Kathmandu Press

२०७६ लाई सम्झाउने नेपाली खेलकुदका चर्चित घटना

काठमाडौं, वैशाख १ : आजैदेखि सम्पूर्ण नेपालीले २०७६ लाई विदा गर्दै २०७७ लाई स्वागत गरेका छन्। नयाँ वर

२०७६ लाई सम्झाउने नेपाली खेलकुदका चर्चित घटना

काठमाडौं, वैशाख १ : आजैदेखि सम्पूर्ण नेपालीले २०७६ लाई विदा गर्दै २०७७ लाई स्वागत गरेका छन्। नयाँ वर्षको आगमनले सदाजस्तो खुशी यसपटक ल्याएन। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नेपाल लकडाउनमा रहेकाले नयाँ वर्ष फिका बनेको छ।

नेपाली खेलकुद पनि अहिले कोरोनाको मारमा छ। तथापि, नेपाली खेलकुदमा भएका केही घटनाक्रमले २०७६ लाई सम्झाउँनेछन्। त्यसमा केही सफलता छन् भने केही असफलता पनि।

एसियाको ओलम्पिक मानिएको साग खेलकुदको १३ औं संस्करण नेपालले भव्य रुपमा आयोजना गर्‍यो र ऐसिहासिक सफलता पनि हात पार्‍यो। सागको कमजोर व्यवस्थापन र विवादलाई खेलाडीको सफलताले ओझेल पारिदियो।

Hardik ivf

नेपालमा लोकप्रिय दुई खेल क्रिकेट र फुटबलमा सफलताभन्दा बढी असफलता हात परे यो वर्ष। तैपनि केही खेलाडीले भने व्यक्तिगत प्रदर्शनले आफूलाई वर्षभरि चर्चामा राखे।

सफलता र असफलताका यस्ता केही घटना छन्, जसले २०७६ को नेपाली खेलकुदलाई सम्झाउनेछ।

१३औं साग : खेलाडीको सफलताले छेक्यो कमजोरी

नेपालले २० वर्षपछि घरेलु मैदानमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना ग¥यो। पुस १६ देखि २५ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको सागमा नेपालले ऐतिहासिक सफलता हात पा¥यो, र जित्यो ५१ स्वर्ण पदक।

खेलाडी सफल भएपनि नेपालले सागलाई व्यवस्थित र विवादरहित बनाउन सकेन। यसअघि पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतमा भएका प्रतियोगिताभन्दा नेपालमा भएको आयोजना फितलो देखियो। समयमै पूर्वाधार निर्माण गर्न आयोजक राष्ट्रिय खेलकुद परिषद् चुक्यो। प्रतियोगिता सुरु भइसक्दा पनि पूर्वाधार निर्माणको काम भइरहेको थियो। फुटबल, भलिबललगायत एकाध खेलबाहेक भेन्यूमा मिडिया सेन्टरको व्यवस्था थिएन।

यतिमात्रै होइन, विदेशी खेलाडीसँग मागेको सामग्रीले प्रस्तिपर्धा गरे नेपाली खेलाडीले। सुटिङका खेलाडीले हतियारबिनै प्रतिस्पर्धा गरे भने २० वर्ष पुराना राइफल नपड्कँदा खेलाडीहरु लज्जित भएका भए। ट्रायाथलनमा पनि नेपाली खेलाडीले मागेकै साइकले काम चलाए।

साग सुरु हुनु दुई दिनअघि मात्र एथ्लेटिक्सकी तुलसा खत्री क्याम्प छाड्दै रोजगारीका लागि कतार गएको घटना २०७६ मा चर्चित भयो। सागमा व्यक्तिगत ४ सय मिटरका साथै ४ सय मिटर रिले र हडल्स भाग लिने तयारी गरेकी आर्मीकी कीर्तिमानी तुलसाले भविष्य सुनिश्चित नदेखेकाले कतार लागेको बताइएकी थिइन्।

नेपालले पौडी, साइक्लिङ, गल्फ, ट्रायथलन, कुस्ती, एथलेटिक्सलगायतका स्पर्धामा ऐतिहासिक स्वर्ण जित्यो। नेपालले कुल २०६ पदक जित्यो र पदक तालिकाको दोस्रो स्थानमा रह्यो। जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सामेल छन्। नेपालले एक सय स्वर्णको आँकडा पार गर्ने कीर्तिमान पनि यसैपटक बनायो।

