Kathmandu Press

बेलाकाको उदाहरणीय काम: क्वारेन्टाइनमा बस्नेलाई डायरी र कलम, किसानलाई बीउ

काठमाडौं, वैशाख १७ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल ३५ दिन

बेलाकाको उदाहरणीय काम: क्वारेन्टाइनमा बस्नेलाई डायरी र कलम, किसानलाई बीउ

काठमाडौं, वैशाख १७ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल ३५ दिन यता लकडाउनमा छ। नेपालमा अहिलेसम्म ५४ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश १ कोरोनोको सबैभन्दा बढी जोखिममा छ, त्यसमा पनि उदयपुर उच्च जोखिममा छ। 

उदयपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको छ। भोजपुरका युवामा देखिएको संक्रमण पनि उदयपुरबाटै सरेको देखिएको छ।  उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केको मस्जितका १२ जना भारतीयमा एकै पटक कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले उदयपुरलाई सिल गरेको छ। 

कोरोनाको यो महामारीमा केही स्थानीय निकायले उदाहरणीय काम पनि गरेका छन्। तीमध्ये एक हो, कोरोनाको इपिसेन्टरका रुपमा चिनिएको उदयपुरको त्रियुगा नगरपालिकासँगै सीमाना जोडिएको बेलाका नगरपालिका। 

Hardik ivf

नगरबासीलाई कोरोनाबाट जोगाउन मेयर दुर्गाकुमार थापा आफैँ खटिएका छन्। मेयर थापा विगत एक महिना यता नियमित फेसबुक लाइभमा आउँछन् र नगरबासीसँग प्रत्यक्ष भलाकुसारी गर्दै  नगरबासीका समस्या बुझिरहेका छन्। 

उनले नगरपालिका प्रवेश द्वारमा ‘हेल्थ हेल्प डेस्क’ स्थापना, क्वारेन्टाइन निर्माण, क्वारेन्टाइनमा रहेकालाई मनोपरामर्श सेवा, रचनात्मक काम र व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिमदेखि व्यवस्थित राहत वितरणसम्म गर्दै आएका छन्। 

नगरबासीको सहयोगका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’

लकडाउनमा नगरबासीलाई नगर स्तरीय र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) र कम्युनिटी लेभल रेस्पोन्स टिम (सिआरआरटी) प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा गठन गरेको मेयर दुर्गाकुमार थापाले बताए।

‘यही टिमबाटै नगरबासीको सेवा गरिरहेका छौँ। सकेसम्म नगरबासीलाई कुनै किसिमको अप्ठ्यारो नहोस् भनेर काम गरिरहेका छौँ,’ थापाले काठमाडौं प्रेससँग भने। 
नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सार्वजनिक ठाउँमा हात धुनका लागि साबुन पानीको व्यवस्था गरिएको छ। स्थानीयस्तरमै मास्क र ह्यान्ड स्यानिटाइजर बनाएर विभिन्न कार्यालय, संघ/संस्थाहरुमा निशुल्क वितरण गरिररहेको छ। 

त्यसो त बेलकाबासीमा फरक भाषा बोल्ने समुदायलाई लक्षित गरेर उनीहरुकै मातृ भाषामा कोरोनाको सचेतना मुलुक सूचना पनि नगरपालिकाले प्रेषित गर्दै आएको छ।
‘बेलकाबासीमा कोरोनासम्बन्धी सचेतना फैलाउन मैथिली, बान्तावा र नेपाली भाषामा सूचनामूलक सामग्रीहरु तयारी गरी माइकिङ गरिहेका छौँ। विभिन्न धार्मिक संस्थाहरू विद्यालयहरु, संस्थाहरुमा पुगेरै नखोल्न अनुरोध गरेका छौँ। नगरबासीले पनि सहयोग गर्नु भएको छ, त्यसैले हामी सफल पनि भएका छौँ,’ मेयर थापा भन्छन ।

क्वारेन्टइनमा मनोपरामर्श सेवादेखि व्यवसायिक तरकारी खेती तालिमसम्म

नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई मनोवैज्ञानिक असर नपरोस् भनेर रचनात्मक काममा लगाइरहेको छ। क्वारेन्टाइनमा बसेकाहरूमा सकारात्मक सोचको विकास गराउन र उनीहरुलाई निराश हुनबाट बचाउन मनोपरामर्श सेवा दिइरहेको मेयर थापा बताउँछन्। 

