Kathmandu Press

अल्ट्रा धावक शाही : लक्ष्य विश्व रेकर्ड, काम चौकीदारी

काठमाडौं : गत माघ १९ गते मेरो फेसबुक वालमा एउटा फोटोसहितको स्टाट्स देखियो । फोटोमा थिए, से

अल्ट्रा धावक शाही : लक्ष्य विश्व रेकर्ड, काम चौकीदारी

काठमाडौं : गत माघ १९ गते मेरो फेसबुक वालमा एउटा फोटोसहितको स्टाट्स देखियो । फोटोमा थिए, सेक्युरिटी गार्डको ड्रेसमा एक युवक।

 फेसबुक पेज ‘ठग अफ लाइफ’ले फोटोसँगै राखेको थियो, ‘बिडम्बना ! उहाँ कुलबहादुर शाही विश्व रेकर्ड कायम गर्ने अल्ट्रा धावक (१२ हजार किमी दूरी २१८ दिनमा पार गरेर) । बाँच्नका लागि उहाँ सेक्युरिटी गार्डको काम गर्छन् । दैनिक १२ घण्टा काम गरेपछि मासिक १२ हजार कमाउनु हुन्छ । उहाँसँग राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय खेलाडीको परिचयपत्र छ, तर शरीरमा सेक्युरिटी गार्डको युनिफर्म।’

यो माथिको स्टाट्स पढेपछि नरमाइलो लाग्यो । विश्व रेकर्ड बनाउँदै देशको नाम उँचो बनाएका एक युवा जीवन चलाउन सुरक्षागार्डको काम गरिरहेका छन् । उनको स्टोरी लेख्ने विचार गरेँ र त्यही पेजमा म्यासेज गरेँ, ‘म काठमाडौंप्रेस डटकमबाट । अल्ट्रा धावक कुलबहादुर शाहीको नम्बर पाउन सकिन्छ होला ?’

Hardik ivf

मैले म्यासेज लेखेको १०–१२ दिनपछि म्यासेजरको घन्टी बज्यो । हेरेँ, तिनै कुलबहादुरको नम्बर आएको रहेछ । नम्बर डायल गरेँ, तर मोबाइल स्वीचअफ रहेछ । एक दुई दिन लगातार फोन गरेँ, तर सम्पर्क हुन सकेन।  

यसबीच उनीबारे इन्टरनेटमा सर्च गरेँ । केही समाचार र भिडियो भेटियो। प्रायः सबै समाचार पढेँ, भिडियो हेरेँ । कुलबहादुरका बारेमा धेरै कुरा थाहा पाएँ । उनले नेपालका ७५ जिल्ला दौडेर पूरा गर्दै विश्व कीर्तिमान बनाएका रहेछन् । त्यसपछि उनलाई भेट्न झन आतुर भएँ। 

लगभग एक सातापछि गत मंगलबार दिउँसो फेरि फोन गरेँ, फोन उठ्यो ।  हामीबीच करिब १ मिनेट कुराकानी भयो । मैले आफ्नो परिचय दिँदै भने, ‘तपाईंको स्टोरी लेख्न मन लागेको थियो, कहिले भेट्न सकिन्छ होला ?’ 

उताबाट उत्तर आयो, ‘हुन्छ, आउनुस् न टुँडिखेलतिर । म त्यतै हुन्छु बिहान १० बजेसम्म ।’ बुधबार १० बजे टुँडिखेलमा भेट्ने कुरा भयो। 

बुधबार करिब सवा १० बजे टुँडिखेल पुग्दा अल्ट्रा धावक कुलबहादुर शाही ‘जगिङ’ गरिरहेका थिए । उनी मतिर फर्कँदै मुसुक्क हाँसे । हामीबीच समान्य परिचय भयो । हामी कुराकानी गर्न टुँडिखेलको एउटा कुनामा गयौं। 

त्यहाँ पुगिनसक्दै उनले दैनिक ५ बजेदेखि ९ बजेसम्म दौडिने र त्यसपछि खुट्टा हल्का गर्न १ घण्टा जगिङ गर्ने गरेको सुनाए। उनको दौडको दैनिकी टुँडिखेलबाट होइन, गोंगबुबाट सुरु हुँदो रहेछ । दौडँदै उनी गोंगबुबाट चक्रपथ, महाराजगञ्ज, लाजिम्पाट, जमल, रातोपुल, गौशाला, मैतिदेवी, पुतलीसडक, सिंहदरबार हुँदै जावलाखेल, सातदोबाटो, कोटेश्वर, थापाथली हुँदै टुँडिखेल आउँछन् । र, टुँडिखेलमा ६०–७० राउन्ड लगाउँछन्।

