Kathmandu Press

बालबालिकामा संक्रमणभन्दा मनोवैज्ञानिक प्रभाव धेरै

बालबालिकामा संक्रमणभन्दा मनोवैज्ञानिक प्रभाव धेरै

काठमाडौं, भदौ ११ : कोभिड–१९ को महामारीले विश्व आक्रान्त भएका वेला बालबालिकामा मनोबैज्ञानिक असर परेको देखिएका छ।

कोभिड–१९ का कारण बालबालिकामाथि परेको प्रभावसम्बन्धी दक्षिण एसियाली राष्ट्रहरुको सहकार्यका विषयमा भएको वेभिनरमा सहभागी दक्षिण एसियाली मुलुकका सरोकारवालाहरुले बालबालिकामा कोभिड–१९ को संक्रमणभन्दा पनि सामाजिक, पारिवारिक र मनोवैज्ञानिक असर परेको बताएका हुन्।

माल्दिभ्सकी सामाजिक सेवामन्त्री इफाम हुसेनले दक्षिण एसियाली राष्ट्रहरुमै कोभिडका कारण रोजगारी गुमाएको परिवारका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताइन्। उनले भनिन्, ‘बालबालिकाको अधिकार संरक्षण तथा मानव बेचबिखन रोक्नकालागि अन्तरदेशीय सहकार्य र साझा प्रतिवद्धता आवश्यक रहेको छ।’

Hardik ivf

नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिडपछिको व्यवस्थापनका लागि सरकारले दश वर्षे रणनीतिक योजनाको कार्यक्रम समावेश गरेको बताए। ‘विपतका कारण नेपाली बालबालिकाहरु सधै जोखिममा पर्ने गरेका छन्, कोभिडका कारण अझ सडक बालबालिकाको संख्या बढिरहेको छ,’ मन्त्री गुरुङले भने, ‘कोभिडको कारण सरकारले तय गरेको सडक बालबालिकामुक्त घोषणा गर्ने कार्यक्रम नै प्रभावित भएको छ।’ उनले सरकारले आगामी एक वर्षभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने बताए।

सरकारले आर्थिक वर्ष २०७३/७४ मै भनेको थियो, ‘बालबालिका सडकमा बस्नुपदैन, सडकमा बस्न हँुदैन।’ तर, त्यसपछि पनि सडक बालबालिकाको संख्या भने कम भएको छैन।

राष्ट्रिय बालअधिकार परिषद्का अनुसार कोभिड संक्रमण भएको पाँच महिनामा मात्रै परिषद्ले ७९ जना सडक बालबालिकाको उद्धार गरेको छ। परिषदका कार्यकारी निर्देशक मिलनराज धरेलले मजदुरी गर्ने, ज्यामी काम गर्नेलगायत सानो व्यवसाय गर्नेका छोराछोरीहरुसहित लुकेर÷भागेर बस्ने गरेका बालबालिकाहरु भोकै परेपछि सडकमा देखिन थालेका बताए।

उनले कोभिड संक्रमणकै समय अवधिमा ४० जनालाई पुनर्मिलन गराएको बताए। सरकारले सडक बालबालिका मुक्त बनाउने अभियान चलाएपनि संख्या भने बढेकोबढ्यै छ। पछिल्लो पाँच वर्षमा एक हजार चार सय ७६ जना बालबालिका सडकबाट उद्धार गरिएको उनले बताए।

परिषदको तथ्याङकअनुसार, २०७२/७३ मा एक सय ७५ बालक र २८ बालिकासहित दुई सय तीन जनालाई उद्धार गरिएको थियो। २०७३/७४ मा चार सय ३२ बालक र ५८ बालिकासहित चार सय ९० जना बालबालिकालाई सडकबाट उद्धार गरेको छ।

त्यस्तै, २०७४/७५ मा एक सय ७७ बालक र तीन बालिकासहित एक सय ८० जना उद्धार गरिएको थियो। २०७५/७६ मा एक एक सय १९, बालक र १९ जना बालिकासहित एक सय ३८ जना तथा २०७६/७७ मा तीन सय ७८ बालक र ८७ बालिकासहित चार सय ६५ जनालाई उद्धार गरिएको तथ्याङकमा उल्लेख छ।