‘क्वारेन्टाइनमा बसेकाहरुलाई प्रत्येक दिन स्वास्थ्य परीक्षणसँगै मनोपरामर्श सेवा पनि दिइरहेका छौं,’ उनी भन्छन्, ‘क्वारेन्टाइनमै व्यवसायिक तरकारी खेती कसरी गर्ने भन्ने तरिकाहरु पनि सिकाएका छौं। क्वारेन्टाइनमा सिकेको सिप घरमा प्रयोग गर्न सकून भनेर उहाँहरुलाई घर जाँदा तरकारीको बिउको प्याकेट दिएर पठाउँछौँ।’ 

क्वारेन्टाइनमा जानुअघि प्रत्येकलाई डायरी र कलम

क्वारेन्टाइनमा बसेकालाई रचनात्मक बनाउन बेलका नगरपालिकाले कमल र डायरी थमाउने गरेको छ। ‘फुर्सदको समयमा त्यसै बस्नु भन्दा मनमा लागेको कुरा डायरीमा उतार्दा सिर्जनात्मक क्षमता बढ्छ। त्यसले मानिसलाई सक्रिय बनाउनुका साथै मोनोटोनस हुनबाट पनि बचाउँछ,’ थापा भन्छन्। 

नगरपालिकाले क्वारेन्टाइनमा बसेकालाई मनमा लागेका कुराहरु डायरीमा उतार्न अनुरोध गर्ने गरेको छ। ती रचनाहरु संकलन गरेर पुस्तकका रुपमा प्रकाशन गर्ने पनि योजना नगरपालिकाको छ। 

क्वारेन्टाइनमा मेसको व्यवस्था 

बेलका नगरपालिकाले नगरका विभिन्न ठाउँमा मापदण्ड अनुसारका ४ वटा क्वारेन्टाइन निर्माण गरेको छ। ती चार क्वारेन्टाइनमा ९० जनाको क्षमता छ। मेयर थापाका अनुसार वडा नं. २ मा दुईवटा र वडा नं. ५ र ८ मा एक–एक वटा क्वारेन्टाइन निर्माण गरिएको छ। 

ती चार क्वारेन्टाइनमा अहिले त्यहाँ ७५ जना पुरुष र ५ जना महिला गरी ८० जना बसिरहेका छन्। क्वारेन्टाइन्टबाट अहिलेसम्म १४ जना घर फर्किसकेको उनले जानकारी दिए। नगरपालिकाले छुट्टै मेसमार्फत क्वारेन्टाइनमा रहेकालाई खानाको व्यवस्था गरेको छ। ‘बिहान चिया र बिस्कुट, ९ बजेतिर खाजा, १२ बजेतिर खाना दिन्छौँ। दिउँसो तीन बजेतिर खाजा र बेलुकी ८ बजे खाना दिने गरेका छौँ,’ थापा भन्छन्। मेसमा सामान अभाव भएको बेला होटलबाट पनि खाना ल्याउने गरेको उनले बताए। 

फागुनयता विदेशबाट आएका सबै क्वारेन्टाइनमा 

चैत ४ गते फ्रान्सबाट आएकी काठमाडौंकी प्रसिद्धि श्रेष्ठमा चैत १० गते कोरोना संक्रमणको पुष्टि भयो। सोही प्लेनमा बेलका–७ का विद्यानन्द चौधरी पनि आएको हल्ला चल्यो। तर, उनी ५ गते विदेशबाट आएको पुष्टि भयो। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाव परीक्षण गरियो, रिपोर्ट नेगेटिभ आयो। 

त्यसपछि पनि कोरोना पुष्टि भएका नेपालका अन्य व्यक्तिहरु पनि विदेशबाट आएकै पाइएपछि बेलकाले पनि आफ्नो नगरलाई सम्भावित कोरोनोको जोखिमबाट मुक्त गराउन नगरभित्र फागुन यता विदेशबाट आएकाहरुको पहिचान गरी उनीहरु कुन देशबाट कहिले आएका हुन् भनेर विवरण तयार गर्‍यो र उनीहरुलाई क्वारेन्टाइनमा पठायो। 