हप्तामा दुई–तीन दिन उनी रिङरोड परिक्रमा पनि गर्छन् । उनलाई रिङरोडमा परिक्रमाका लागि करिब १ घण्टा २० मिनेट लाग्छ । रिङरोडमा दौडँदा धेरैले उनलाई ‘स्नो लियोपार्ड’ अर्थात् हिमचितुवा भनेर बोलाउँछन् । यो नामले बोलाउँदा खुशी लाग्ने उनले बताए । उनी पनि आफूलाई नेपालको ‘हिमचितुवा’ भनेर चिनाउन चाहन्छन् । 
‘जतिले मलाई अल्ट्राधावक भनेर चिन्नुहुन्छ, उहाँहरुले स्नो लियोपार्ड नै भनेर बोलाउनु हुन्छ,’ उनले खुशी भावमा भने । त्यो नामले बोलाउँदा आफूमा थप उर्जा थपिने उनको भनाई छ।  

विगत ६–७ वर्षदेखि उनकोे बिहानी यसरी नै बितिरहेको छ । जति दौडियो उति खुट्टा हलुका हुने र मन पनि चंगा हुने गरेको उनले सुनाए । ‘केही कारणले कम कुदियो वा कुद्न पाइएन भने शरीर नै भारी हुन्छ, हातखुट्टा दुख्छ । त्यसैले आफू दैडिनकै लागि जन्मिएको हुँ जस्तो लाग्छ,’ आफ्नो अनुभव सुनाउँदै भने। 

बिहानको ‘नित्यकर्म’ सकेपछि पुनः गोंगबु हिँडेरै पुग्छन् । त्यसपछि हातमुख धोएर खाना खान्छन्, एकछिन आराम गर्छन् । त्यसपछि एउटा झोला बोक्छन र जागिरमा निस्कन्छन् । महावीर सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्छन्, उनी। 

भिडियाे

‘सपना एउटा छ, काम अर्को,’ केही निराश शव्दमा उनले भने, ‘जुम्लाको मान्छे, काठमाडौंमा जीवन चलाउनै मुस्किल छ । त्यसैले सक्युरिटीको काम गरिरहनु परेको छ।’ 

तर उनी आफूले गर्दै आएको काममा कुनै ग्लानि नभएको बताउँछन्। उनी भन्छन्, ‘काम सानो ठूलो भन्ने लाग्दैन, सपना पूरा गर्न जे पनि गर्न तयार छु।’ 

विभिन्न प्रतियोगितामा भाग लिन समय नमिल्ने भएकाले सुरक्षागार्डमा पनि ‘पार्टटाइम’ काम गर्छन् उनी । ‘दैनिक १२ घण्टा गेटमा उभिएर अन्य धावकसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । साथीहरु विदा बसेका बेला उनीहरुको ठाउँमा काम गरिरहेको छु,’ उनी भन्छन्, ‘मासिक १२–१५ हजार जति हुन्छ, त्यसैले जीवन चलाइरहेको छु।’

२१८ दिनमा ७५ जिल्ला दौडेर विश्वकीर्तिमान बनाएका कुलबहादुरले अन्नपूर्ण म्याराथुन, काठमाडौं म्याराथुन लगायत थुप्रै प्रतियोगितामा भाग लिइसकेका छन् । उनी अन्नपूर्ण म्याराथनमा तेस्रो स्थानसम्म आएका थिए । ‘यस्तो काम गरेर त्यो नतिजा ल्याउनू एकदमै गाह्रो हुन्छ,’ उनले निराशा पोखे।

दौडेर देशलाई चिनाउन लागि परेका कुलबहादुर सरकार र खेलकुद परिषद्को सहयोग नपाउँदा आफू यसरी सामान्य काममा अल्झनु परेकोमा दुःखी छन् । ‘सम्बन्धित पक्षले सहयोग गर्ने र उचित ट्रेनिङको अवसर दिने हो भने देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउन सक्छु,’ आत्मविश्वास पोख्दै भन्छन्।

