Kathmandu Press

आरबी लेपजिगको कथाः जर्मनीमा घृणा, युरोपियन फुटबलमा तहल्का 

काठमाडौं, साउन ३१ : स्थापनाको ११ वर्ष, च्याम्पियन्स लिगमा दोस्रो सहभागितामै सेमिफाइनल यात्रा। य

आरबी लेपजिगको कथाः जर्मनीमा घृणा, युरोपियन फुटबलमा तहल्का 

काठमाडौं, साउन ३१ : स्थापनाको ११ वर्ष, च्याम्पियन्स लिगमा दोस्रो सहभागितामै सेमिफाइनल यात्रा। यस्तो चमत्कार युरोपियन व्यवसायिक फुटबलमा सायदै कुनै क्लबले गरेका छन्। तर, जर्मनीको आरबी लेपजिगले यस्तै इतिहास पोर्चुगलको लिस्बनमा लेखेको छ। 

युरोपियन च्याम्पियन्स लिग अर्थात व्यवसायिक फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता। युरोपभरका बलिया टोलीबीचको रोचक भिडन्त। साना टोलीका लागि सहज कहाँ छ र? समूह चरणमै हुने कडा टक्कर झेल्दै अन्तिम १६ मा स्थान बनाउनु नै चुनौतीपूर्ण उपलब्धि हो। अझ अन्तिम १६ मा पार गरेर क्वाटरफाइनल पुग्नु र त्यसलाई पार गरेर सेमिफाइनलमा पुग्नु साना क्लबका लागि ठूलो उपलब्धि हो।  

त्यसैले त युरोपमा धनी र बलिया टोलीका रुपमा परिचित म्यानचेष्टर सिटी, पिएसजी, एट्लेटिको मड्रिड जस्ता क्लबले च्याम्पियन्स लिगको लामो दौडमा उपाधि चुम्न सकेका छैनन्। १४० वर्षको इतिहास बोकेको म्यानचेष्टर सिटी, ७० वर्षको इतिहास बोकेको लियोन र ५० वर्षको इतिहास बोकेको पीएसजी लेपजिगसँगै प्रतिस्पर्धामा छन्। तर, रोचक त यो छ कि लेपजिग स्थापनाको केबल ११ वर्षमात्रै पुगेको छ। 

Hardik ivf

यी चार वटै क्लबले च्याम्पियन्स लिग उपाधिको स्वाद चाखेका छैनन्। यी चारमध्ये पीएसजी र लेपजिग सेमिफाइनलमा भिड्ने छन्। म्यानचेष्टर सिटी र लियोन भने आइतबार बिहान सेमिफाइनल यात्राका लागि भिड्ने छन्।

युरोपको ‘डार्क हर्स’ 

छोटै अवधिमा लेपजिगले आफूलाई युरोपको बलियो क्लबका रुपमा स्थापित गरिसकेको छ। अझ च्याम्पियन्स लिगको दोस्रो प्रयासमै उसले आफूलाई च्याम्पियन्स लिगमा ‘डार्क हर्स’का रुपमा उभ्याएको छ।

त्यसकै प्रमाण हो, एट्लेटिको मड्रिडविरुद्धको क्वाटरफाइनल। सायद कमैले सोचेको हुनुपर्छ लेपजिग सेमिफाइनल पुग्छ। तर, ९० मिनेट मैदानमा लेपजिगले जे गर्‍यो, त्यो उत्कृष्ट थियो। त्यसैको प्रतिफल नतिजामा देखियो। एट्लेटिकोलाई २–१ ले हराउँदै पहिलो पटक सेमिफाइनल यात्रा तय गर्नु लेपजिग आफैँका लागि अविश्वसनीय हुनुपर्छ। अघिल्लो संस्करणमा फाइनल पुगेको टोटनह्याम  हटस्परलाई अन्तिम १६ मै पाखा लगाएको लेपजिगको भेट सेमिफाइनलमा फ्रेन्च क्लब पीएजसीसँग हुनेछ। 

लेइपजिग च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने ३२ औं टिममात्रै बनेन, चौथो जर्मन टिम समेत बन्यो। च्याम्पियन्स लिगमा मात्र होइन, घरेलु फुटबलमा पनि छिटो सफलता हात पार्ने क्लब हो लेपजिग। 

छोटो इतिहास, मिठो सफलता

साढे तीन वर्ष लामो छलफल र गहन अध्ययनपछि सन् २००९ मा एसएसभी माक्र्रनस्टाड क्लबको जन्म भयो।

