Kathmandu Press

सेलिब्रिटी नेताको सिंहदरबार परीक्षा

काठमाडाैं, साउन १५ : दुःखद् संयोग ! ठीक पाँच महिनाअघि तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी स

सेलिब्रिटी नेताको सिंहदरबार परीक्षा

काठमाडाैं, साउन १५ : दुःखद् संयोग ! ठीक पाँच महिनाअघि तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शन गरेर फर्किदा दुर्घटनाग्रस्त भयो।

त्यो दुःखद् घटना फागुन १५ गतेको थियो। त्यसको ठीक पाँच महिना पुगेकै दिन साउन १५ गते पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त भए। उनी रविन्द्रको देहावसान भएको ठाउँ ताप्लेजुङबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

स्व. रविन्द्र र योगेश राजनीतिका सहकर्मी थिए। रविन्द्रभन्दा योगेश करिब तीन वर्ष ‘दाइ’ थिए। दुवैले सँगै विद्यार्थी राजनीति गरे। अनेरास्ववियुको केन्द्रीय कमिटीमा एकैसाथ बसे। दुवैलाई वामदेव गौतमनिकटको आरोपमा ०५३ सालमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले एकसाथ हटाएका थिए। हटाउँदा योगेश अखिलको अध्यक्ष र रविन्द्र सचिव थिए। 

Hardik ivf

आफूसँगै भावना जोडिएको साथी पदमै छँदा दिवंगत भएको उक्त मन्त्रालय सम्हाल्ने प्रस्ताव योगेशले सुरुमा स्वीकारेनन् तर समय क्रममा प्रधानमन्त्री केपी ओलीले योगेशलाई त्यही मन्त्रालय मन्त्री बनाए। शायद्, पदबहालीको बेला भट्टराई भावुक हुनेछन्। 

दोस्रो पुस्ताका ‘सेलिब्रिटी’

नेकपाका दोस्रो पुस्ताका चर्चित नेता हुन्– योगेश भट्टराई। २०२३ भदौ २१ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा जन्मेका हुन्। उनी दुई वर्ष पुग्दा नपुग्दै पिता भीमलालको निधन भयो। एकल आमा महेन्द्रादेवीले हुर्काएका सन्तान हुन्। उनी परिवारका कान्छा छोरा हुन्। 

गाउँकै नारायणी निम्न माध्यमिक विद्यालयमा कक्षा ७ सम्म पढेका योगेश हाइस्कुल पढ्न मादी गए। ०३७ सालमा कक्षा ८ पढ्न पैदल दुई दिनको दूरीमा पर्ने मादी गएका थिए।

०३७ सालको जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाले जितेपछि पञ्चहरू झन् उत्साहित भएका थिए तर २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले शैक्षिक संस्थामा हड्ताल आह्वान गर्‍यो। नेकपा मालेको प्रभाव रहेको पूर्वी पहाडका विद्यालय पनि त्यसबाट प्रभावित भए। योगेश त्यसै आन्दोलनदेखि अनेरास्ववियूमा लागे।  

ताप्लेजुङबाट ०३९ सालमा एसएलसी पास गरेका उनी ०४० सालमा क्याम्पस पढ्न राजधानी छिरे। ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस भर्ना भए। १८ वर्षको उमेरमै उनी पहिलोचोटी जेल परे– विषाक्त दूधका विरुद्धको आन्दोलनमा। काठमाडौंको केन्द्रीय कारागारमा थुनिए। 

महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा २०४१ सालमा उपसभापति चुनिए। त्यसको दुई वर्षपछि २०४३ सालमा सभापति जिते। स्ववियु सभापति भएपछि उनी विद्यार्थी नेताका रूपमा देखिन थाले। 

पञ्चायतविरोधी आन्दोलनका क्रममा जेल परे। जेलमै झापा आन्दोलनका राजबन्दीहरू वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा मालेका संस्थापक राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीलगायतसँग परिचय भयो। जेलबाट छुटेपछि उनी अनेरास्ववियूको नेता बने।