थापा भन्छन्, ‘फागुनयता विदेशबाट बेलका नगरपालिकामा आउने ७८ जना हुनुहुँदो रहेछ। उहाँहरूमध्ये केहीलाई क्वारेन्टाइन र केहीलाई सेल्फ क्वारेन्टाइनमा राखेका छौँ। उहाँहरुलाई विशेष निगरानीमा राखेका छौँ। अहिलेसम्म सबैको अवस्था सामान्य छ।’ 

प्रत्येक गाउँमा स्वास्थ्य टोली 

नेपालमा कोरोना देखिएसँगै बेलका नगरपालिकाले पनि कोरोना रोकथामका लागि विशेष सचेतना अपनाएको छ। त्यसका लागि नगरपालिकाले प्रत्येक गाउँमा स्वास्थ्य टोली खटाएको छ। त्यो टोलीमा स्वास्थ्यकर्मी, मनोविमर्शकर्ता र सुरक्षाकर्मीहरु छन्। ‘स्वास्थ्य टोली प्रत्येक टिम फिल्डमै हुन्छ। कसैलाई कोरोनाका लक्षण देखिए, उहाँलाई परामर्श दिने, क्वारेन्टाइनमा पठाउने लगायतका काम टोलीले गर्छ,’ मेयर थापा भन्छन्। 

नगर प्रवेश गर्ने सबैको स्वास्थ्य परीक्षण

सीमाना जोडिएको त्रियुगा नगरपालिकामा एकै पटक १२ जनामा कोरोना संक्रमण पाइएपछि बेलकाले पनि विशेष शतर्कता अपनाएको छ। त्रियुगा र सप्तरीको फत्तेपुर हुँदै बेलाका प्रवेश गर्ने दुई नाकामा हेल्थ हेल्प डेस्क स्थापना गरिएको छ। 

एउटा डेक्स वडा नंं. ९ को सेवा केन्द्रमा छ भने अर्को प्रदेश दुईको प्रवेशद्वार वडा नं. १ को तपेश्वरीको त्रियुगाका पुलमा छ। हेल्थ हेल्प डेस्कमा स्वास्थ्यकर्मी, थर्मल गनसहित अन्य औषधिको व्यवस्था गरिएको छ।  ती नाकाबाट बेलाक आउने सम्पूर्णको स्वास्थ्य परीक्षण गर्ने र उनीहरुलाई काउन्सिलिङ गर्ने व्यवस्था गरिएको थापाले जानकारी दिए। 

फ्रन्ट लाइनमा काम गर्ने सबैलाई पीपीई 

बेलका नगरपालिकाले महामारीका बेला फ्रन्ट लाइनमा खटिने सम्पूर्णलाई पीपीई उपलब्ध गराएको छ। मेयर थापाका अनुसार नगरपालिकाले नगरका सबै एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, लाइट गाडीका चालक, सेवाग्राहीको चहलपहल हुने पसलेहरू, अन्य अत्यावश्वक सरकारी कार्यलयका कर्मचारीहरुलाई पनि पीपीई  दिइएको छ। 

बिरामीलाई घरमै औषधि 

बेलका नगरपालिकाले लकडाउनका बेला बाहिर निस्कन नमिल्ने भएकाले दीर्घरोगीका लागि घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको छ। 

‘यहाँ नपाइने औषधि बाहिरबाट ल्याएर घरमै पुर्‍याइरहेका छौँ। त्यसका लागि उहाँहरूले प्रेसक्पिसन र पैसा नगरपालिकामा बुझाउनु हुन्छ, ती औषधिहरु धरान, विराटनगरलगायतका ठाउँबाट ल्याएर दिइरहेका छौँं,’ थापाले भने, ‘यो सेवा चाहिँ हामीले चैत १८ गतेबाट सुरु गरेका हौं। यसबीच हामीले एक सय १० जना जति बिरामीका लागि औषधि ल्याइदिएका छौँ।’