अहिले देशभर तीन सय ५९ वटा बालगृह छन्। परिषद्ले कोभिड अवधिमा लक्षित गरि १५ वटा बालगृहलाई खाद्यान्न, मास्क, स्यानिटाइजरलगायत सामग्री उपलब्ध गराएको उनले बताए।

कोभिडको समयमा स्वास्थ्य साम्रगीको अभाव हुन नदिन निर्देशन गरेको कार्यकारी निर्देशक धरेलले जानकारी दिए। उनका भने, ‘कोभिडकै अवधिमा ६ वटा बालगृहबाट ५५ जना बालबालिकालाई उद्धार गरी पुनर्मिलन गराइएको छ।’

लकडाउनमा भारतमा अलपत्र परेका २६ जना नेपाली बालबालिकाको समेत त्यहाँस्थित बाल संरक्षण संस्थासँग समन्वय गरी उद्धार गरिएको उनले बताए।

कार्यकारी निर्देशक धरेलले कोभिडका कारण दैनिक मजदुरी गरेर खाने परिवारका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताए। ‘संक्रमित हुने कुरा त भयो नै, विद्यालयहरु बन्द भएपछि उनीहरु मानसिक, शारीरिक र सामाजिक रुपमा पनि तनावमा छन्,’ उनले भने।

मन्त्रालयले कोभिडका लागि छुट्टै कार्यविधि नै बनाएर सरकारले बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिने व्यवस्था गरेको उनले बताए।

राष्ट्रिय मानव अधिकार आयोगकी उपसचिव मञ्जु खतिवडाले कोभिड अवधिमा सरकार बालमैत्री हुन नसकेको बताइन्। आयोगको आधिकारिक प्रतिवेदन नै सार्वजनिक हुन लागेको जनाउँदै उनले भनिन्, ‘बालबालिकाको सिक्ने थलो नै क्वारेण्टाइन बनेँ। क्वारेन्टाइन बालमैत्री भएनन्। आयोगले सरकारलाई त्यस्ता सेवाहरु बालमैत्री बनाउन पत्राचार गरेको छ।’

बाल हिंसा अन्त्यका लागि दक्षिण एसियाली पहल (साइभाक)का निर्देशक डा.रिन्चेन छोपेलले कोभिड–१९ का कारण दक्षिण एसियाली मुलुकहरुमा परेको प्रभावका विषयमा सम्बन्धित देशका सरकारहरुको ध्यानाकर्षण गराएको बताइन्। ‘अहिले देखिने प्रभाव सामान्य लाग्नसक्छ, तर यसले दिर्घकालिन रुपमा ठूलो असर पुर्‍याउनेछ। त्यसका लागि ठोस कार्ययोजना र नीति अगाडि ल्याउनुपर्ने हुन्छ,’ उनले भनिन्।

कार्यक्रम बाल अधिकारको क्षेत्रमा कार्यरत स्वतन्त्रता अभियानकी इन्चार्ज रितु भट्टले दक्षिण एसियाली मुलुकमा गन्तव्यहीन यात्रामा रहेका बालबालिकालाई कोभिड–१९ ले ठूलो असर पुर्‍याएको बताइन्। कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकामा कोभिड १९ ले बालबालिकाको क्षेत्रमा पारेको प्रभावका विषयहरु र त्यसले पार्ने दिगो प्रभावका विषयमा समेत छलफल भएको उनले बताइन्।

नेपालमा कुल जनसंख्याको करिब ४२ प्रतिशत संख्या बालबालिका छन्। तथ्यांकअनुसार, कुल बालबालिकामध्ये ११ प्रतिशत परिवारभन्दा बाहिर छन् भने, ३७.४ प्रतिशत बालबालिका श्रममा संलग्न रहेका छन्।

अहिले कोभिड–१९ का कारण विश्वका १८६ देशमा दुई अर्ब ३४ करोड बालबालिका प्रभावित छन्। युनिसेफका अनुसार हाल बन्दाबन्दी भएका ८२ देशमा कोरोनाका कारण १४ करोड बालबालिका बढी प्रभावित भएका छन्।

जोखिमका बेला बालबालिकालाई स्वास्थ्य राख्न, खानेपानी, सरसफाई र स्वच्छताको पहुँच पुर्‍याउन, बालबालिकाको सिकाईलाई निरन्तरता दिनु र हिंसा, शोषण तथा दुव्र्यवहारबाट जोगाउन वेभिनारका सहभागीले आग्रह गरेका छन्।

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, भदौ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्