स्थापनाकै वर्ष एसएसभी माक्र्रनस्टाडसँग लगानीकर्ताका रुपमा जोडियो, बहुराष्ट्रिय कम्पनी रेडबुल। क्लबमा रेडबुलले ५० मिलियन युरो लगानी ग¥यो। रेडबुलको लगानीपछि जन्मियो आरबी लेपजिग। र, सुरु भयो उसको फुटबल यात्रा।

लेपजिगले सन् २००९÷१० मा जर्मनीको पाँचौ डिभिजन लान्डेसलिगा खेल्यो। जुलाई १० मा एसभी बानेविट्जलाई ५–० ले पराजित गर्दै पाँचौ डिभिजन सुरु गरेको लेपजिग पहिलो प्रयासमा चौथो डिभिजनमा बढुवा हुन सफल बन्यो। त्यसपछिका दुई सिजन चौथो डिभिजन खेलेको लेपजिग सन् २०१२–२०१३ मा तेस्रो डिभिजनमा बढुवा भयो। 

लेपजिग सन् २०१३–१४ र ०१४–१५ मा दोस्रो र सन् २०१५–१६ मा शीर्ष डिभिजन (बुन्डेस लिगा) मा बढुवा भयो। तेस्रो डिभिजनबाट चार सिजनमै शीर्ष डिभिजनमा बढुवा हुने लेपजिग पहिलो टिम हो।  स्थापनाकालदेखि नै लगातार उत्कृष्ट फुटबल खेलेको लेपजिग सात वर्षको अवधिमै शीर्ष डिभिजनमा बढुवा भयो। यो आफैँमा अविश्वसनीय सफलता थियो। 

शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजन नै उसले बायर्न म्यूनिखलाई उपाधिमा टक्कर दियो। कुल ३४ खेलमा २० जित, ७ बराबरी र ७ हारका साथ ६७ अंक जोड्दै लेपजिग तालिकाको दोस्रो स्थानमा रह्यो। र, पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनायो। 

शीर्ष डिभिजन खेलेको दोस्रो सिजनमा लेपजिग छैठौं स्थानमा रह्यो। र, युरोपा लिग खेल्यो। यो सिजनमा समेत उपाधि विजेता बायर्नलाई कडा टक्कर दिने टोली लेपजिग नै बन्यो। कोरोना भाइरसका कारण लिग रोकिनुअघि उत्कृष्ट प्रदर्शन गरेको लेपजिगले लिग पुनः सुरु हुँदा सोही लय कायम राख्न सकेन। त्यसैले तेस्रो हुँदै सिजन सक्कायो।

लिगमा तेस्रो बनेको लेपजिगले ऐतिहासिक र अविश्वसनीय सफलता भने च्याम्पियन्स लिगमा हात पार्‍यो। अब लेपजिगको लक्ष्य कम्तिमा फाइनल पुग्ने हुनेछ।  

घृणाको कथा  

लेपजिगले जसरी एकपछि अर्र्काे सफलता चुम्यो। त्यसैगरी उसले दर्शक भने कमाउन सकेन। उसको सफलतामा ताली बजाउने भन्दा गाली गर्नेहरु बढे। त्यो किनभने जमर्न फुटबलका पारखीहरु क्लबमा कर्पोरेट कम्पनीको लगानी रुचाउँदैनन्।

लेपजिगलाई मन नपराउनुको सबैभन्दा ठूलो कारण भनेको ५० प्लस १ नियम हो। जर्मन फुटबलको शीर्ष श्रेणीको लिगमा खेल्ने सबै टिमले आफ्नो ५० प्रतिशत र थप एउटा शेयर आफ्ना समर्थकको स्वामित्वमा राख्नुपर्ने नियम छ। समर्थकहरुले आफूलाई मन पर्ने क्लबको सदस्यता लिएपछि किट डिजाइन र जर्सी तथा क्लबको रङजस्ता विषयका महत्वपूर्ण निर्णयमा भोटिङ गर्न पाउँछन्। तर, लेपजिगले शीर्ष डिभिजनमा उक्लिएपछि ५० प्लस १ नियमलाई बेवास्ता गर्दै मनोमानी गर्‍यो।

तुलनात्मक रुपमा हेर्दा, बायर्न म्यूनिखसँग २ लाख ८४ हजारभन्दा बढी भोट गर्ने सदस्यहरु छन्। तर, लेपजिगको हकमा जम्मा १७ जनामा त्यो अधिकार निहित छ। सायद त्योभन्दा पनि कम, उसले यसको यकिन तथ्यांक सार्वजनिक गरेको छैन। त्यसमध्ये पनि अधिकांश रेडबुलका कर्मचारीहरु छन्। बाँकी सोही कम्पनीसँग सम्बन्धित अन्य व्यक्तिहरु।