सागमा सबैभन्दा चर्चामा रहिन पौडी खेलाडी गौरिका सिंह। उनले ४ स्वर्ण जित्दै दीपक विष्टको सर्वाधिक स्वर्णको कीर्तिमानसँग बराबरी मात्र गरिनन्, सागको इतिहासमै नेपालको सफल खेलाडी पनि बनिन्। गौरिकाका नाममा २ रजत र ३ कांस्य पनि रहे। नेपाल पहिलो पटक पौडीमा स्वर्ण जितेको हो।

यसअघिका सागका १२ संस्करणमा नेपालका कुनै खेलाडीले एकै संस्करणमा दुई स्वर्ण जित्न सकेका थिएनन्। करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङले यसै संस्करणमा २–२ स्वर्ण जिते। यसअघिको संस्करणमा नेपालले व्यक्तिगततर्फ पौडीमा स्वर्ण जितेको थिएन।

यस्तै, कुस्तीमा पहिलो स्वर्ण दिलाउँदै संगीता धामीले इतिहास कोरिन् भने सन्तोषी श्रेष्ठ सागमा एथलेटिक्समा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन्। गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले पनि एथ्लेटिक्समा स्वर्ण दिलाए।

अपेक्षाअनुरूप नै मार्सल आटर््समा नेपालको वर्चस्व कायमै रह्यो। नेपालले तेक्वान्दोमा २९ मध्ये १२ र करातेमा १९ मध्ये १० स्वर्ण जित्यो। उसुमा ५ र जुडोमा २ स्वर्ण जित्यो। २० वर्षपछि बक्सिङमा पनि ३ स्वर्ण जित्यो।

फुटबल फाइनलसँगै सागको समापन भयो, नेपालले समापन पनि स्वर्णका साथ ग¥यो। फाइनलमा भुटानलाई २–१ ले हराउँदै नेपालले लगातार दोस्रो र समग्रमा चौथो स्वर्ण जित्यो।

२० वर्षपछि सागको आयोजनाको अवसर पाएको नेपालले थुप्रै कमजारी बाबजुद १३औं सागलाई निकै भव्य बनायो। त्यसको छनक नेपालले उद्घाटन र समापनमा पनि दियो।

क्रिकेटः क्यान प्रतिबन्ध फुकुवा, पारसको राजीनामा र घरेलु मैदानमा पहिलो एकदिवसीय खेल

सबैभन्दा सफल खेल क्रिकेटमा यो वर्ष नेपालको प्रदर्शन औसत पनि हुन सकेन। २०७६ टिमका रुपमा नेपाली क्रिकेटको प्रदर्शन निराशाजनक रहेपनि केही खेलाडी व्यक्तिगत प्रदर्शनका कारण चर्चामा रहे।

मैदान बाहिरका केही घटनाले पनि नेपाली क्रिकेट यसपटक चार्चामा रह्यो। ती थिए, नेपाल क्रिकट संघ (क्यान)को निलम्बन फुकुवा, क्यानको निर्वाचन, कप्तानी छोड्ने पारस खड्काको निर्णय र कीर्तिपुरस्थित टियु मैदानमा पहिलो पटक एकदिवीय खेलको आयोजना।

कमजोर प्रदर्शन : २०७६ मा नेपाली क्रिकेटले केही महत्वपूर्ण प्रतियोतिगाहरू खेल्यो। तर, सबैमा निराशाजनक प्रदर्शन ग¥यो। सन् २०१४ मै टि–२० विश्वकप खेलिसकेको नेपाल यो पटक विश्वकपको एसिया छनोटमै चिप्लियो। अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लागेको थियो।

यसैवर्ष एसिया कप क्रिकेटको छनोटको रुपमा रहेको एसिसी इस्टर्न रिजन र एसिसी इमर्जिङ टिम्स कप पनि खेल्यो, नेपालले। दुवैमा खराब प्रदर्शन गर्‍यो। अझ एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा नेपालको प्रदर्शन बिर्सनलायक नै थियो।  प्रतियोगिताको उपाधि दाबेदार नेपालले ४ मध्ये १ खेल मात्र जित्न सक्यो।

पुरुष क्रिकेटमा नेपालले २९ अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा १९ टी–२०, ४ एकदिवसीय, १ पहिलो श्रेणीको क्रिकेट र अन्य ६ लिस्ट ए क्रिकेट छन्। जसमा नेपालले १५ जित र १४ हारको समाना गर्‍यो।

