजेका थिए। त्यो अहिले पनि अप्रमाणित नै रहेको छ। उनले सामाजिक दुरी काम गर्ने, माक्सको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने गरेका थिए। उनी लकडाउन विरोधी नेताका रुपमा पनि चिनिन्छन्। उनको श्रीमती पनि संक्रमित भएकी थिइन्।

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। राष्ट्रपति हर्नान्डेजसँगै उनकी आफ्नी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो। तर उनमा लक्षण भने सामन्य मात्रै देखिएको थियो। उनले आफूमा संक्रमण भए पनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गरेका थिए।
 
गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते

कोरोना भाइरसबाट संक्रमित भएका विश्व नेताहरुको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि हुन्। उनलाई गत सेप्टेम्बरमा संक्रमण पुष्टि भएको थियो। आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गरेका थिए। उनले पनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताएका थिए।

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए। उनलाई गत जुलाईमा संक्रमण भएको हो। सङ्क्रमित भएपछि उनी आइसोलेशनमा बसेका थिए। उनले त्यो बेलामा कुनै असजिलो भने महसुस गरेका थिएनन्। कोरोनाबाट संक्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख थिए। त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टी भएको थियो। अनेजको कार्यालयका केही सदस्यहरुमा संक्रमणको पुष्टि भएपछि उनको पनि परीक्षण गराउँदा उनमा संक्रमण देखिएको हो। बोलिभियामा सरकारका चार जना शीर्ष अधिकारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो।

डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर 

गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा संक्रमित भइ संक्रमणमुक्त भएको समाचारमा जनाइएको छ। उनले आफ्नो निर्वाचन हुनु अगाडि नै हप्ता लामो आइसोलेशनमा पनि बस्नुपरेको थियो।  

इरानका उपराष्ट्रपति र मन्त्रीहरु 

कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए। देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। त्यस बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि संक्रमित भएका थिए। 

यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए। 

विश्वव्यापी रुप्मा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दश लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ। 

कोरोनाबाट संसारभरी कुल तीन करोड ४५ लाख १७ हजार ४४६ जना संक्रमित भएका छन् भने ती मध्ये दुई करोड ५६ लाख ८८ हजार ७७२ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमित भएकाहरुको सङ्ख्याअनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु अमेरिकामा रहेका छन्। अमेरिकामा अहिलेसम्म ७४ लाख ९४ हजार ६७१ जना सङ्क्रमित हुँदा दुई लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ। 

त्यसैगरी सङ्क्रमितहरुको धेरै सङ्ख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका क्रमशः अग्र दश स्थानमा रहेका छन्। 

प्रकाशित मिति: २३:४८ बजे, शुक्रबार, असोज १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्