Kathmandu Press

लोकगायिकाहरु भन्छन्- तीज भड्किलो भयो, गीतले विकृति जन्मायो

काठमाडौं, भदौ ५ :  नेपाली हिन्दू महिलाहरुको महान पर्व हो, तीज। यो पर्वमा गीतका माध्यमबाट दिदीबह

लोकगायिकाहरु भन्छन्- तीज भड्किलो भयो, गीतले विकृति जन्मायो

काठमाडौं, भदौ ५ :  नेपाली हिन्दू महिलाहरुको महान पर्व हो, तीज। यो पर्वमा गीतका माध्यमबाट दिदीबहिनीको सुख र दु:खका पीडाहरु पोख्ने गर्छन्।

पछिल्लो समयमा तीज गीतका विषयमा विकृति बढ्न थालेको छ। तीज पर्वको अस्तित्व नै संकटमा पर्ने गरी बजारमा आउने गीतसंगीत र महिनौंदेखि दर खाने तडक–भडकले तीजको मौलिकता घट्दै गएको छ।
 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले अघिल्लो वर्षमा जस्तो रौनक नदेखिए पनि तीज गीतमा मौलाउँदो विकृतिले यस वर्ष पनि स्थान पाएको छ। तीज गीतमा आएको विकृति र तीज मनाउने परम्परामा आएको परिवर्तन देखेर तीजको मौलिकता जोगाउन लागि परेका गायिकाहरु भने दु:खी देखिन्छन्।

विगतका पुराना तीज र अहिलेको आधुनिक तीजलाई समेत नजिकबाट नियाल्दै आएका गायिकाहरु हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने र शर्मिला गुरुङले तीजको मौलिकता हराउन दिन नहुने बताउँछन्।
 
लोकगायिका लक्ष्मी न्यौपाने पछिल्लो समय तीजमा आएको परिवर्तन कुनै नौलो कुरा भने नलागेको बताउँछिन्। तर, उनको विचारमा परिवर्तनका नाममा विकृति मौलाउनु निकै दु:खद् हो।

Hardik ivf

‘पहिलाको तीज कृष्ण जन्माअष्टमीको अघिल्लो दिनबाट सुरु हुन्थ्यो। गाउँले परिवेश अनुसार एक दिन एक जनाकोमा, अर्को दिन अर्कोमा दर खाने प्रचलन हुन्थ्यो, तीज आयो भनेपछि आमा, दिदीबहिनी बसेर गीत जुराउने गरिन्थ्यो’, न्यौपानेले भनिन्।  

उनका अनुसार गीत जुराउँदा समाजमा घटेका घटना, विषयवस्तु र राजनीतिलाई पनि प्राथमिकतामा राखेर गीतको सिर्जना गरिने प्रचलन थियो। दर्शक-स्रोता, सञ्चारमाध्यम, सर्जकले पनि विकृति फैलाउने खालका गीतमा अंकुश लगाउने र प्रोत्साहन नगर्ने हो भने केही हदसम्म गीतसंगीतको विकृति हटाउने सकिने उनको धारणा छ।  

‘परिवर्तनका नाममा पुराना तीजका गीत कस्तो हुन्थ्यो ? पुरानो तीजको मौलिकता कस्तो हो ? भन्ने नयाँ पुस्ताले बिर्सने गरी अराजकता फैलाउनु चाहिँ कदापी राम्रो होइन’, उनले भनिन्, ‘तीजमा ब्रत बस्ने कुरामा पनि कसैले जबरजस्ती र देखासिकी नगरी आफ्नो स्वास्थ्यलाई ख्याल गरेर ब्रत बस्नुपर्छ।’

