Kathmandu Press

फोहोर सामग्रीबाटै सुन्दर कलाकृति

काठमाडाैं, म‌ंसिर ३ : ठमेलको ‘दलाई–ला बुटिक’ होटलको अग्रभागका दलिनमा सुन्दर क

फोहोर सामग्रीबाटै सुन्दर कलाकृति
रिवाज राई

काठमाडाैं, म‌ंसिर ३ : ठमेलको ‘दलाई–ला बुटिक’ होटलको अग्रभागका दलिनमा सुन्दर काष्ठकला झल्किने आकृति छन्। ति फोहोर प्लास्टिकबाट बनाएका हुन्।

फोहोर प्लास्टिककै सुन्दर आँखिझ्याल र ढोका पनि तयार हुन्छ। काष्ठकलाझैं देखिने हात्तीको खुट्टाको रङ्ग र आकारमा बनेको मुढा देख्नु भयो भने अलमलमा नपर्नु होला, ति पनि फोहोर प्लास्टिकै हुन्। यि सबै बनाएका कलाकार विजय महर्जन भन्छन्, ‘फोहोर प्लास्टिकबाटै सुन्दर मूर्ति पनि बन्छन्।’

यसमा विश्वास लागेन भने पर्खनुस्, काठमाडौंको लाजिम्पाटस्थित उनको रोयल ग्यालरी अवलोकन गराउँदै छौं। जहाँ फोहोर सामानबाट नयाँ मूर्ति र आकृतिहरु तयार हुन्छन्।

Hardik ivf

उनको कार्यशालामा फोहोर प्लास्टिकबाट बनेका मुढा छन्।  हात्तीको खुट्टाको रङ्ग र आकारमा बनेको मुढामा बस्दा ग्राहक पनि रमाउछन्। त्यहि छेउछाउ तीनवटा गमला छन्। पत्याउनै गाह्रो लाग्ने, ति पनि फोहोर प्लास्टिकबाटै बनेका हुन्।

गमला।

एउटा गमला गर्भवती महिलाको आकारमा उभिएको छ। अर्को गमला हातमा चुरोट सल्कारहेको संकत देखिन्छ। तेस्रो गमलाको हातमा मन्दिर छ। ‘विचार र इच्छाले मान्छेलाई सक्षम बनाउँछ,’ फोहोर सामानबाटै सुन्दर कलाकृति बनाउन थालेका ६ वर्ष भएको सुनाउँदै उनी भन्छन, ‘अब फोहोरको खेती गरौं। फोहोर बेचेरै देश धनी बनाउन सकिन्छ।’

सानोमा कागजको मुर्ति बनाउँदा उनी केमिकल प्रयोग गर्दैन्थे। अहिले केमिकल प्रयोग गरेर प्लास्टिकलाई आर्टिस्टिक ढाँचा ल्याउन सकिने सिर्जना गरिरहेका छन्, विजय। सुरुआतमा उनले बाहिरबाट ढुंगा देखिने तर भित्र प्लास्टिजन्य वस्तु राखेर सामान तयार पारे। त्यसलाई एक जना विदेशीले मन पराएपछि उनी प्रफुल्ति भए। र, उनलाई फोहोर सामानबाट मूर्ति र आकृति बनाउने आत्मबल थपियो।

फोहोर प्लास्टिकबाटै डुङ्गा पनि बनाउन सकिने उनी बताउँछन्। यसरी बनाइएको डुङ्गा पानीले नखाने भएकाले धेरै वर्षसम्म टिक्ने उनको विश्वास छ।
विजयले फोहोर प्लास्टिकबाटै ट्वाइलेट प्यान पनि बनाएका छन्। जसमा दिसा, पिसाब र फोहोर पानी अलग ठाउँ भएर बाहिर निष्काशन हुन्छ। ‘यसको परीक्षण पनि सफल भएको छ। अब ५० थान ग्रामीण भेगको शौचालयमा प्रयोग गर्ने तयारीमा छौं,’ उनले भने।

फाेहाेर सामानबाटै बनाएका गमला।

यस प्यानबाट मलमुत्र छुट्टिने भएकाले दिसालाई मलको रुपमा पनि प्रयोग सकिने उनी बताउँछन् । हलुका भएकाले जुनसुकै ठाउँमा सजिलै लैजान सकिने उनको तर्क छ।

उनले सोलुखुम्बुको नाम्चे बजारका केही स्थानीय वासिन्दालाई फोहोर प्लास्टिकबाट मूर्ति तथा आकृति बनाउन प्रशिक्षण दिइरहेका छन्। जहाँ उनीहरुले फोहोर प्लास्टिकबाट स्थानीय कला, संस्कृति झल्किने सामग्री बनाउन सक्नेछन्। ‘एक त फोहोरको प्रयोग हुन्छ, अर्कोतिर उनीहरु सामान बिक्री गरेर आयआर्जन गर्नसक्छन्,’ विजय भन्छन्।

नाम्चे क्षेत्रमा फोहोर प्लास्टिकबाट कलाकृति बनाउन सिकाउनुको अर्को उद्देश्य छ, हिमाली क्षेत्रलाई सफासुग्घर राख्न सघाउने। ‘हिमाल क्षेत्रमा आरोहण तथा ट्रेकिङमा जाने विदेशीले बोकेको सामानले काठमाडौंदेखि हिमश्रृंखलासम्म यात्रा गरेको हुन्छ, त्यही थुपारिन्छ,’ उनी भन्छन्, ‘उनीहरूले फालेको फोहोर प्लास्टिकलाई नै कलाकृति बनाएर उनीसँगै बेच्न सकिन्छ।’ यसमा चाउचाउ, विस्कुटका खोलसमेत प्रयोग आउने उनी बताउँछन्।

