Kathmandu Press

बैंकका सिईओको यस्तो छ लकडाउन दैनिकी


काठमाडाैं, चैत २७ : अहिले समग्र विश्व नै कोरोनाभाइरको मारमा छ। अधिकांश देश लकडाउनको अवस्थामा

बैंकका सिईओको यस्तो छ लकडाउन दैनिकी


काठमाडाैं, चैत २७ : अहिले समग्र विश्व नै कोरोनाभाइरको मारमा छ। अधिकांश देश लकडाउनको अवस्थामा छन्। विश्वका कुनै पनि यस्ता क्षेत्र छैनन्, जो कोरोनाको मारमा नपरेकोहोस्।

नेपालको अवस्था पनि त्यस्तै छ। अहिलेसम्म नौ जनामा कोरोनाको संक्रमण देखिएको छ। यसलाई फैलन नदिन सरकारले वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको छ। त्यसैले अधिकांशले घरबाटै अफिस सञ्चालन गरिरहेका छन्।

यही विषम परिस्थितिमा बैंकरहरुले पनि घरबाटै अफिस चलाइरहेका छन्। उनीहरू ग्राहकलाई समस्या नपरोस भनेर जोखिम मोलेरै भएपनि सेवा दिइरहेको बताइरहेका छन्। घरबाटै अफिस चलाउँदा बैंकरहरुले कस्तो अनुभव गरिरहेका छन् त? काठमाडौं प्रेसले जान्ने प्रयास गरेको छः

Hardik ivf

महामारीले अवसर दिएको छ: सन्तोष कोइराला, सिईओ, माछापुच्छ्रे बैंक

कोरोना भाइरसको महामारीले ल्याएको यो लकडाउन आफ्ना लागि ठूलो अवसर भएको माछापुछ्रे बैंकका सिईओ (प्रमुख कार्यकारी अधिकृत) सन्तोष कोइरालाको धारणा छ। उनले यो लकडाउनलाई लामो सयमपछि परिवारलाई समय दिने मौका र विषम परिस्थितिमा पनि ग्राहकलाई स्तरीय सेवा दिएर सन्तुष्ट बनाउने अवसरका रुपमा लिएका लिएका छन्।

उनी लकडाउनको यो अवस्थामा नियमित अफिस गइरहेका छन्। ‘बिहान ११ बजेतिर अफिस जान्छु, साढे ३ बजेतिर फर्कन्छु। अरुवेलाजस्तो कामको प्रेसर छैन,’ कोइराला भन्छन्, ‘केही अत्यावश्यक शाखाहरू खोलिरहेका छौं। ग्राहकले माग गरेको खण्डमा वा प्रशासनले अनुरोध गरेकावेलामा अन्य शाखाहरू पनि खोलेर सेवा दिइरहेका छौं।’

पहिलोजस्तो फेस टु फेस मिटिङ गर्ने अवस्था नभएपनि दैनिक टेलिकन्फ्रेन्स गरिरहेको उनले बतए। ‘प्रदेश प्रमुख र शाखा प्रमुखहरुसँग दैनिक छलफल गरेर त्यहीअनुसार काम गरिरहेका छौं,’ उनले भने।

बैंक पनि अत्यावश्यक क्षेत्रभित्रै पर्ने भएकाले त्रासकैबीच सेवा दिइरहेको कोइराला बताउँछन्। ‘कोरोनाको महामारीले सबै त्रसित छन्। अब आफू पनि जोगिनु छ, अरुलाई पनि जोगाउनु छ,’ सावधानीका साथ काम गरिरहेको बताउँदै उनले भने, ‘स्टाफहरुलाई सावधानीपूर्वक काम गर्न भनेका छौं। मास्क, पन्जा, सेनिटाइजर अनिवार्य गरेका छौं। नोट पनि स्प्रे गरेर मात्र प्रयोग गर्न भनेका छौं।’