एकतर्फ बायर्न म्यूनिखजस्तो लिगको सफल क्लबले २० देखि ६० युरोमा सदस्यता दिन्छ। अर्कोतर्फ लेपजिगको सदस्य बन्न हजार युरो तिर्नुपर्छ।  त्यसमाथि बिना कुनै ठोस कारण लेपजिगले सदस्यता आवेदन अस्विकार समेत गरिदिन सक्छ। क्लबले सदस्यलाई के आधारमा भोट गर्ने अधिकार दिन्छ भनेर समेत प्रष्ट पारेको छैन। त्यसैले त लेपजिग जर्मनमा सबैभन्दा घृणा गरिने क्लबमध्येमा पर्छ। समर्थकले जतिसुकै घृणा गरुन, लेपजिगको प्रदर्शन कहिलै खस्किएन। बरु, एकपछि अर्को उपलब्ध हासिल गरिरह्यो। र, युरोपकै सबैभन्दा प्रेरक कथा भएको क्लबमध्येमा पनि पर्छ, सम्भवतः विश्वकै।

कान्छा प्रशिक्षकले तय गरेको यात्रा

खेलाडीले कति वर्षको उमेरमा सन्न्यास लेला? धेरैले ३५ वर्षको आसपासमा खेलाडी जीवनबाट सन्न्यास लिन्छन्। तर, इटाली र युभेन्ट्सका भेट्रान गोलकिपर बुफोनलाई हेर्ने हो भने त्यो पनि भन्न कठिन हुन्छ। 

तर, करियर सुरुवात नभई अन्त्य भएका व्यक्ति हुन्, जुलियन नगेल्सम्यान। १९ वर्षकै उमेरमा कुर्कुचामा गम्भीर चोट बोकेपछि उनले सन्न्यास लिन पर्‍यो। तर फुटबलमा रस भिजेका उनले मैदान बिर्सन कहाँ सक्थे र! फुटबलप्रतिको त्यही लगाबका कारण उनी पुनः मैदान फर्किए। खेलाडीका रुपमा नभएर प्रशिक्षकका रुपमा। खेलाडी जीवनबाट सन्न्यास लिने बित्तिकै उनी प्रशिक्षणमा फर्किए। जर्मन क्लब असबर्गमा सन् २००७ मा सहायकका रुपमा उनको प्रशिक्षण करिअर सुरु भयो। 

नगेल्सम्यानले प्रशिक्षण करिअरको सुरुवात अर्को बुन्डेस लिगा क्लब होफेनहाइमबाट गरे। सन् २०१६ मा होफेनहाइमको मुख्य प्रशिक्षक बन्दा नेगल्सम्यान केवल २८ वर्षका मात्र थिए। नगेल्सम्यानको प्रशिक्षणमा होफेनहाइमले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। उनको प्रशिक्षणमा होफेनहाइमले सन् २०१८-१९ मा च्याम्पियन्स लिग खेलेको थियो। 

उमेर ३३ वर्ष पुगेका नगेल्सम्यानले लेपजिगको रथ हाँकेका छन्। उनी सिजनको सुरुवातमा होफेनहाइमबाट लेइपजिग आएका हुन्। उनी बुन्डेस लिगाका मात्रै होइन, च्याम्पियन्स लिगका समेत कान्छा प्रशिक्षक हुन्। उमेरको हिसाब गर्ने हो भने उनीभन्दा जेठा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी च्याम्पियन्स लिग नै खेलिरहेका छन्। प्रशिक्षण करियरमा नेगल्सम्यानले ४४ प्रतिशत खेल जितेका छन्। 

युवा अवस्थामै उत्कृष्ट प्रशिक्षकका रुपमा प्रमाणित गरिसकेका नगेल्सम्यानको क्लबलाई च्याम्पियन्स लिगको फाइनल पुर्‍याएर इतिहास रच्न चाहन्छन्। तर, सेमिफाइनलमा उनको प्रतिस्पर्धा आफ्नै गुरूसँग हुनेछ। पीएसजीका प्रशिक्षक थोमस टुचेल तिनै हुन्, जसले नगेल्सम्यानलाई असबर्ग सहायक प्रशिक्षक बनाएर मैदान फर्काए।

अब उनै टुचेल र नगेल्सम्यान टचलाइनमा हुनेछन्। दुवै फाइनल पुगेर इतिहास रच्ने र उपाधि जित्ने अभिलाषामा छन्। मंगलबार मध्यरात लिस्बनमा हुने भिडन्त गुरूले जित्लान् या शिष्यले, त्यो जान्न मंगलबार रातिसम्म कुर्नैपर्छ।

-एजेन्सीको सहयोगमा
 

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, साउन ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्