वामदेवविरुद्धकाे मुद्दा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
काठमाडौं, असोज १४ : नेकपा उपाध्यक्ष वामदेव गौतमको मुद्दामा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ।सरकारको सिफारिशमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा...
काठमाडौं, असोज १४ : नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाकाे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ।
सरकारको सिफारिशमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। त्यसको सुनुवाइ संवैधानिक इजलासमा गर्नुपर्ने सर्वोच्च अदालतले ठहर गरेको थियो।
असाेज ७ गते सर्वाेच्चका न्यायाधीश आनन्दमाेहन भट्टराईकाे एकल इजलासले याे मुद्दालाई संवैधानिक इजलासमा पठाएकाे थियाे।
त्यहिअनुसार, गौतमको मुद्दामा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको हो। प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित पाँच सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेका निवेदनमाथि सुनुवाइ हुनेछ। त्रिपाठीको निवेदनमाथि सुनुवाइपछि गत साता सर्वोच्च अदालतले गौतमको मनोनयन ‘यथास्थितिमा राख्नु’ भन्ने आदेश दिएको थियो।
गाैतम २०७४ काे प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए। प्रतिनिधिसभामा पराजित व्यक्तिलाई राष्ट्रिय सभामा पठाउन नमिल्ने भन्दै मुद्दा परेकाे हाे।











