बामदेव गौतमको राष्ट्रियसभामा मनोनयनविरुद्ध परेको रिट हेर्दाहेर्दैमा, शुक्रबार सुनुवाइ हुने
काठमाडौैं, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ लम्बिएको छ। बुधबार संवैधानिक इजलासमा बहस...
काठमाडौैं, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ लम्बिएको छ।
बुधबार संवैधानिक इजलासमा बहस नसकिएपछि रिटकमाथिको सुनुवाइ शुक्रबार हुने भएको हो। नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्ण लगायतले बहस गरेका थिए। यता सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए।
सर्वोच्चले गत असोज ७ गते राष्ट्रियसभामा मनोनीत गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो।











