Kathmandu Press

हराउँदै सात सय वर्ष पुरानो सा:

भक्तपुर, चैत २ : अरनिको राजमार्गमा पर्ने नयाँ थिमीचोकबाट करीब सय मिटर पूर्व लाग्दा बाँया मोडिने बाटो आउँछ। त्यो बाटो

हराउँदै सात सय वर्ष पुरानो सा:
रिवाज राई

भक्तपुर, चैत २ : अरनिको राजमार्गमा पर्ने नयाँ थिमीचोकबाट करीब सय मिटर पूर्व लाग्दा बाँया मोडिने बाटो आउँछ। त्यो बाटो हुँदै करिब एक किलोमिटर पर पुग्दा–नपुग्दै तोरीको तेलको हरर वासना आउँनथाल्छ। साँघुरा गल्ली र पुराना घरहरूले परम्परागत नेवार वस्तीको झल्को दिने चोडे टोल सँधैभरि त्यसैगरी तेलको वासनाले सुगन्धित हुन्छ।

तपाईंहरूलाई लाग्न सक्छ– चोडे टोलमा तेल पेल्ने मेसिनहरू धेरै होलान्। तर, यहाँ केबल एउटा तेल पेल्ने मेसिन। ५० वर्षीय रत्नकाजी मानन्धरले यो मेसिन सञ्चालन गर्दै आएकाछन्।

Hardik ivf

२०४५ सालतिर यो टोलमा सातभन्दा बढी तेल पेल्ने मेसिनहरू थिए। तर, आधुनिकीकरणको चपेटामा परेर चोडे टोलका सात सय वर्ष पुरानाे तेल पेल्ने मेसिनहरू अर्थात सा: प्रायः सबै हराइसकेका छन्।

तर, रत्नकाजीले भने अहिलेसम्म पनि यही व्यवसायले आफ्नो जीविका चलाइरहेका छन्। एक छोरा र दुई छोरीलाई हुर्काउन यही पेशा पर्याप्त भएको रत्नकाजी बताउँछन्। उनी भन्छन् ‘मैले सुरूदेखि यही काम गरेँ, अरु काम गर्नेतर्फ कहिल्यै ध्यान गएनँ।’

यही पेशाबाट मासिक एकदेखि डेढलाख रुपैयाँसम्म आम्दानी गर्ने रत्नकाजी भन्छन्, ‘मानन्धर समुदायको यो पुख्र्यौली पेशा लोप हुने क्रममा छ।’

साः को इतिहास

परापूर्व कालमा मानन्धर समुदायलाई सायमी, मान्धुर, मानधरी, मानधर, सालमी र साःमिजस्ता विभिन्न नाउँले सम्बोधन गरिन्थ्यो। नेवारी भाषामा साःको अर्थ तोरीको तेल पेल्ने कोल र मिको अर्थ मालिक भन्ने हुन्छ। त्यसैले पनि तोरीको तेल बनाउने कोल, कारखानाको मालिक साःमि हुन्छ। यसरी साःमि अपभ्रंश हुँदै सायमी शब्द बनेको बुझ्न सकिन्छ।

रत्नकाजी मानन्धर।

उपत्यकामा बसोबास गर्ने सायमी समुदायले पुर्ख्याैली पेशाको रुपमा तोरीको तेल बनाउँदै आएको छ। इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरका अनुसार, चिनियाँ यात्री वाङ ह्वाङसेले तत्कालीन नेपालमा तोरीको तेल उत्पादन भएको सम्बन्धमा वर्णन गरेका छन्। भक्तपुर र काभ्रेको सीमावर्ती क्षेत्र साँगामा अवस्थित ऐतिहासिक मानवबस्तीमा तेल पेल्ने पेशाको अभिलेख रहेको उनी बताउँछन्।

साझा प्रकाशनले पहिलो पटक २०३९ सालमा प्रकाशित गरेको डा.चन्द्रविक्रम बुढाथोकीको पुस्तकअनुसार, चौधौं शताब्दीमा तत्कालीन नेपालमा शासन गरेका जयस्थिति मल्लले चार जातको वर्ण व्यवस्था गरे। ब्राम्हण, क्षत्री, वैस्य र शुद्रमध्ये तेस्रो वर्णमा परेका साःमि अर्थात सायमीले तेल पेल्नु र बाबीयाले खट बाँध्नु भनी उल्लेख गरेका छन्।

अस्तरत्न मानन्धर।

यसरी पेलिन्छ सा:मा तोरी

उहिले उपत्यकामा खासगरी तराईमा पेलिएको तेलको अधिक प्रयोग हुन्थ्यो। मकवानपुर र चितवनमा उब्जनी हुने तोरीलाई भिमफेदीको बाटो हुँदै चापागाउँ र बज्रबाराहीबाट ल्याइन्थ्यो। तेल बनाउन अधिक परिमाणमा कच्चापदार्थ आवश्यक हुने कारणले पनि तराईको जिल्लाबाट तोरीलाई काठमाडौं भित्र्याइने गरेको सेवा सायमी खलःका अध्यक्ष अस्तरत्न मानन्धर बताउँछन्।

करीब १० प्रतिशत तोरी भने उपत्यका वरपरको काठ क्षेत्रमा उब्जनी हुन्थ्यो, जुन आयातीतभन्दा गुणस्तरीय भएको दाबी छ। पछिल्लो केही दशकयता भने मित्रराष्ट्र भारत र तेस्रो मुलुकमध्ये क्यानडा, अस्ट्रेलिया, पोल्याण्ड, डेनमार्क रयूक्रेनबाट समेत तोरीलाई आयात गरिँदै आएको रत्नकाजी बताउँछन्।

