Kathmandu Press

यस्ता छन् रास्वपाको आकस्मिक बैठकले गरेका तीन निर्णय

न्यायिक प्रक्रियालाई पूर्ण रूपमा सघाउने
यस्ता छन् रास्वपाको आकस्मिक बैठकले गरेका तीन निर्णय

काठमाडौं, पुस ८ : कास्की जिल्ला अदालतमा सभापति रवि लामिछानेविरूद्ध मुद्दा दर्ता भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विभिन्न तीन निर्णय गरेको छ।

सोमबार दिउँसो बसेको आकस्मिक बैठकले सभापति लामिछानेविरूद्ध विभिन्न अभियोग लगाएर सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

ब्रिफिङपश्चात अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय भएको झाले जानकारी दिए। साथै मुद्दामा अदालतबाट न्याय पाउनेमा पनि रास्वपाले पूर्ण विश्वास रहेको प्रवक्ता झाले बताएका छन्।

Hardik ivf

बैठकले उपसभापति डिपी अर्याललाई कार्यबाहक सभापति तोकेको छ। उनलाई सभापति लामिछानेकै सिफारिसमा कार्यवाहक सभापति तोकिएको पनि कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।

रास्वपाको विधानमा ज्येष्ठ वा सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उमेरका हिसाबमा भने स्वर्णिम वाग्ले ज्येष्ठ उपसभापति हुन्। यद्यपि लामिछानेले सिफारिस गरेपछि अर्याललाई कार्यवाहक उपसभापतिको जिम्मेवारी तोकिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।

अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत् केन्द्रीय समितिलाई जानकारी गराइएको पनि कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

बैठकले पार्टीको आगामी केन्द्रीय समितिको बैठक यथाशीघ्र राख्ने गरी तयारी गर्ने निर्णय पनि गरेको छ।

लामिछानेविरूद्ध सहकारी ठगी र संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको पत्र कास्की जिल्ला सरकारी वकिल कार्यालयले पठाएपछि सोमबार संघीय संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरिसकेको छ।

लामिछानेको सांसद पद निलम्बन भएसँगै अब रास्वपाले संसदीय दल नेता पनि तोक्नुपर्नेछ। सांसद हरि ढकाल रास्वपा संसदीय दलका उपनेता छन्। 

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, पुस ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्