यस्तै, अन्य उपभोग्य सामानहरू पनि नगरबासीको घरघरमै पुर्‍याइरहेको छ। नगरबासीहरूले उपलब्ध गराएको लिष्ट अनुसारको सामान बाहिरबाट ल्याएर घरमै पुर्‍याइदिने गरेको उनले बताए। 

राहत कोष स्थापना, तालिम र गोष्ठीको रकम कोषमा

कोरोनाको विपद् व्यवस्थापनका लागि बेलक नगरपालिकाले विपत व्यवस्थापन कोष स्थापना गरेको छ। कोषमा रकम जम्मा गर्नका लागि कुमारी बैंकमा खाता खोलिएको छ। कोषमा रकम जम्मा गर्न सबैलाई आह्वान गरिरहेको र अहिलेसम्म सर्वसाधारण र विभिन्न संस्थाहरुबाट २२ लाख रुपैयाँ जम्मा भइसकेको थापाले जनकारी दिए। 

नगरपालिकाले विपद् व्यवस्था कोषमा ६९ लाख रुपैयाँ जम्मा गरेको छ। यो रकम आफ्ना विभिन्न तालिम, गोष्ठीहरूको बजेट कटाएर जम्मा गरिएको मेयर थापाले बताए। कोषकै लागि प्रदेश सरकारले पनि १० लाख रुपैयाँ उपलब्ध गराएको छ। त्यही कोषमार्फत् गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेको उनी बताउँछन्। 

मापदण्ड बनाएर राहत वितरण

राहत वितरणमा एकरुपता ल्याउन र प्रक्रियालाई विवादरहित बनाउन नगरपालिकाले राहतसम्बन्धी छुट्टै मापदण्ड बनाएको छ। सोही मापदण्ड अनुसार नै राहत वितरण भइरहेको छ। बेलकाले दुई चरणमा राहत वितरण गरिरहेको छ। 

पहिलो चरणको राहत वितरण कार्यक्रम सकिएको छ भने दोस्रो चरण भर्खरै सुरु भएको छ। पहिलो चरणमा दुई हजार दुई २२ घरधुरीलाई राहत वितरण गरेको थापाले बताए। पहिलो चरणको राहत प्याकेजमा प्रत्येक घरधुरीलाई २५ केजी चामल, ३ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन र दुई वटा साबुन थियो। 

दोस्रो चरणको राहत प्याकेज १५ दिनका लागि भएको र यो वैशाख १५ गतेबाट सुरु भएको उनले बताएका छन्। यसमा परिवार संख्याका आधारमा राहत प्याकेज बनाएको उनले बताए। ‘यसमा एक व्यक्तिका लागि साढे ७ केजी, दुई जना भए १५ केजी, ४ जना भए ३० केजी चामल तथा १ केजी दाल, १ केजी नुन र १ लिटर तेल र एउटा साबुन दिन्छौँ,’ उनले भने।

बेलकामा काम गरिरहेका विपन्न मजदुरहरु, बालबालिकाहरुका लागि पनि राहतको व्यवस्था गरेको मेयरले जानकारी दिए। तीन महिनाका एक सय जना जति सुत्केरी र गर्भवती महिलाका लागि पनि राहतको व्यवस्था गरिएको थापाले बताए। यो प्याकेजमा खाद्यान्न, स्यानिटरी प्याड, पाँच वटा साबुन लगायत रहेको छ।

आफैँ पीसीआर र आरडिटी परीक्षण

बेलका नगारपाकिलाले सम्भावित जोखिम भएका ठाउँमा आफैँ पीसीआर र आरडिटी परीक्षण गर्ने गरेको छ। त्यसका लागि दुई जना कर्मचारीलाई पीसीआर, आरडिटी परीक्षणको तालिम दिइएको थापाले बताए। कोरोना परीक्षणका २५ वटा किड्स आफूहरुसँग भएको उनले बताए।

थापाले भने, ‘क्वारेन्टाइनबाट घरका गएका १५ जना स्वाब टेष्ट गरेका थियौं। सबैको रिपोर्ट नेगेटिभ आएको छ।’ उनका अनुसार भोजपुरका कोरोना संक्रमित बसेको गाउँ बेलका–७ का सबैको आरडिटी परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ। 
 

प्रकाशित मिति: ११:२० बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्