त्रासबीच पनि परिवारसँग रमाउन पाउँदा खुसी पनि छन् कोइराला। ‘हिजोको समयमा परिवारलाई यसरी समय दिन पाइएको थिइनँ। परिवारसँग मज्जाले गफ गर्न नपाइएको लामो समय भएको थियो। केटाकेटीसँग रमाउन पाइएको छु, महामारीले जुराएको यो फुर्सदलाई परिवारसँगै रहेर उपयोग गरिरहेको छु। त्यसैले खुसी नै छु,’ उनी भन्छन्।

अफिसको कामबाहेक घरमा अरु के गरिरहनु भएको छ भन्ने प्रश्नमा कोइराला भन्छन्, ‘टेलिभिजनमा सामाचारहरू हेर्ने, इन्टेरनेट चलाउने गरिरहेको छु। साथै वेलावेलामा किचनको काममा पनि सहयोग गरिरहेको छु। विभिन्न खालका पुस्तकहरु पनि पढिरहेको छु। आध्यात्मिक सोचाइको मान्छे भएकाले त्यस्तैखाले पुस्तक पढ्छु।’

घरमै बस्दा पनि सबैलाई पोजेटिभ हुन सल्लाह दिन्छन्, सिइओ कोइराला। यस्तो महामारी त आइरहन्छ, त्यसैले सकारात्मक सोचको विकास गर्नुपर्छ, अनिमात्र महामारीबाट निस्कन सकिने उनको धारणा छ।

जिन्दगीको महत्व बुझ्न थालेको छु : अनिलकेशरी शाह, सिईओ, नबिल बैंक

लकडाउनमा घरबाटै प्रविधिको प्रयोग गरेर अफिस चलाइरहेको बताउँछन्, नबिल बैंकका सिईओ अनिलकेशरी शाह। सुरुमा घरबाट काम गर्न असहज भएको अनुभव उनले गरेका थिए। ‘सुरुमा घरबाट काम गर्दा बानी नभएर होला, अलि असहज भएको थियो, तर अहिले त्यस्तो छैन, सहज हुन थालेको छ,’ उनले भने।

अफिसमा हुँदा पनि आफ्नो काम छलफल, सरसल्लाह गर्ने नै भएकाले घरबाटै बैंकका प्रदेश प्रमुख, शाखा प्रमुखहरूसँग भिडियो कन्फ्रेन्स गरेर काम गरिरहेको शाह बताउँछन्। घरबाटै अफिस चलाउन प्रविधिले निकै सहज बनाएको पनि उनले भनाइ छ।

बैंक पनि अत्यावश्यक सेवा भएकाले ग्राहकलाई सहज रुपमा सेवा दिन लागिपरेको उनी बताउँछन्। ‘घरबाटै काम गरिरहेको छु। ममात्रै होइन्, नविल बैंकका अधिकांश कर्मचारीहरू सकेसम्म घरबाटै काम गरिरहनु भएको छ,’ उनले भने, ‘बैंक पनि अत्यावश्यक सेवा भएकाले केही शाखाहरू भने खोलिरहेका छौं। जस्तै, जहाँ एटिम छैनन् ति शाखाहरू जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर खोलेर सेवा दिइरहेका छौं।’

एटिएम भएका शाखाहरूमा चाहिँ ग्राहकहरूलाई सकेसम्म डिजिटल बैंकिङ कोरोबार गर्न भनिरहेको र यो सुरक्षित पनि भएकाले ग्राहकलाई प्रोत्साहित गरिरहेको सिईओ शाहले बताए।

उनले वित्तीय संस्थाहरूमा फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरूको खुलेर प्रसंशा गरे। ‘उहाँहरुलाई सलाम नै गर्नुपर्छ। सबैले डाक्टर, नर्सको कुरा गर्छन्। हो, उहाँहरुलाई पनि सलाम गर्नैपर्छ। हामी १५ दिनभन्दा बढी लकडाउनमा छौं। यो अवधिमा नेपालको जनसंख्यामध्ये कति अस्पताल गए होलान र कति बैंक वा वित्तीय संस्था गए होलान्, तपाईं आाफैं विचार गर्नुस् न?,’ शाहले भने, ‘वित्तीय संस्था बन्द भएको भए कतिलाई हाहाकार पथ्र्यो होला।’