घरेलु मैदानमा पहिलो एकदिवसीय खेल : एकदिवसीय मान्यता पाएको डेढ वर्षपछि नेपालले गत माघमा घरेलु मैदानमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो। यो अवसर आईसिसी विश्वकप लिग–२ ले जुराएको थियो। लिग–२ अन्तर्गतको अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा भएको थियो।

त्रिकोणातमक सिरिजका ४ खेलमा नेपालले २ जित र २ हार बेहोर्यो। ओमानसँगको दुवै खेल गुमायो भने अमेरिकालाई दुवै खेलमा पराजित गर्यो। त्रिकोणात्मक सिरिजको नेपाल र ओमानबीचको पहिलो खेलसँगै टियू क्रिकेट मैदानले पनि एकदिवसीय मैदानको मान्यता पायो। एकदिवसीय खेलका लागि मान्यता पाउने टियू १०९औं मैदान हो।

टि–२० मा सन्दीपको सय विकेट, कुशल र अञ्जलीको विश्वकीर्तिमान : अघिल्लो वर्ष झैँ सन्दीप लामिछाने यो वर्ष पनि सर्वाधिक चर्चामा रहने क्रिकेटर बने। विश्वका फ्रेन्चाइज लिग र राष्ट्रिय टिम दुवैमा सन्दीप छाए। गत फागुनमा भएको एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा मलेसिका विरन्दीप सिंहको विकेट लिँदै सन्दीपले टि–२० क्रिकेटमा १ सय विकेटको कोशेढुंगा पार गरे।

सन् २०१८ मा आईपिएलमार्फत टि–२० खेल्न सुरु गरेका सन्दीपले ७५ खेलमा १ सय विकेट पूरा गरेका हुन्। जसमा उनले राष्ट्रिय टिमबाट १९ र फेन्चाइज क्रिकेटमा ५६ खेल खेलका छन्। यसक्रममा उनले राष्ट्रिय टिमबाट २९ र फेन्चाइजमा ७१ विकेट हात पारेका थिए।

यसैगरी युवा अलराउन्डर कुशल मल्लले एकदिवसीय क्रिकेटको डेब्यू खेलमै विश्व कीर्तिमान कायम गरे। विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध अर्धशतक बनाउँदै कुलश अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो खेलाडी बने।

अमेरिकाविरुद्ध डेब्यू गर्दा कुशल १५ वर्ष ३४० दिनका दिए। यसक्रममा उनले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडे। रोहितले गत वर्ष भएको युएईविरुद्धको एकदिवसीय सिरिजमा १६ वर्ष १४६ दिनमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए। त्यसवेला रोहितले मास्टरब्लास्टर सचिन तेन्दुलकरको कीर्तिमान तोडेका थिए।

यस्तै नेपाली महिला क्रिकेट टिमकी फास्ट बलर अञ्जली चन्दले यही वर्ष विश्वकीर्तिमान आफ्नो नाममा लेखाइन्। अञ्जलीले १३औं सागअन्तर्गत माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नै नदिइ ६ विकेट लिँदै टि–२० महिला क्रिकेटमा उत्कृष्ट स्पेलको विश्व कीर्तिमान बनाएकी हुन्। अञ्जलीले यसक्रममा ह्याट्रिक पनि गरेकी थिइन्। यसअघि यो रेकर्ड मलेसियाकी मास अलिसाको नाममा थियो।

यसैगरी यही वर्ष सोमपाल कामी र पारस खड्काले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा प्रवेश पाए। सोमपालले ग्लोबल टि–२० लिग क्यानडामा खेलेको थिए भने पारसले दुबइमा भएको टि–१० लिग खेलेका थिए। दुवैले कमै मात्र अवसर पाएका थिए।

१४ वर्ष सेतो जर्सीमा नेपाल : २०७६ मै नेपालले १४ वर्षपछि नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्यो। इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग गत कात्तिकमा १४ वर्षपछि तीनदिवसीय खेलमा सेतो जर्सीमा देखियो। नेपालले प्रथम श्रेणी क्रिकेट अन्तिम पटक सन् २००५ मा युएईसँग अन्तरमहादेशीसय कप खेलेको थियो।

एसिसीसँगको खेल नेपालले २ सय ८ रनले गुमायो। त्यहि खेलमार्फत् कप्तान ज्ञानेन्द्र मल्लसहित ९ खेलाडीले प्रथम श्रेणीको क्रिकेटमा डेब्यू गरेका थिए। डेब्यू गर्नेमा मल्लसहित दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, पवन सर्राफ, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र करण केसी थिए।

