Kathmandu Press

सरकारको चेतावनी- तोकेभन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गर्ने ल्याबको स्वीकृति खारेज गर्छौं

सरकारले तोकिएको भन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गर्ने प्रयोगशालाको परीक्षण अनुमति खारेज गर्ने चेतावनी दिएको छ। 
सरकारको चेतावनी- तोकेभन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गर्ने ल्याबको स्वीकृति खारेज गर्छौं
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतम।

काठमाडौं, असोज १४  : सरकारले तोकिएको भन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गर्ने प्रयोगशालाको परीक्षण अनुमति खारेज गर्ने चेतावनी दिएको छ। 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तोकिएको भन्दा बढी शुल्क लिने गरेको प्रयोगशालाको पीसीआर परीक्षण अनुमति खारेज गर्ने चेतावनी दिएका हुन्। 

प्रवक्ता गौतमले तोकेको भन्दा बढी शुल्कमा पीसीआर परीक्षण गरिरेको पाइएकाले एक पटकलाई सचेत गराइएको बताए। उनले तोकिएकै शुल्कमा परीक्षण नगरे अनुमति खारेज गर्ने चेतावनी पनि दिए।

स्टार अस्पताल, ह्याम्स , वीएण्डवी ,नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले तोकिएको भन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गरिरहेको पाइएको उनले जानकारी दिए। 

‘तोकेको भन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गरिरहेको पाइएकाले ती आठ प्रयोगशालालाई एक पटकलाई सचेत गराएका छौँ,’ उनले भने,‘अब तोकिएको शुल्क दुई हजार रुपैयाँमै पीसीआर परीक्षण नगरे ती प्रयोगशालाको परीक्षण अनुमति खारेज गर्छौं।’

प्रवक्ता गौतमले अब पनि बढी शुल्क लिएर पीसीआर परीक्षण गरेको पाइए त्यस्ता प्रयोगशालाको परीक्षणका अनुमति खारेजी गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको पनि बताए।

सरकारले पीसीआर परीक्षणका लागि दुई रुपैयाँ शुल्क निर्धारण गरेको छ। तर, अधिकांश निजी अस्पतालले दोब्बर शुल्क लिएर कोरोनाको पीसीआर परीक्षण गर्दै आएका छन्। 

स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ।
 

प्रकाशित मिति: २२:३४ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्