अर्की लोकप्रिय लोकगायिका हरिदेवी कोइराला पहिलाको तुलनामा पछिल्ला दिनहरूमा झन–झन् विकृति बढ्दै गएको बताउँछिन्। ‘म एक गायिका भएर हेर्दा तीज पहिलाभन्दा धेरै भड्किलो बन्दै गइरहेको छ। पहिला तीज भन्ने वित्तिकै गाउँघरमा दु:खसुखका, आफ्ना बेदना पोखेर परिवारमा बसेर मनाइन्थ्यो भने अहिलेका तीजमा खाली पार्टी प्यालेसमा महिनौदेखि दर खाएर त्यस्तै किसिमका भड्किला गीतहरू गाएर मनाउन थालिएको छ’, उनी भन्छिन्।
 
विषयवस्तुमा फरकपन ल्याए पनि आफ्नो मौलिकता, संस्कृति र भेषभूषालाई समेत बिर्सन नहुने उनको भनाइ छ। उनी भन्छिन्, ‘तीज भनेको सामाजिक महत्व र धार्मिक चाड पनि हो। त्यसैले यसको आफ्नै महत्व छ। तसर्थ गीतहरू पनि माइतीघरको आँगनमा छमछमी नाच्ने खालको हुनुपर्छ। समय, काल परिस्थिति फेरिए पनि समाजमा धार्मिक पाटोको छुट्टै आयाम छ।’

कुन गीतले के सन्देश दिन खोजेको छ भनेर श्रोता र मिडियाले पनि बुझ्नु जरुरी रहेको कोइरालाको भनाइ छ। ‘हरेक समयमा फरक-फरक विषयवस्तुका गीतहरू ल्याइनुपर्छ। अन्य ठ्ट्यौली र ब्यंग्यात्मक गीतहरू अन्य समयमा गाए हुन्छ। तर, तीजको अवसरमा विशेषगरी नारीका पीडा व्यथा झल्किने खालका गीतहरुको सिर्जना गर्नुपर्छ’, उनी भन्छिन्, ‘गीत संगीत आजलाई मात्र नभई भोलिका नयाँ पुस्ताले पनि चिन्ने र मन पराउने खालका बनाउनुपर्छ।’

तीजको ब्रत आ-आफ्नो रुचि र खुसी अनुसार बस्नु पर्ने उनको सुझाव छ। ‘ब्रत बस्ने आफ्नो इच्छा हो। यदि आफूलाई इच्छा छ र सक्छु भन्ने लाग्छ भने बसे पनि भयो। नत्र खाली अरूले ब्रत बसेको देखेकै भरमा मलाई केही भन्छन् कि भनेर जबरजस्ती बस्नु राम्रो होइन’, उनले भनिन्।

अर्की चर्चित लोकगायिका शर्मिला गुरुङले पनि सानो हुँदा आफूले मनाएको तीज र अहिलेको तीजमा धेरै भिन्नता आएको बताउँछिन्। उनले सानो हुँदा सुनेका गीत र अहिलेका गीत खासै नमिल्ने बताइन्। पहिला तीज गीत भनेपछि घर, माइतीको र दिदीबहिनीको कथाब्यथा समेटेर बनाउने र त्यही परिस्थितिबाट आफूले पनि सिकेको तर अहिलेका प्रायः गीतमा त्यस किसिमको मौलिकता भेटिन छाडेको उनको गुनासो छ।

‘पहिलाका र अहिलेका गीतमा तुलना नै गर्ने हो भने कतिपय गीतलाई तीज गीत नै भन्न मिल्दैन’, उनले भनिन्। बदलिँदो समाज र परिवर्तनका नाममा मौलिक चाड र मौलिक गीतसंगीतलाई भावी समाजले बिर्सने हो कि भन्ने डर समेत उनलाई लागेको छ। 

पछिल्लो समय नेपालमा पनि बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै सामाजिक सञ्जालबाटै शुभकामना आदानप्रदान गर्ने, रमाइलो गर्ने नाममा घरबाहिर ननिस्कने र घरकै परिवारका सदस्य बसेर तीजमा रमाइलो गर्न उनको सुझाव छ ।

प्रकाशित मिति: ११:०९ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्