फाेहाेर प्लास्टिकबाट बनाएका ट्वाइलेट प्यान।

उनले फोहोरबाटै मूर्ति बनाउन थालेको ६ वर्ष भयो। त्यस अघि पनि उनी कलाकारितामै तल्लिन थिए। उसो त उनी सानैदेखि चित्र कोर्न, मूर्ति बनाउन एकदम रुचि राख्थे।

कक्षा ३ मा पढ्दादेखि नै उनी कलातिर आकर्षित थिए। साथीभाइलाई चुट्किला सुनाउथे। कक्षामा शिक्षक, शिक्षिकाले पढाउँदा विजय उनीहरुकै चित्र कापीमा कोरिभ्याउथे। ‘पढाइमा पनि राम्रै थिएँ’ उनी स्कुले दिने सम्झिन्छन्।

उनको दिमागै एकदम छिटो चल्थ्यो। धेरै काल्पनिक कुरा गर्थे। उनलाई त्यहि सानैदेखिको कल्पनाशिलताले अहिले कलाकारितामा नयाँ नयाँ प्रयोग गर्ने जागर चल्छ। योजनाहरु बन्ने गरेका छन्। धेरैजसो समय मूर्ति बनाउन तल्लिन रहने उनी भन्छन्, ‘म चाँहि भगवानको मूर्ति बनाउन नै जन्मेको हुँ जस्तो लाग्छ।’

उनले पहिलो पटक १३ वर्षको उमेरमा फोहोर कागजबाट मूर्ति बनाएका थिए। त्यो मूर्ति साथीको जन्मदिनमा उपहार दिएको उनी बताउँछन्। ‘साथी पनि खुशी भएको थियो,’ उनी भन्छन्।

त्यसयता उनलाई फोहोर सामानबाटै केही नयाँ गर्ने जुक्ति निस्किँदै आयो। अहिले लाजिम्पाटको रोयल ग्यालरीमा त्यसकै अभ्यास गरिरहेका हुन्छन्। प्रायः उनी पञ्जधातुबाट मूर्ति बनाउँछन्। उनको ग्यालरी मूर्तिनै मूर्तिले भरिएको छ। जहाँ उनी थप मूर्ति सिंगार्दै आएका हुन्छन्। उनी हसिमजाक गर्दै भन्छन्, ‘भगवानको मुर्ति बनाएर होला, दुःख भोग्नु परेको छैन। खुशी नै छु।’

हालै उनको दिमागमा नयाँ योजना फुरेको छ। उनले विष्णुमती खोलामा भएका रैथाने भ्यागुता लोप हुँदै गएको देखे। त्यसपछि उनलाई लाग्यो, भ्यागुता कसरी बनाउन सकिएला? उनीसँग त कला छ, जहाँ पनि कलाकृतिले ठाउँ ओगट्छ। उनको दिमागमा फ्याट्ट आयो, ‘फोहोर प्लास्टिकका ग्यागुता बनाएर खोला किनारमा राख्न पाए हुन्थ्यो।’ अहिले उनी रैथाने ग्यागुताजस्तै फोहोर प्लास्टिकबाट भ्यागुता बनाउँदैछन्। ति भ्यागुता बिष्णुमतीको किनारमा राख्ने योजनामा छन्।

उनी अर्को काम पनि गरिरहेका छन, प्लास्टिकको कार। भोक्सवागन कारको आकारमा फोहोर प्लास्टिकको कार बनाउन लागेको हुन्। ‘अब नेपालमा थोक्रो बनेर बसेका गाडीलाई नयाँ फर्ममा पुनः प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्।

फाेहाेर सामानबाटै बनाएकाे अस्ट्रे।

उनी यसरी फोहोर सामानबाट बनाइने मूर्ति तथा आकृतिलाई ‘न्यू क्रिएसन’ भन्न रुचाउँछन्। यसले फोहोरको समस्याबाट पनि छुट्कारा मिल्ने उनको तर्क छ। उनी यसका लागि ठूलठूला मात्रै होइन, स–साना सामान पनि बनाउन सकिने बताउँछन्। जस्तो, अस्ट्रे। चुरोट खाएर निभाउन उनले फोहोर सामानबाटै अस्ट्रे बनाएका छन्। जसको भित्रिभागमा मास र मुगीको दाना टम्म मिलाएका छन्। देख्दा सिसाझैं टल्किने यो फाइबर ग्लास र केमिकलको मिश्रणले बनाएको उनी बताउँछन्।

उनी अर्को ड्रिम प्राजेक्टमा छन्, नदी तथा खोलामा ढुंगा राख्ने। यि ढुंगा फोहोरबाटै बनाइनेछन्। खोला वा नदीको फोहोरको मात्रा हेरेर कृतिम ढुंगा बनाएर राखिनेछ। खोलाका ढुंगाजस्तै हुने त्यसको भित्रपट्टी भने खाली हुनेछ। जहाँ बग्दै आएको फोहोर अड्किने उनी बताउँछन्। ‘त्यो भरिएपछि छोप्नुपर्छ, त्यही ढुंगा बनेर रहिरहन्छ,’ विजय भन्छन्।

विजय महर्जन

यसका लागि उनले विभिन्न संघसंस्था र सरकारसँग सहयोगका लागि आग्रह गरेका छन्। ‘सरकारले सघायो भने यो योजना देशव्यापी रुपमा लागू गर्नेछौं,’ विजय भन्छन्, ‘फोहोर पनि संकलन हुनेछ, नदी पनि सफा हुनेछन्।’

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, मंसिर ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्