वित्तीय संस्था पनि अत्यावश्यक सेवा भएकाले यस्तो परिस्थितिमा पनि सेवा दिइरहेको उनले बताए। ‘यो अत्यावश्यक सेवा भएको हामीले बुझेका छौं। त्यसैले यस्तो अवस्थामा पनि सेवा प्रदान गरिरहेका छौं,’ उनले भने। अहिले बैंकहरूमा क्यासको कारोबार मात्र भइरहेको उनले बताए। अहिले ठूलो प्रोजेक्ट ल्याउने, ठूलो योजना बनाउनेवेला नरहेको उनको भनाइ छ।

भूकम्पकावेला घरै बसेपनि अहिले जस्तो ढुक्कको अवस्था त्यतिखेर नभएको उनको अनुभव छ। उनी भन्छन्, ‘यसरी घरमा बसेर आफ्नो परिवारसँग समय नबिताएको जुग भइसकेको रहेछ। त्यसैले यसले उर्जा पनि दिएको छ। आजभोलि जिन्दगीको महत्वबोध हुन थालेको छ।’

यसअघि छुट्टी लिएपनि घरमा नबसिएको उनी सुनाउँछन्। ‘छुट्टी त अरुवेला पनि लिइयो। तर, त्यतिखेर कहिल्यै घरमा बसिएन। पोखरा जाने, चितवन जाने या विदेश जाने पहिल्यै योजना बनिसकेको हुन्थ्यो,’ शाहले पहिला छुट्टीसँगै दौडधुप पनि हुने सुनाए। तर, अहिले चाहिँ कतै जानु नपर्ने भएकाले आनन्दसँग घरमा बस्न पाएको उनी बताउँछन्।

घरमै बस्दा पनि साथीभाइहरुसँग टचमै हुन्छन्, शाह। ‘अहिले जुन अनुभव लिइरहेको छु, त्यो सायद शब्दमा बयान गर्न सक्दिनँ। काम गर्न थालेको ३० वर्ष भयो यस्तो फुर्सद समय कहिल्यै पाएको थिइनँ,’ फुर्सदको अनुभव सुनाउँदै उनले भने। शाह फुर्सदमा युट्युबमा नयाँ नयाँ भिडियोहरू हेर्दै केही न केही सिक्ने प्रयास पनि गरिरहेका छन्।

जति सकारात्मक भयो, त्यतिनै उर्जा आउने भएकाले पनि आफ्नो लागि समय दिन थालेको उनी बताउँछन्। उनको अपिल छ, ‘सधैं सकारात्मक सोचौं। कोरोनासँग लड्न हामी आफू बलियो हुनु जरुरी छ। हामी जीवित रहनको लागि सुरक्षित हुनुपर्छ त्यसैले सुरक्षाका उपाय अपनाएर बसौं।’

रिटायर्ड जीवनको अनुभव लिइरहेको छु : अनुपमा खुन्जेली, सिइओ, मेघा बैंक

मेघा बैंककी सिईओ अनुपमा खुञ्जेली पनि घरबाटै अफिस चलाइरहेकी छिन्। घरबाटै काम गर्दा चाहिँ समयको सीमा अनलिमिट हुने उनको अनुभव छ। पहिला साढे ९ बजे अफिस गयो, धेरै ढिला हुँदा पनि साढे ७, ८ बजे त फर्किइन्थ्यो, अहिले बिहान ८ बजेदेखि सुरु गरेर राति ९, १० बजेसम्म काम गर्न पाइएको उनले सुनाइन।

उनले आवश्यकता अनुसार बैकका शाखाहरु आलोपालो गरेर खोलिरहेको बताइन्। ग्राहकलाई असुविधा नहुनेगरी सेवा दिइरहेको उनले बताइन्। ‘बिजी त छु नै तर, नयाँ लोन बुक गर्ने, नयाँ कस्टमर बुक गर्ने चाहिँ हुन सकेको छैन। भएको बुकहरुलाई मेन्टेन गर्ने गरिरहेका छौं,’ उनले भनिन्। बैंकको एक्चुअल विजनेश नभएको उनी बताउँछिन्।