फागुनको पनि तेस्रो साता भएर होला घाम चर्किरहेको थियो । गर्मीको महशुस भइरहेको थियो । उनको अनुहारमा पनि हल्का पसिना देखियो । उनले हातले अनुहार पुछ्दै भने, ‘दौडेरै पुनः नयाँ रेकर्ड बनाउने तयारी गरिरहेको छु।’ 

कस्तो रेकर्ड मैले प्रश्न गरेँ । ‘यही टुँडिखेलमै १९८ घण्टा दौडने सोचिरहेको छु’, उनले जवाफ दिए, ‘मसँगै खेलाडी विद्यार्थी, नेता, व्यवसायी, कर्मचारीलाई दौडाउने सोच छ । हेरौं के हुन्छ ।’ यति भनिनसक्दै रोकिए उनी । उनको स्वर मलिन भयो, अनुहारको चमक हराउँदै गएको जस्तो देखियो।

कुलबहादुरसँग विश्वकीर्तिमान रच्ने दृढ इच्छाशक्ति र योजना पनि छ, तर त्यो योजनालाई पूरा गर्न रकम भने छैन । ‘दौडेरै विश्वकीर्तिमान राख्ने योजना छ, यसका लागि रकम कसरी जुटाउने सोच्नै सकिरहेको छैन,’ उनी निराश देखिए । ‘दुई छाकका लागि काठमाडौंमा संघर्ष गरिरहेको छु । दैनिक ५–६ घण्टा दौडन्छु, दैडिसकेपछि डाइट खाने पैसा नै हुँदैन । तर पनि हिम्मत हारेको छैन ।’ उनी गोंगबुमा बस्छन् । त्यहाँ उनलाई मार्सल आर्ट्स संघले गाँस र बासको व्यवस्था गरिदिएको छ। 

२०६९ सालदेखि कुलबहादुर काठमाडौंमै बसिरहेका छन्, तर उनले अहिलेसम्म गाडी चढेका छैनन् । उनी भन्छन्, ‘हिँड्दा मज्जा लाग्छ, त्यसैले जहाँ जाँदा पनि हिँडेरै पुग्छु ।’

२१८ दिनको त्यो दौड

जुम्ला बुहुमुखी क्याम्पसमा बिएड तेस्रो वर्ष अध्ययन गरिरहेका बेला कुलबहादुर शाहीलाई कसैले नगरेको नयाँ काम गर्ने सोच पलायो । उनलाई दौडमा रुचि थियो । गाउँघर, जिल्लामा हुने थुप्रै दौड प्रतियोगिता भाग पनि लिएका थिए । उनले दौडेरै नयाँ कीर्तिमान बनाउँछु भन्ने सोचे।

उनले विश्वसाइकल यात्री पुस्कर शाहको नाम सुनेका थिए । उनले साइकलबाटै विश्व घुमेर रेकर्ड राखेको पनि कुलबहादुरलाई थाहा थियो । ‘पुस्करले साइकलमा विश्व घुमे, म देश दौडेर घुम्ने घुम्छु’ उनले ७५वटै जिल्ला दौडेर पुग्ने निधो गरे । र, २०६८ पुस २५ जुम्लाबाटै सुरु गरे आफ्नो ‘देश दौड’को अभियान। 

उनले दौड सुरु गर्दा देशमा अशान्ति थियो, राजनीतिक अस्थिरता थियो, नेताहरू बीच मेलमिलाप थिएन । नेपालमा शान्ति होस् भनेर आफूले ‘शान्तिका लागि दौड’ सुरु गरेको बताए। 

जुम्लाबाट दौड सुरु गरेका कुलबहादुरले वि.सं. २०६९ साउन २१ गते काठमाडौंको बबरमहालमा ‘देश दौड’ अन्त्य गरे । यो दौड सुरु गर्दा उनीसँग साथमा बुबाको साथ र इच्छा शक्ति मात्र थियो । १८ वटा जौ र कोदोको रोटी, १ प्याकेट चाउचाउ र १५सय रुपैयाँ बोकेर दौड सुरु गरेका उनले उनले २१८ दिनमा दौड सकाए र विश्वकीर्तिमान बनाए। 

