बजारले १२०० को मनोवैज्ञानिक प्रतिरोधलाई तोड्यो, के होला अब?
काठमाडौं, वैशाख ३ : सोमबारजस्तै मंगलबार पनि बजार ‘इन्ट्राडे हाई’ मा बन्द भएको छ। आज बजारको अन्तिम विन्दू र उच्च विन्दू एउ....
काठमाडौं, वैशाख ३ : सोमबारजस्तै मंगलबार पनि बजार ‘इन्ट्राडे हाई’ मा बन्द भएको छ। आज बजारको अन्तिम विन्दू र उच्च विन्दू एउटै भएकाले बजार ‘इन्ट्राडे हाई’मा बन्द भएको हो।
आज बजारको अन्तिम समयमा खरिदकर्ता निकै सक्रिय भएपछि बजार वृद्धि हुँदै बन्द भएको थियो। ‘इन्ट्राडे हाई’ मा बजार बन्द हुनुलाई सकारात्मक प्रवृत्ति मानिन्छ। गत वर्ष वैशाख महिनामा जस्तै यो वर्ष वैशाख महिनामा पनि दोस्रो बजारले लगानीकर्तालाई खुशी बनाएको छ। आज वाणिज्य बैंकको उपसूचकमा सर्वाधिक वृद्धि देखिएसँगै आज समस्त बजारले सकारातक प्रवृत्ति देखिएको थियो। केही समयदेखि वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको निकै धेरै नै चासो देखिएको छ। आज सर्वाधिक कारोबार हुने १० कम्पनीमा ८ वाणिज्य बैंक रहेका छन्।
आज साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २३ दशमलव ३३ ले वृद्घि भएर १२१२ दशमलव ०५ को विन्दूमा पुगेको छ। आज दोस्रोे बजार परिसूचकमा १ दशमलव ९६ प्रतिशतको वृद्घि देखिएको छ। आज दोस्रो बजार ११८८ दशमलव ७१ को विन्दूमा खुलेको थियो भने १२१२ दशमलव ०५ को उच्च विन्दूसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दू ११८७ दशमलव ७० थियो। आज दिनभरमा ७४ करोड २७ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि आएसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार आएको छ।
आजको बजारको अवस्था :
आज सर्वाधिक कारोबार हुने :
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ६ करोड ७० लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने :
आज श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ६७ प्रतिशतले कमाए भने र युनिभर्सल पावरका शेयरधनीले सर्वाधिक ३ दशमलव २२ प्रतिशतले गुमाए।
लाभांश र साधारण सभा गतिविधि
-सिभिल बैंकले आर्थिक वर्ष २०७३-७४ र आर्थिक वर्ष २०७४-७५ को साधारण सभा वैशाख २७ गते गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७३-७४ को नाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ० दशमलव ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजाँदै छ भने आर्थिक वर्ष २०७४-७५ को नाफाबाट ४ दशमलव ०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गर्नेछ। साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख १० देखि बुक क्लोज गर्ने भएको छ। वैशाख ९ गतेसम्म कायम रहने लगानीकर्ताले साधारण सभामा भाग लिन पाउने र दुई आर्थिक वर्षको लाभांस प्राप्त गर्ने छन्।
प्राथमिक बजार गतिविधि
-हिमालय ऊर्जा विकास कम्पनीको आइपीओ आज बाँडफाँड भएको छ। लगानीकर्तालाई १० कित्ता र २० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो र आज बजार १२१२ दशमलव ०५ विन्दूमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा १ दशमलव ९६ प्रतिशतले वृद्धि हो। आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यो मैनबत्तीले कारोबार खुलेदेखि अन्तिम समयसम्म बजारमा क्रेताको चाप रहेको र आजको परिमाणले खरिदकर्ताहरुको बजारमा अत्याधिक सहभागिता रहेको जनाएको देखिन्छ। यी दुबै सूचकहरुले अर्को कारोबार दिन पनि क्रेताको चाप हुन सक्ने संकेत गर्दछ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, तीन दिनदेखिको कारोबारको उतारचडाव हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार केही समयदेखि बढ्दो प्रवृत्तिमा रहेको बजार ११९० भन्दा माथि स्थिर रहन सकेमा बजार अझ सकारात्मक हुन सक्ने र अर्को तत्कालिन मनोवैैज्ञानिक प्रतिरोध १२०० मा रहेको थियो। आज बजारले त्यो प्रतिरोध क्षेत्रमा बिक्रेताहरु देखिएता पनि बजारको अन्तिम समयमा खरिदकर्ताको चाप रहेकाले बजारले १२०० को मनोवैैज्ञानिक प्रतिरोधलाई पनि तोडेको देखिन्छ।
दुई दिनदेखि बढ्दो च्यानलमा सीमित रहेको बजारले आज माथिल्लो प्रवृत्ति रेखालाई पनि निश्चित रुपमा तोडेपछि बजार सकारात्मक क्षेत्रमा रहेको देखिन्छ।
६ र २१ समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले आजको कारोबारमा खरिदकर्ताहरुको चाप बलियो रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स र स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरे पनि बजार सच्चिने संकेत भने दिएको देखिएको छैन।
निष्कर्ष : चित्र नं. १ मा दैनिक मैनवत्तीहरुको नेप्से प्रवृत्तिले बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। माथिको समग्र नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारले अब १२२० देखि १२३० को क्षेत्रलाई प्रतिरोधको रुपमा सामना गर्नु पर्ने देखिन्छ।