डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पतालमा
काठमाडौं, असोज १६ : चिकित्सा सेवा सुधारको माग गर्दै १९ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा.रामवरण यादव शिक्षण अस्पताल पुगेका छन्।...
काठमाडौं, असोज १६ : चिकित्सा सेवा सुधारको माग गर्दै १९ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा.रामवरण यादव शिक्षण अस्पताल पुगेका छन्। उनले तत्काल डा.केसीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पूर्वराष्ट्रपति यादव आज डा.केसी सत्याग्रहमा बसिरहेको त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेका हुन्। उनले डा. केसीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।
उनले डा.केसीका माग पूरा गर्नुपर्ने बताए। डा.केसीसँगको भेटमा पूर्वराष्ट्रपति यादवले विश्व अहिंसा दिवसको प्रशंग निकाले थिए। उनले महात्मा गान्धीको प्रशंग निकाल्दै डा.केसी पनि अहिंसाको मार्गमा रहेको बताए। जसले गर्दा संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उनको भनाइ थियो।
डा.केसीजस्ता अभियन्ता देशलाई चाहिने उनले बताए। त्यसैले उनको जीवन रक्षा गर्न र माग सम्बोधन गर्न सरकारसँग आग्रह पनि गरे।
यस अघि पनि डा.केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाएको उनले स्मरण गरे। यस पटक डा.केसीको स्वास्थ्य एकदमै कमजोर भएकोले तत्काल पहल थाल्नुपर्ने बताए।
डा.केसी १९ दिनदेखि सत्याग्रहमा छन्। सरकारले अहिलेसम्म उनको माग सम्बोधनका लागि पहल गरेको छैन।











