Kathmandu Press

कोरोना भाइरसबाट त्रसित छन् विदेशमा रहेका नेपाली

काठमाडौं, चैत १७ : कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वभर नै त्रास बढ्दै गएको छ। दुई सय

कोरोना भाइरसबाट त्रसित छन् विदेशमा रहेका नेपाली

काठमाडौं, चैत १७ : कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वभर नै त्रास बढ्दै गएको छ। दुई सय देशमा फैलिसकेको यो भाइरसले ३७ हजार भन्दा वढी व्यक्तिको ज्यान लिइसकेको छ भने झण्डै आठ लाख व्यक्ति संक्रमित छन्। 

कोरोनाको संक्रमण रोक्न अधिकांश मुलुकले लकडाउन गरेका छन्। विश्वभर भाइरसको संक्रमण फैलिँदा विदेशमा रहेका नेपाली समुदाय पनि यसको चपेटामा परेका छन्। वैदेशिक रोजगारी, अध्ययन, जागिर लगायतका सिलसिलामा विभिन्न देशमा रहेको नेपालीहरु कोरोनाका कारण थप पीडामा देखिएका छन्। 

कोरोना भाइरसको केन्द्रको रुपमा देखिएका इटाली, चीन, स्पेन, अमेरिका लगायत खाडी मुलुकहरुमा ठूलै संख्यामा नेपाली समुदाय छन्। कोरोनाले सबैभन्दा भयवित बनेको इटालीमा विगत ७ वर्षदेखि बस्दै आएकी शकुन्तला थापा अहिले निकै त्रसित छिन्।

Hardik ivf

‘दशौं हजारौं व्यक्तिले आफू बसोबास गर्ने मुलुकमा ज्यान गुमाएपछि सरकारले दुई  हप्तादेखि घोषणा गरेको लकडाउनलाई पूरै पालना गरेर घरमै बसिरहेकी छु, उनले काठमाडौं प्रेससँग म्यासेन्जरमा कुरा गर्दै भनिन्, ‘इटाली सरकारले स्वास्थ्य र शिक्षालाई निःशुल्क प्रदान गरिरहेको भएपनि कोरोनाको संक्रमण भइहालेमा कुनै औषधि नबनिसकेकाले उपचारमा समेत गाह्रो हुन्छ, हामी निकै त्रसित छौँ।’

इटालीका प्राय सबै शहरमा खाद्यान्न र अत्यावश्यकबाहेक सबै पसल र कार्यालयहरु बन्द छन्। तर सुखद कुरा के हो भने इटालीमा अहिलेसम्म कोही पनि नेपालीलाई संक्रमण देखिएको छैन। लोकगायिका समेत रहेकी थापाले यो बेलामा आफ्नो परिवारलाई खुबै ‘मिस’ गरेको बताइन्। 

‘नेपाल आउन नमिल्ने बाध्यताका कारण घरपरिवारलाई समेत सचेत रहन र आफू पनि बच्न र अरुलाई पनि बचाउन बेलाबेलामा फोनमा सुझाव दिँदै आएकी छु,’ उनी भन्छिन्। 

चार वर्षअघि अध्ययनको सिलसिलामा क्यानडा पुगेकी संमिना सिम्खडा पनि अहिले होम क्वारेन्टाइनमा छिन्। श्रीमान र छोरी साथमै रहेकाले यता नेपालमा रहेका बुवाआमाको बढी चिन्ता रहेको उनी बताउँछिन्। ‘हालसम्म करिब ६ हजार जतिमा यहाँ संक्रमण देखिएको छ। सरकारले संक्रमण फैलन नदिन घरमै बस्न आग्रह गरेको छ,’ उनले भनिन्,‘तर क्यानडा सरकारले रोजगारी गुमेकालाई पनि भेदभाव नगरी समान रुपले राहतको व्यवस्था गरेकाले त्यति असहज छैन।’ उनले पनि क्यानडाबाटै नेपाल रहेका आफ्ना नातागोतालाई कोरोनाको सचेतना बाढ्दै आएकी छन्।

यस्तै, पोचुर्गलको अल्बुफेरामा विगत चार वर्षदेखि रोजगारीको सिलसिलामा रहेका मोहन कार्की पनि कोरोना भाइरसको डरबाट आक्रान्त छन्। उनी भन्छन्,‘यहाँको अवस्था दिनानुदिन दयनीय बन्दै छ। लकडाउन छ। प्रायः रोजगारीमा रहेका सबै नेपालीको रोजगारी गुम्ने अवस्थामा पुगिसकेको छ।’ 

रोजगारी गुमेपछि धेरै नेपालीहरु भोकै मर्ने अवस्थाको समेत सिर्जना हुन सक्ने कार्कीले बताए। ‘कम्पनीले कहिले काममा बोलाउला र तलब आउला भनेर कुरेर बस्नुपर्ने बाध्यता छ’ उनले भने। 
पोर्चुगलमा पनि नेपालीहरु सबै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्। उपचारको राम्रो सुविधा भएको पोर्चुगलमा आफूहरुलाई केही भइहालेमा उपचार भने पाउने आशमा नेपालीहरु छन्। ‘मुगलान जानु कसैको पनि रहर होइन बाध्यता हो,’ कार्कीले भने,‘यस्तो बेलामा घरपरिवार र मातृभूमीको यादले सताउने रहेछ।’

कोरोना संक्रमणको चपेटामा खाडी मुलुकमा बसोबास गर्ने नेपालीहरु पनि परेका छन्। विगत १२ वर्षदेखि कतारको दोहामा बस्दै आएका युवराज छन्त्याल कोरोनाको त्रासले रोजगारी पनि गुम्छ कि भन्ने डरले सताउन थालेको बताउँछन्। उनी भन्छन्, ‘संक्रमणका कारण औद्योगिक क्षेत्र, होटल, मस्जिद सबै बन्द छन्। पाँच जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ। ट्याक्सीमा एक जनाभन्दा वढी चढ्न मिल्दैन, हेलिकप्टरबाट औषधि छर्कने काम भइरहेको छ।’ 