अहिले डिजिटल मिटिङहरु गरिरहे पनि प्रत्यक्ष उपस्थित भएर गरिने मिटिङ जस्तो नहुने अनुभव उनको छ। परिवारसँगै नै बसेर काम गर्दा छुट्टै उर्जा प्राप्त भएको उनले बताइन्।

घरबाटै काम गर्दा कस्टमरलाई भने मिस गरिरहेकी छिन्, नेपालका बैककी एक्ली महिला सिईओे खुञ्जेली। उनी भन्छिन्, ‘अफिस जाँदा कस्टमरहरु भेट्न पाइन्थ्यो, अहिले त्यसको कमी महसुस भइरहेको छ। अरु त घरबाट गर्नु र अफिसबाट गर्नुमा खासै फरक हुन्न। अफिस जाँदा आफ्नो टिमलाई पनि भेट्न पाइन्थ्यो, त्यो पनि खड्किरहेको छ।’

उनी अहिले रिटायर्ड लाइफ महसुस गरिरहेकी छन्। ‘२५ वर्ष भयो विवाह गरेको, अहिलेसम्म यसरी घर बसेको रहेनछु। रिटायर्ड लाइफ कस्तो हुँदो रहेछ भन्ने अनुभव लिइरहेको छु। अफिसले व्यस्त नै राखेपनि फुर्सदले घर बस्दा कस्तो हुँदो रहेछ भनेर अनुभव लिइरहेको छु,’ उनी भन्छिन्, ‘टाइम प्रसस्तै छ, गर्नुपनि खासै केही छैन, फुर्सद पनि छैन भनौं। घरमा बसेपछि खाना चाहिँ टाइम टाइमै खान पाइने रहेछ।’ यत्रो दिन घरमै हुँदा पनि बोर नभएको र समय गएको पत्तै नपाएएको उनी बताउँछिन्।

लकडाउनले गर्दा खुञ्जेलीलाई नित्यकर्ममा पनि समय मिलेको छ। बिहान उठेर पूजा गर्ने, दैनिक व्यायम गर्ने समय मिलेको उनले बताइन्। ‘हामी त अफिसभित्र बसेर काम गर्दा घाम लागेको पानी परेकोसमेत थाहा हुँदैन्थ्यो। अहिले घरबाट काम गर्दा चराहरुको आवाजसमेत सुन्न पाउँदा आन्नद महसुस हुँदोरहेछ,’ उनले आफ्नो अनुभव साट्दै भनिन्।

साथीभाइलाई मिस गरिरहेको छु : आशोक शेरचन, सिईओ, प्रभु बैंक

प्रभु बैंकका सिईओ अशोक शेरचन पनि घरबाटै काम गरिरहेका छन्। अत्यावश्यक परेकोवेलामा मात्र उनी अफिस जान्छन्। लकडाउनले फुर्सद भने प्रशस्तै दिएको उनको अनुभव छ।

‘अफिसमा अहिले अली बढी व्यस्त भइन्थ्यो। मान्छेहरु भेट्न आइरहँथे। भेटघाट गर्नुप¥यो, मिटिङमा जार्नुपर्ने हुन्थ्यो,’ शेरचन भन्छन्, ‘घरमा त्यो केही गर्नु परेन, स्टाफहरुसँग पनि धेरै टचमा हुनु परेन, त्यसैले धेरै हलुका अनुभव भइरहेको छ।’

देशभरि २५ वटा शाखाहरू खोलेर (शनिबारबाहेक) ग्राहकलाई सेवा दिइरहेको उनले बताए। शनिबारचाहिँ काठमाडौंको हेडअफिस मात्र खुल्ने उनले बताए। ‘छलफल, सरसल्लाहजस्ता कामहरू डिजिटल वेबाट गरिरहेको छौं। सबैलाई सुविधा हुने गरेर अल्टरनेट गरेर शाखाहरू खोलिरहेका छौं,’ उनले भने।