क्यानको निर्वाचन : लामो समय नेतृत्वविहीन रहेको नेपाल क्रिकेट संघ (क्यान)ले यही वर्ष नयाँ नेतृत्व पायो। असोज ११ गते भएको निर्वाचनमा पूर्वअध्यक्ष विजयनराज पाण्डेलाई पराजित गर्दै चतुरबहादुर चन्द क्यानको अध्यक्ष बने। आईसिसीले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा क्यानले १७ सदस्यीय नयाँ नेतृत्व पाएको थियो। निर्वाचनमा ३९ जिल्ला र २० प्रदेशबाट आएका ५९ प्रतिनिधिले नयाँ कार्यसमितका लागि मतदान गरेका थिए।

साढे तीन वर्षपछि निलम्बन फुकुवा : सरकारी हस्तक्षेपमा अवैधानिक निर्वाचन गराएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले २०७३ मा गरेको क्यानको निलम्बन साढे ३ वर्षपछि २८ असोजमा फुकुवा गर्‍यो। निलम्बनमा हुँदा र फुकुवा हुँदा क्यानको नेतृत्वमा चतुरबहादुर चन्द नै भए।

२०७२ मा क्यानको निर्वाचनसँगै दुई समानान्तर कमिटी गठन भएपछि आइसिसीले निलम्बन गरेको थियो। २०७२ मंसिर २८ गते क्यान निर्वाचन भयो, निर्वाचनबाट चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल महासचिव बने। क्यान निर्वाचनबाट असन्तुष्ट बनेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले नवनिर्वचित पदाधिकारीलाई मान्यता दिएनन् र अहिलेका सदस्य सचिव रमेश सिलवालको नेतृत्वमा समानान्तर समिति गठन गरे। यही विवादबीच क्यानलाई निलम्बनमा परेको थियो।

क्यानलाई निलम्बनमा परेपनि आईसिसीले नेपाली राष्ट्रिय टोलीलाई भने आफ्नै व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिएको थियो। क्यान निलम्बनकै बीचमा नेपालले एकदिवसीय मान्यता पाएको थियो।

कप्तानबाट पारसको राजीनामा : आईसिसीले क्यानको निलम्बन फुकुवा गरेको २४ घन्टा बित्न नपाउँदै पारस खड्काले नेपाली राष्ट्रिय टिमको कप्तान छाड्ने निर्णय गरे। पारसको अप्रत्यासित निर्णयले नेपाली क्रिकेटमा ठूलै हलचल ल्यायो। आफ्नो नेतृत्वमा पारसले नेपाललाई टि–२० विश्वकप खेलाए भने एकदिवसीय मान्यता पनि दिलाए। सन् २००९ देखि निरन्तर पारस नेपाली टिमको कप्तानका रुपमा रहँदै आएका थिए।

पारसले कप्तानीबाट राजीनामा दिनुको मुख्य कारण क्यान पदाधिकारीसँगको तिक्त सम्बन्ध भएको पनि बताइन्छ। टि–२० विश्वकपमा सहभागी भएर फर्के लगत्तै पारसलगायतका खेलाडीहरूको उजुरीकै आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोजले क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायत १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। पछि उनीहरू सबैले सफाइ पाए। अहिले चन्द र प्याकुरेल क्यानको नेतृत्वमा आएकाले पारसले कप्तानी छाडेको बताइन्छ।

पारसले राजीनामा दिएसँगै क्यानले उपकप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीको जिम्मेवारी दियो। मल्ल नवौं कप्तान हुन्।

नेपालमा मास्टर ब्लास्टर सचिन : अन्तर्राष्ट्रिय क्रिकेटका महान खेलाडी सचिन तेन्दुलर मंसिर ६ गते नेपाल आए। युनिसेफको कार्यक्रममा उनले नेपालमा तीन दिन बिताए। यसक्रममा उनी काभ्रेको पाँचखाल पुगे भने कीर्तिपुर मैदानमा बालबालिकासँग क्रिकेट पनि खेले।

उनले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेका थिए। उनले नेपाल बसाइ साँच्चै रमाइलो भएको र नेपालमा धेरै माया पाएको बताएका थिए।