कतार एयरवेजमा काम गर्ने छन्त्याल हालसम्म एयरपोर्ट बन्द नभएकाले काम भने गरिरहेको बताउँछन्। ‘जेनतेन चलिरहेको छ, भोलिको अवस्था के कस्तो हुन्छ भन्न सकिन्न,’ उनी भन्छन्।
लोक कलाकार समेत रहेका उनले आफ्नो घरपरिवार र सम्पूर्ण नेपालीलाई नेपालको हालत इटालीको जस्तो नहोस् भन्नका लागि सबैजना एकजुट भएर यो संक्रमणलाई टार्नुपर्ने सुझाव दिन्छन्। 
यस्तै, रोजगारीकै सिलसिलामा विगत ११ वर्षदेखि साउदी अरेबियाको रियादमा बस्दै आएका हरिप्रसाद मरासिनी नेपालमा कोरोना संक्रमणको हल्ला चलिरहँदा बिदा सकेर फर्किएका हुन्।  उनी रियाद पुगेसँगै कम्पनीले नै होटलमा सेल्फ क्वारेन्टाइनमा राखेको थियो। अहिले क्वारेन्टाइन पूरा गरेर कोरोना परीक्षण गरिएको छ। उनका अनुसार कोरोना परीक्षण पश्चात कम्पनीले काममा निरन्तरता दिनेछ। 

कोरोनाको संक्रमणबाट जोगिन साउदी सरकारले बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गरेको छ भने अरु बेला लकडाउन छ। लामो समयदेखि काम गर्ने नेपालीहरुका लागि सहज भएपनि नयाँ–नयाँ कामदारका लागि यस्तो बेला समस्या पर्न सक्ने उनले बताए। 

यस्तै, अष्ट्रेलियाको सिड्नीमा विगत एक वर्षदेखि बस्दै आएका गणेश ढकाल भने त्यहाँको सरकारले कोरोनाको रोकथामका लागि गरेको तयारी निकै चित्त बुझेको बताउँछन्। कोरोना रोकथामका लागि सरकारले अन्य देशबाट आउने हवाइ उडान बन्द, ठूला रेष्टुरेन्ट, भिडभाड हुने समुन्द्री किनारा र ठूला क्लबको आवतजावत बन्द गरेपनि सरकारले लकडाउनको नीति लिएको छ। उनले भने,‘स्वास्थ्यमा सामान्य समस्या देखिएमा बस्ने स्थानमै लिन जाने व्यवस्था, कोठामै स्वयंसेवक पठाउने, निःशुल्क परीक्षण, इमरजेन्सी सेवाको अपडेट र विभिन्न सचेतनामुलक कार्यक्रम  सञ्चालनमा तीव्रता दिएको छ।’

अष्ट्रेलियामा अध्यनरत केही नेपाली विद्यार्थीलाई संक्रमण देखिएका समाचार बाहिर आएपनि भयावह स्थिति भइनसकेको उनी बताउँछन्। 

ठूला रेष्टुरेन्ट र क्लबहरु बन्द हुँदा त्यस क्षेत्रमा काम गर्ने केही नेपालीको रोजगारी गुमेको छ। उनीहरुका लागि सरकारले केही निर्णय लिनेमा नेपालीहरु आशावादी रहेको उनले बताए। उनले भने, ‘विश्वभरी फैलिएको यो संक्रमणका बेला परिवारको याद नआउने त कुरै भएन। यो मलाई र मेरो परिवारलाई मात्रै नभएर विश्वभरकै समस्या भएकाले सबैलाई सचेत रहन आग्रह गर्दछु।’

साढे दुई वर्षअघि अध्ययनका लागि चीनको बेइजिङ पुगेर ‘युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेसमा’ अध्ययन गरिरहेका सुदिप आचार्यले चीनको कोरोना प्रभावलाई नजिकबाट निहालेका छन्।  

चीनमा महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि आचार्य दुई महिनादेखि आफ्नै कोठामा सेल्फ क्वारेन्टाइनमा बसे। चीनले कोरोनाबाट बच्न परीक्षण प्रभावकारी र भाइरस लाग्ने बित्तिकै पत्ता लगाउनु, भाइरस लागेमा सचेतना अपनाउनु, आइसोलेसनमा राख्ने कामलाई तीव्रता दिएको आचार्यले बताए। 

‘मैले छात्रवृत्तिमा अध्ययन गरिरहेकाले सबै सहयोग विश्वविद्यालयले गरिरहेको छ,’ उनले भने।

डिभी परेर चार वर्षअघि अमेरिका गएर न्यूयोर्कमा बस्दै आएकी रमा खतिवडा भाइरसबाट बच्न घरमै सेल्फ क्वारेन्टाइनमा छिन्। कोरोनाबाट अमेरिकामा एक जना नेपालीले ज्यान गुमाइसकेका छन् भने कतिपय नेपालीहरु हस्पिटलमा उपचारत छन्। खतिवडाका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या बढेपछि हस्पिटलमा समेत उपचारका  लागि ठाउँ नभएको र अन्तिम अवस्था आएमा मात्र उपचार पाउने अवस्था छ।

उनी कोरोनाको संक्रमणबाट जोगिन घर बाहिर नजाने, आफूलाई सहज लाग्ने क्रियाकलापमा ध्यान दिनुका साथै योगा गर्न सुझाव दिन्छिन्।
 

प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्