बिहान बेलुका नजिकै हिँडडुल गर्ने, पत्रपत्रिका पढ्ने, टेलिभिजनमा समारचारहरु हेर्ने गरिरहेका छन् शेरचन। पुस्तकलाई पनि सयम दिइरहेकाले रिफ्रेसमेन्ट मिलिरहेको उनले बताए। ‘जागिर सुरु गरेपछि यसरी घरमा आनन्दले बस्न पाएको पहिलो पटक हो, एकहिसाबले रमाइलो नै छ,’ उनी भन्छन्, ‘घरमा बस्दा परिवारलाई समय दिन त पाइएको छ, तर क्रिएटिभिटी भन्ने कुराचाहिँ नहुने रहेछ।’ लामो घर बसाईमा साथीभाइलाई पनि एकदमै मिस गरिरहेको उनी बताउँछन्।

कर्मचारीको सुरक्षामा चिन्तित छु : पर्शुराम कुँवर क्षेत्री, सिइओ, ग्लोलब आईएमई बैंक

ग्लोबल आईएमई बैंकका सिईओ पर्शुराम कुँवर क्षेत्रीको अवस्था पनि अन्य बैंकरहरूको जस्तै छ। उनी पनि अत्यावश्यक कामबाहेक घरबाटै बैंक चलाइरहेका छन्। ग्राहकलाई सेवा दिइरहे पनि कर्मचारीको सुरक्षामा भने आफू चिन्तित रहेको उनले बताए।

रकम अभाव हुन नदिन र ग्राहकलाई समस्या नहोस् भनेर जोखिम मोलेर काम गरिरहेको उनी बताउँछन्। आफ्ना कारण ग्राहकले समस्या झेल्न नपरोस् भनेर हामी जोखिम मोलेरै खटिएको बताउने कुँवरले नोटलाई डिसइन्फेक्टन्ट स्प्रे गरी एटिएममा राखेको र शाखाका काउन्टरहरु पनि सिमित अवधिका लागि खोलेर सेवा दिइरहेको बताए।

‘सबैलाई सुरक्षा सतर्कता अपनाउन भनेका छौं। भाइरसको जोखिम हुनसक्ने भएकाले सतर्कताका लागि अपनाउनुपर्ने सबै उपाय अपनाएर मात्र काममा गएका छौं,’ उनले भने, ‘कर्मचारीको मनोवल बढाउन म आफै पनि कार्यालय जाने गरेको छु। ग्राहकको सेवामा कमी नहोस् भनेर लागेका छौं।’

कोरोना भाइरस सजिलै सर्नसक्ने भएकाले सकभर बैंकसम्म आउनेभन्दा पनि डिजिटल प्रविधिबाट कारोबार गर्न उनकोे सुझाव छ। ‘भिडियो कन्फेरेन्समार्फत छलफल गरिरहेका छौं। केही निर्णय लिनुपर्दा पनि यहीँबाट लिन्छौं। कारोबारको लागि सिस्टमबाट गर्नुपरेको खण्डमा कार्यालयमै उपस्थित भएका छौं,’ उनले भने।

धेरै समयपछि फुर्सद मिलेकाले उनी खुसी पनि छन्, रमाई पनि रहेकाछन्। धेरै समय परिवारसँग गफगाफमै बिताउने गरेको उनी बताउँछन्। टिभीमा समाचारहरु हेर्ने, अपटेड हुने र साथीभाइहरुसँग फोनमा गफिने पनि गरेका छन् उनी।

उनले आफ्ना कर्मचारी, ग्राहकलाई पहिला आफू जोगिएर काम गर्न पनि अनुरोध गरेका छन्। ‘भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनलाई सहयोग गर्नुस्। घरभित्रै बस्नुस्। आशा गरौं, छिटै यो अवस्थाको अन्त्य हुनेछ,’ उनले भने।

प्रकाशित मिति: ०९:३७ बजे, बिहीबार, चैत २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्