अहिलेजस्तै त्यतिखेर पनि उनले सहयोग पाएनन् । ७५ जिल्लाको दौडमा सहयोग गर्न धेरै ठाउँमा धाए उनी । तर, कसैले उनलाई पत्याएनन् । ‘यसले दौडिन्छु त भन्यो, यो मुटु फुटेरै मर्छ । यस्तो नसक्ने काममा किन हात हाल्छस्’ त्यतिखेर गाउँलेले भनेको सम्झिए उनले ‘कतिले त यसले पैसा उठाए खान्छ, यसलाई किन दिनेसम्म पनि भने।’

यसबीच उनले थुप्रै दुःख भोगे । केही सुखद् क्षण पनि संगाले । ‘दौड सुरु गर्दा एकदमै चिसो थियो । त्यसमाथि मनाङ सधैं चिसो हुने ठाउँ । ठ्याक्कै मिति त बिर्सिएँ। पुसको अन्तिमतिर होला । मुस्ताङबाट मनाङको तल्लोफेदी पुग्दा चिसोले आँखा पुरै टालियो,’ उनले त्यो दिन सम्झिए, ‘त्यसपछि हिँड्नै सकिनँ । संयोगले ट्रेकिङ गाइड भेटेँ । उनले मत तातो पानीमा भिजेको रुवाले आँखा सफा गरिदिए । फलफुल खान दिए । मलाई बाँच्न लेखेको रहेछ र उनीसँग भेट भयो।’ 

प्रायः सबै जिल्लाका सिडिओहरुले आफूलाई सहयोग गरेको बताए । धेरै ठाउँमा पत्रकार सम्मेलन नै गरेर सम्मान गरेको पनि उनले सम्झिए । त्यतिखेरचाहिँ राम्रै काम गरेको रहेछु भन्ने लागेको उनले बताए। 

यो यात्रामा कुलबहादुरले दिनमा लभगग ६८ किलोमिटर दौडिए । उनले आफूले १२ हजार किलोमिटर भन्दा बढी दौडिएको बताए। 

नेताहरुको आश्वसन नै आश्वासन

बबरमहलमा कार्यक्रम गरेर कुलबहादुरले ‘शान्तिका लागि दौड’को अन्त्य गरे । त्यो कार्यक्रममा तत्कालिन युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठ, कांग्रेस नेता अर्नुज नरसिहं केसीलगायत उपस्थित थिए । सबैले उनको तारिफ गरे, सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । मन्त्री श्रेष्ठले मञ्चबाटै ‘मन्त्रालय आउनुस्, तपाईंलाई सक्दो सहयोग गर्छौं’ भने।

‘दुई हप्ता जति सिंहदरबार धाएँ । तर, आश्वासन मात्रै रहेछ, कतैबाट सहयोग पाइएन,’ उनले दुखेसो पोखे, ‘हातमुख जोड्न मुस्किल भयो, त्यसपछि सेक्युरिटी गार्डमा भर्ती भएँ।’

त्यतिवेलाका प्रधानमन्त्री बाबुराम भट्टराईले पनि गाउँमै पुगेका वेला सहयोगको आश्वासन दिएको तर, त्यो पनि आश्वासनमा मात्रै सीमित भएको उनले बताए । यी त केही उदाहरण मात्र हुन्, यस्ता आश्वासन उनले थुप्रै पाए, त्यो आश्वसनमा मात्रै सीमित छ। 

कुलबहादुर आफू र आफूसँगै प्रतिभावान खेलाडीहरुलाई सरकारले खेल्ने वातावरण बनाइदियोस् भन्ने चाहन्छन् । उनले भने, ‘मेरो ठूलो चाहना छैन, ढुक्कसँग दौडन पाए हुन्थ्यो । मलाई यो सेक्युरिटी गार्डको काम गर्नु छैन, खेलाडी भएर खेल्ने वातावरण बनाइदिनुस् । यति भयो भने देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउन सक्छु भन्ने लाग्छ।’

अहिले उनी सेक्युरिटी गार्डको कामसँगै अन्नपूर्ण म्याराथनको तयारी गरिहेका छन् । अब उनले खाली पेट होइन, ढुक्कसँग दौडने वातावरण पाऊन् । 
‘स्नो लियोपार्ड’लाई शुभकामना।’ 
 

प्रकाशित मिति: ०९:४६ बजे, शनिबार, चैत १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्