विद्यार्थी आन्दोलनका नेता 

०४६ सालको जनआन्दोलनअघि योगेश त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, कीर्तिपुरको होस्टल बस्थे। अनेरास्ववियू (एकताको पाँचौँ) का केन्द्रीय सदस्य थिए।

क्याम्पसमा नेविसंघ र अखिलको समन्वय समिति थियो। योगेश त्यसका सदस्य थिए। ‘आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ति पञ्चायतको अन्त्य’ भन्ने नारा थियो उनीहरूको। 

पञ्चायती व्यवस्थाविरुद्ध २०४६ साल फागुन ७ गतेदेखि कांग्रेस र वाममोर्चाको संयुक्त जनआन्दोलन सुरु भयो। त्यसको एक दिनअघि फागुन ६ गते राती २ बजे उनी पक्राउ परे। एकैपटक पञ्चायतको अन्त्य र बहुदलीय प्रजातन्त्र घोषणापछि २६ गते राति नै उनी सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित जेलबाट छुटे।

अनेरास्ववियूको केन्द्रीय कमिटीमा ०४६ सालदेखि काम गरेका योगेश  विद्यार्थी सङ्गठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ मा अध्यक्ष चुनिए, पाँच वर्षका लागि।

तर, पार्टीको गुटबन्दीसँगै अनेरास्ववियूमा तीव्र गुटबन्दी भयो। तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले हस्तक्षेप गरी अनेरास्ववियु अध्यक्षबाट भट्टराईलाई हटाए। उनीसँगै महासचिव भानुभक्त ढकाल, नेताहरू हिक्मत कार्की र रविन्द्र अधिकारीलाई अखिलको नेतृत्वबाट झिकिएको थियो। 

नेपालले वामदेवनिकट नेताहरू योगेश र अधिकारीलाई हटाएका थिए भने केपी ओलीनिकट ढकाल र कार्कीलाई हटाएका थिए। अनि अरुण नेपाललाई सम्मेलन आयोजक समितिको संयोजकको जिम्मा दिए। ०५४ सालमै माओवादी आन्दोलनलाई कसरी मूलधारमा ल्याउन सकिन्छ भनी अध्ययन गर्न सरकारले गठन गरेको वामदेव गौतम समितिमा उनी सदस्य थिए। 

यो पनि: पर्यटनमन्त्री भट्टराईले भने,‘रवीन्द्रको उत्तराधिकारी भएर आएको छु, उनको सपना पूरा गर्छु’

वामदेव गौतमको नेतृत्वमा ०५४ साल फागुन २१ गते एमाले विधिवत फुट्यो। योगेश मालेमा लागे। योगेश त्यसअघि गौतम गृहमन्त्री हुँदा नै उनका सल्लाहकार भइसकेका थिए। 

चुनाव लडेर पार्टीमा छलाङ 

वामदेव गौतमसँगै ०५८ सालका एमाले फर्किए। उनी ०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रको शाही कदमविरुद्ध नेकपाका सबैभन्दा सक्रिय युवानेतामध्ये हुन्। पार्टीप्रमुख तत्कालीन महासचिव माधवकुमार नेपालसहित सिङ्गै नेतृत्वलाई थुनियो, केही भूमिगत भए। 

पार्टी संकटमा पर्‍यो। सरकारले टेलिफोन र मोबाइल फोन पनि बन्द गरिदिएको थियो। नेतृत्वमा चरम निराशा थियो। त्यसबेला उनले कतिपय मिडियाका गाडी समेत प्रयोग गरी २४ जना केन्द्रीय नेतालाई एक ठाउँमा जुटाए। अनि भूमिगत बैठक आयोजना गरे र झलनाथ खनाललाई कार्यबाहक महासचिव बनाए। यसमा मुख्य भूमिका योगेश भट्टराईको थियो।

