‘सडकमा पनि बस्न पाइएन’
काठमाडौं, माघ १९ : माघको ठिहिराउँदो जाडो। बिहानको ८ बजेको थियो। काठमाडौंको रानीवारी चोकमा एक दृष्टिव
काठमाडौं, माघ १९ : माघको ठिहिराउँदो जाडो। बिहानको ८ बजेको थियो। काठमाडौंको रानीवारी चोकमा एक दृष्टिविहीन दम्पतिले म्यूजिक सिस्टमसहित ट्रयाकमा माइकबाट गीत गाइरहेका थिए।
काठमाडौंलगायत मुख्य शहरहरुका कतिपय बाहिरी र भित्री चोकहरुमा यसरी दृष्टिविहीन गीत गाउँदै सहयोग उठाएर बिहान–बेलुकाको छाक टार्न बाध्य छन्। विभिन्न चोकमा गीत गाएर सहयोग संकलन गर्ने ती दम्पतिसँग कसैले प्रश्न गर्दा उनीहरू पीडा महसुस गर्छन्।
नुवाकोटका रामबहादुर श्रेष्ठ र पवित्रा दंगालले सडकमै गीत गाएर जीविका चलाउँदै आएका छन्। दृष्टिविहीन भएपछि गुजाराकै लागि सहयोग उठाउनुपरेको उनीहरुको भनाइ छ। ‘मेरो एक छोरीको विवाह भइसकेको छ, ७ वर्षको छोरालाई पाल्न म यो माघको चिसोमा सडकमा निस्कनु परेको छ,’ उनले भने।
सडकमा माग्न बस्दा कोही मनकारी पक्कै छन्, तर कतिले दुर्व्यवहार समेत गर्ने गरेको उनको गुनासो छ। ‘कसैले माग्न बसेको मगन्ते भन्ने, कसैले अरु केही गर्न सक्दैनौं भनेर होच्याउँदा साह्रै दुःख लाग्छ,’ रामबहादुरले सुनाए।
दुई छोरी र श्रीमतीका साथ धनकुटामा बस्दै आएका दृष्टिविहीन उत्तर आलेको पनि पीडा उस्तै छ। रोजगारी नपाएपछि उनी धनकुटा, धरानदेखि दार्जलिङसम्म गीत गाउँदै सहयोग जुटाउँदै गर्छन्। ‘सरकारले दिएको भत्ताले नुन, तेल किन्न पनि पुग्दैन। परिवारको खर्च कसरी धान्ने?,’ आलेको गुनासो छ, ‘त्यसैले यसरी सडकमा सहयोग उठाउन बाध्य छौं।’
सडकमा सहयोग उठाउन सरकारले निषेध गरेको उनीहरूलाई जानकारी छ। त्यही बहानामा कहिले प्रहरीले, कहिले टोलका टाठाबाठाले सताउँछन्। ‘सडकमा पनि बस्न पाइएनँ,’ उनले दुःखेसो गरे।
सडकमा दिनभर गीत गाउँदा कहिलेकाँही दैनिक खर्च पनि नपुग्ने र कहिलेकाँही एकजनाले दुई–तीन हजारसम्म कमाइ हुन्छ। ‘आफ्नो जीवन धान्न र परिवारको खर्च टार्न बिहानदेखि दिनभर सडकको धुलो, धुँवा, कोलाहल र ठेलमठेलमा स्वर सुक्ने गरी गीत गाउँदा दया-माया होइन, घृणा गर्नेहरु नै बढी भेटिन्छन्,’ आलेको अनुभव छ।
नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेल सडकमा बसेर गीत गाउँदा दैनिकी चलाउन सहज हुने भएकाले केही दृष्टिविहीन सडकमा बसेर गीत गाउने गरेको बताउँछन्। ‘नेत्रहीन संघले पनि यसरी सडकमा गाउनेलाई केही सीप दिउँ भन्ने उद्देश्यले संगीतसम्बन्धी तालिमहरु नै सञ्चालन गरेको थियो। केहीले तालिम पश्चात आफैँले अफिस खोले, केही स्कूलमा संगीत सिकाउने शिक्षकमा गए, केही दोहोरी साझँमा गीत गाउन थाले, तर केहिले भने सडक नै रोजे,’ पोखरेलले भने। यसरी सडकमा बसेर सहयोग उठाउनु वा माग्नु उनीहरुको रहर नभई बाध्यता भएको पनि पोखरेलको भनाइ छ।
संघले उनीहरुको हकहित र समस्याका लागि महानगर र सरकारसँग पटक–पटक विभिन्न ऐनहरु बनाएर तलब भत्ता दिने सहमति गरेको भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा दृष्टिविहीनहरु सडकमा बस्न बाध्य भएको उनको भनाइ छ। ‘आफ्नो घर चलाउने खर्च भइदिएर र बिहान बेलुका सजिलै छाक टार्न सक्नेहरु कोही पनि सडकमा जाँदैनन्,’ अध्यक्ष पोखरेलले भने, ‘राज्यले सडकमा गीत गाएर सहयोग उठाउन नदिने मात्र होइन्, उनीहरुका लागि उचित व्यवस्थापन गर्नु पनि जरुरी छ।’
सडकबाटै शिक्षक
सडकमा यस्तै गीत गाएर दैनिकी गुजार्दै आएका प्रेम लिम्बुको कथा भने बेग्लै छ। संघले सञ्चालन गरेको संगीत र गायनको तीन वर्षे तालिम लिएका लिम्बु भने अहिले राम्रै कमाउँछन्।
संघमै तालिम लिएका उनले त्यही जागिरे भएर संगीत सिकाइरहेका छन्। विस्तारै उनलाई रेस्टुरेन्ट र गैरसरकारी संस्थामा पनि गायन र संगीत पढाउन माग हुन थाल्यो। अहिले उनी महिनाको करिब ४० देखि ५० हजारसम्म सडकबाट शिक्षक बनेर कमाइरहेका छन्।
लिम्बुले नै संगीत सिकाएका कतिपय दृष्टिविहीनहरु पनि सडकमा गीत गाउने गरेका छन्। लिम्बुका अनुसार कतिपय बाध्यताले पनि गएका छन् भने कोही रहर र कमाई राम्रो हुने भएकाले सडकमा गएका छन्। रेस्टुरेन्टमा गाउन सक्नेहरु र अन्य पेशामा आबद्ध हुन सक्नेहरु पनि पैसा बढी कमाइ हुने लोभले सडक छोड्दैनन्।
काठमाडौंको कीर्तिपुरमा रहेको ल्याबरेटरी स्कुलमा संगीत विषयको अध्यापनसमेत गराउने दृष्टिविहीन शिक्षक रमेश सुवेदीलाई पनि नेपाल नेत्रहीन संघले ठूलो सहयोग गरेको छ। उनी पहिला नेत्रहीन संघले नै सञ्चालन गरेको तालिममा प्रशिक्षकको रुपमा काम गरे।
त्यसपछि उनी शिक्षण पेशामा लागेका हुन्। हाल उनी शिक्षणसँगै बेलुकाको समयमा लाजिम्पाटमा रहेको रेसुङ्गा दोहोरी साँझमा समेत गीत गाउने गर्छन्। उनी भन्छन्, ‘जागिर कसैले पनि ला भनेर दिने चिज होइन, आफैँले पनि केही गर्न सकिन्छ। समयलाई पर्खन र चिन्न सक्नुपर्छ यति गर्न सकियो भने हात फैलाएर सडकमा गीत गाएर माग्नुपर्ने अवस्था आउँदैन।’