दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव पारित हुँदै
काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमति जुटेपछि दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी...
काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमति जुटेपछि दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव पारित गर्ने तयारी भएको छ।
प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लाने तयारी गरेको नेकपाका केन्द्रीय सदस्य तथा संघीय संसद मेटमणी चौधरीले जानकारी दिए। ‘केन्द्रमा दुई अध्यक्षबीच सहमति जुटेपछि प्रदेश सरकारले आज नै प्रस्ताव प्रदेशसभामा पेश गर्ने तयारी गरेको त्यसको लागि ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ,’ उनले भने।
दुई अध्यक्षबीच दाङलाई राजधानी तोक्न प्रदेश ५ कमिटीलाई निर्देशन दिएको चौधरीले बताए। प्रदेशको राजधानी बुटवल राख्ने वा दाङ भन्ने विषयमा विवाद थियो। नेकपाका महासचिव विष्णु पौडेल बुटवलमा राजधानी राख्ने पक्षमा थिए भने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङलाई राजधानी बनाउनुपर्ने माग गर्दै आएका थिए। प्रदेश ५ को अस्थायी राजधानी हाल बुटवलमा छ। राजधानी दाङमा राख्ने भनिएपनि प्रदेशको नामाकरण भने अझै हुन सकेको छैन।











