Kathmandu Press

रास्वपाले तोक्यो डिपी अर्याललाई कार्यवाहक सभापति

यसअघि लामिछाने पक्राउ परेपछि हुने पार्टीको बैठकमा पनि अर्यालले अध्यक्षता गर्दै आएका थिए। 
रास्वपाले तोक्यो डिपी अर्याललाई कार्यवाहक सभापति

काठमाडौं, पुस ८ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापति तोकेको छ। 

सोमबार बसेको पार्टी सचिवालयको भर्चुअल बैठकले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापति तोकेको हो। 

उनलाई सभापति लामिछानेकै सिफारिसमा कार्यवाहक सभापति तोकिएको हो। 

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। 

ज्येष्ठताका हिसाबले स्वर्णिम वाग्ले ज्येष्ठ उपसभापति हुन्। यद्यपि सभापति लामिछानेले अर्यालललाई सिफारिस गरेपछि उनै कार्यवाहक सभापति तोकिएका हुन्। 

यसअघि लामिछाने पक्राउ परेपछि हुने पार्टीको बैठकमा पनि अर्यालले अध्यक्षता गर्दै आएका थिए। 

सभापति लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायत चारवटा कसुरमा मुद्दा दर्ता भइसकेको छ।

मुद्दा दर्ता भएपछि उनको सांसद पदसमेत  निलम्बनमा राख्न कास्की प्रहरीले संघीय संसद सचिवालयमा पत्राचार गरिसकेको छ। यद्यपि सभामुख देवराज घिमिरेले त्यसबारे निर्णय गरिसकेका छैनन्। 

सोमबार रास्वपाका तीन सांसदहरू सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले  सभामुखलाई भेटेर निलम्बन नगर्न अनुरोध गरेका छन्।

उनीहरुले संसदको नियमावलीमा आधार बनाएर रविको सांसद पद निलम्बनमा नपर्ने जिकिर गरेका छन्। 

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, पुस ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्