फुबटल : गोलका लागि संघर्ष, ९ खेलमा १ मात्र जित र खेलाडीको डिस्को विवाद

सदाजस्तै यो वर्ष पनि नेपालले फुटबलमा राम्रो गर्न सकेन। यही वर्ष नेपाली राष्ट्रिय टिमले विदेशी प्रशिक्षकका रुपमा योहान कालिनलाई त पायो, गोलका लागि संघर्ष भने उस्तै रह्यो।

कालिनको नेतृत्वमा नेपालले ९ अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा ५ फिफा विश्वकप छनोटको खेल थियो भने ४ मैत्रीपूर्ण खेल।

२०७६ भरि नेपालले ३ गोल मात्र गर्न सक्यो। नेपालले गरेका तीनवटै गोल चाइनिज ताइपेइविरुद्ध थिए। विश्वकप छनोटमा अञ्जन बिष्टले २ गोल र मैत्रीपूर्ण खेलमा अभिषेक रिजालले एक गोल गरेका थिए। ९ खेलमा नेपलले २३ गोल खाएको थियो।

नेपालका लागि एकमात्र जितका रुपमा विश्वकप छनोटअन्तर्गतको चाइनिज ताइपेइविरुद्धको खेल रह्यो। नेपालले २–० ले जितेको थियो।

त्यस्तै, छनोटअन्तर्गतका अरु ४ खेलमा नेपाल कुवेतसँग ७–० र १–० ले, अस्ट्रेलियासँग ५–० र जोडर्नसँग ३–० ले पराजित भएको थियो। सागको स्वर्ण जित्नु नै यो वर्ष नेपाली फुटबलको सबैभन्दा ठूलो सफलता रह्यो।

चार फुटबलरको नाइट क्लब विवाद

सन् २०२२ को कतार विश्वकपको एसियन छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्न भुटान जाने अघिल्लो दिन राति ४ खेलाडी नाइट क्लब गएको घटना यो वर्ष चर्चामा रह्यो।

कात्तिक ३० गते विमल घर्तिमगर, अञ्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ नाइट क्लब पुगेका थिए। जसले गर्दा उनीहरूबिनै नेपाली टिम कुवेतसँग खेल्न भुटान उडेको थियो। उनीहरू सागको टिमबाट पनि हटाइएका थिए।

त्यो विवादको २६ दिनपछि एन्फाले चारै जना खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो। एन्फाले विमल र दिनेशमाथि ९० दिन तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको थियो भने सबैलाई ५० हजार जरिवाना पनि गरेको थियो। प्रतिबन्धपछि उनीहरु फुटबलमा फर्किसकेका छन्। अञ्जन र सन्तोषले शहीद स्मारक ए डिभिजन लिग आधाबाट खेलेको थिए भने विमल लिगको अन्तिम खेल खेलेका थिए।

नेपाली महिला भलिबललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि

नेपाली महिला भलिबल टिमले २०७६ मै पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्यो। पहिलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा नेपालले माघमा बंगलादेशमा भएको एभिसी सेन्टर जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको हो। प्रतियोगितामा अपराजित रहेको नेपाली टोलीले फाइनलमा मालदिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो।

महिला टिमले सोही लय १३औं साग पनि देखायो। तर, नेपाल सनसनीूर्ण फाइलनमा भारतसँग ३–२ पराजित हुँदै ऐतिहासिक स्वर्ण जित्नबाट भने चुक्यो। नेपालले श्रीलंकालाई हराउँदै पहिलो पटक फाइनल पुगेको थियो।

विश्व वरियतामा प्रिन्सको फड्को

युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पनि २०७६ मा चर्चामा रहे। विश्वका थुप्रै उत्कष्ट खेलाडीलाई पछि पार्दै प्रिन्स युवा खेलाडीको विश्ववरियतामा सातौं स्थानमा आएका हुन्। यो नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट वरियता हो।

अघिल्लो महिना जर्मनीमा भएको जुनियर इन्टरनेसनल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि प्रिन्सले वरियतामा ३ स्थान फड्को मारेका थिए। जुनियर च्याम्पियनसिपमा प्रिन्स क्वाटर फाइनलसम्म पुगेका थिए। १७ वर्षीय प्रिन्सले गत जनवरीमा नेपालमै भएको प्रेसिडेन्ट कप इन्टरनेसनल च्याम्पियनसीपमा फाइनलसम्मको यात्रा तय गरेका थिए।

प्रकाशित मिति: ०९:२६ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्