सायमी समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको तोरीको तेल बनाउने ठाउँलाई स्थानीय भाषामा साः भन्ने सन्दर्भ यसअघि नै प्रष्ट भइसकेको छ। साः अर्थात तेल पेल्ने कारखानामा तोरीलाई पानीमा भिजाइन्छ।

त्यस लगत्तै सुकाइन्छ। निफनेर सफा गरेको तोरीलाई धुलो बनाएपछि ठूलो टावामा भुटिन्छ। भुटेको तोरीको धुलोलाई निचोरेर तेल निकालिन्छ।

यस विधिको लागि विभिन्न औजारहरू प्रयोग भएको देखिन्छ। त्यसमध्ये पू (तोरीको धुलो राख्ने भाँडो, पहिले राँगाको छालाबाट निर्मित अहिले प्लास्टिकबाट बनेको), हासा (नाङलो, तोरी निफन्नको लागि), सलिंचा (तोरी शुद्धिकरण गर्नको लागि), बोरा, दाला (तोरी वाधुलो राख्ने भाँडो), भाजं (फलामबाट निर्मित ठूलो आकारको टावा), च्वाफि (कुचो, धुलो सफा गर्ने), मुगःचा (तेल पेलिसकेर बनेको कडाबस्तु फुटाउन प्रयोग हुने काठबाट निर्मित औजार), गँ (भुटेको तोरीको धुलो च्याप्ने ठाउँ), खुईं (तोरीको गेडा पन्छाउन प्रयोग हुने औजार) प्रयोग हुँदै आएको छ।

संस्कृति र संस्कारसँग जोडिएको तोरीको तेल

विभिन्न जात्रा–पर्व र जन्मदेखि मृत्यु संस्कारसम्म तोरीको तेल प्रयोग हुने गरेको छ । तिल, बदाम र भटमासको तेलभन्दा तोरीको तेललाई नै जात्रा, पर्व र संस्कारहरूमा विशेष रुपमा प्रयोग गर्ने गरिएको छ।

स्वादिष्ट पकवानमध्ये नेवार खाना छ्वय्ला, कचिला, अचार तथा बारा बनाउन यो तेलको प्रयोग गरिन्छ।

बजारमा धेरै किसिमका तेल उपलब्ध भएपनि यस्ता पकवानमा परम्परागत तरिकाले बनाएको तोरीको तेल नै प्रयोग हुन्छ। तोरीको तेललाई नेवार पकवानमा मात्र सीमित नगरी अन्य थुप्रै किसिमका खाना बनाउन प्रयोग भएको छ।

परम्परागत तेलमध्ये तोरीबाट बनाइएको तेललाई जडिबुटी औषधिमा प्रयोग गरिन्छ। नेवार समुदायभित्र शिशु जन्मिँदा दैनिक रुपमा आमालाई जिउ मसाज गराउनेमा तोरीको तेल प्रयोग हुन्छ। आमासँगै शिशुलाई पनि घाममा राखेर जिउमा मालिस गरिदिँदा शरीरभित्रको रक्त रञ्चार नियमित हुने बताइन्छ।

शिशुको नाक, कान तथा नाभीमा अझ विशेष रुपमा तोरीको तेल लगाइदिएर घाम ताप्न लगाइन्छ। हानिकारक जिवाणु र किराबाट बच्न पनि यसको प्रयोग उचित छ। उपत्यका छेउछाउका जनजातिमध्ये तामाङ समुदायका सुत्केरीले परम्परागत तोरीको तेल थोरथोर गरी पिउने उदाहरण मनग्य भेटिन्छ।

कला, संस्कृति, रितिथिति र संस्कारले भरिएको नेपाली समाजको अर्को महत्वपूर्ण पक्षजात्रा पर्व हो। विक्रम संवत् अनुरुपको माघे संक्रान्तिमा नुहाइधुवाइ सकेर तोरीको तेल लगाउने हाम्रो आफ्नै मौलिक परम्परा छ। यसले पनि पर्वसँगको सम्बन्ध तोरी तेलमा रहेको प्रत्यक्ष रुपमा देखाउँछ।

नेपाल संवत् अनुरुपको गुंपुन्हि अर्थात जनैपुर्णिमा माक्वाँती (नौ किसिमका गेडागुडी राखेर पकाइने पकवान)मा तोरीको तेललाई झानेर खाने चलन छ। परम्परागत तोरीको तेलमा मेथि झानेर पिउँदा जिउभित्र तापक्रम सन्तुलित गराएर रोग प्रतिरोधात्मक शक्तिलाई बढावा दिने विश्वास गरिन्छ।

तोरीको तेलको प्रयोग त्यतिमा मात्र सीमित छैन, मानव जीवनको आस्थाको केन्द्र, मन्दिर, स्तूपा, चैत्य आदिमा दीप प्रज्वलन गर्न समेत प्रयोग हुन्छ। जात्रा पर्वको बखत बालिने चिलाख (मुस्यां) को लागि पनि तोरीको तेल अधिक प्रयोग हुन्छ। इन्द्रजात्राको समयमा काठमाडौंबासीले बौमत परिक्रमा गराउँदादेखि भक्तपुर र थिमिमा आकास बत्ती बाल्नेमा तोरीको तेल नै प्रयोग हुने गरेको छ।

प्रकाशित मिति: १३:०९ बजे, आइतबार, चैत २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्