०६४ र ०७० सालका दुबै संविधानसभा निर्वाचन काठमाडौंबाट लडेका थिए– योगेश। दुवैपटक पराजित भए। दुवै पटक एमालेभित्र घनश्याम भुसाल र योगेश भट्टराई त्यस्ता उम्मेद्वार थिए, जसको उम्मेद्वारी दर्ता गर्ने दिनसम्म पनि टिकट अनिश्चित हुन्थ्यो। पार्टीभित्र विरोधका बाबजुद अन्तिममा निराश मूडमा मनोनयन गर्न जाने उम्मेद्वार हुन्थे। अनि हार्थे वा पार्टीकै एउटा पक्षको असहयोगले हराइन्थे। 

बुटवलमा ०६५ फागुनमा भएको एमालेको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए। त्यसबेला झलनाथ खनाललाई पार्टी अध्यक्ष बनाउन वामदेव गौतमसँगै उनी पनि लागिपरेका थिए।

०७१ साल असार अन्तिम साता काठमाडौंमा एमालेको नवौँ महाधिवेशन भयो। केपी ओली र माधव नेपाल दुई गुट प्यानल नै बनाएर महाधिवेशनमा उत्रिए। नेपाल पक्षको मुख्य ‘क्याम्पेनर’ बनेर घनश्याम भुसाल र योगेश भट्टराई उत्रिए। वामदेव गौतम केपी ओली पक्षमा लागे तर भुसाल, भट्टराईले गौतमलाई छाडे। माधव नेपालको प्यानलमा लागे। भुसालको विचार पार्टीको आधिकारिक कार्यनीतिका रुपमा महाधिवेशनले पारित गर्‍यो। 

नेपाल गुट परिचालनको नेतृत्व योगेशले गरे। नेतृत्वका लागि भएको खुला निर्वाचनमा भुसाल उपमहासचिव चुनिए। योगेश भट्टराईले सचिव जिते। त्यसपछि उनी पार्टीको पदाधिकारीसहित स्थायी कमिटी सदस्य भए। तथापि, पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षी क्याम्पको नेता बने। उनलाई पार्टीले प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइयो। 

०७४ सालको निर्वाचनमा योगेशले काठमाडौँ छाडे। उनी जन्मथलो ताप्लेजुङबाट चुनाव लडे। जिते। चुनाव प्रचारको सिलसिलामा ताप्लेजुङ पुगेका अध्यक्ष केपी शर्मा ओलीले त्यहीँ मञ्चबाट घोषणा गरेका थिए– चुनाव जिताएर पठाइदिनूस्, म मन्त्री बनाउने ग्यारेन्टी गर्छु। 

योगेशले प्रतिद्वन्द्वीलाई ठूलो अन्तरले जितेर आए तर प्रधानमन्त्री ओलीले आफ्नो वचन पालना गरेनन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको ठूलो विरोध भयो। 
०७५ फागुन १५ गते योगेशकै गृहजिल्लामा भएको हेलिकप्टर दुर्घटनामा उनका अनन्यमित्र रविन्द्र अधिकारीको दुःखद् निधन भयो।

अकल्पनीय उक्त दुर्घटनापछि योगेशलाई पनि सम्हालिन समय लाग्यो। करिब एक महिनापछि नै उनलाई प्रधानमन्त्रीले मन्त्री पद प्रस्ताव गर्दा उनले पर्यटन मन्त्री चाहिँ हुन गाह्रो हुने बताएका थिए। 

सिंहदरबारमा पहिलो परीक्षा

योगेश भट्टराई पार्टीभित्र प्रधानमन्त्रीका आलोचक हुन्। उनले प्रधानमन्त्री स्वयंलाई पटक–पटक भनिसकेका छन्– पार्टीभित्र चाहिँ तपाईंलाई समर्थन गर्न गाह्रो छ तर संसद् र सार्वजनिक मञ्चमा भने विरोध गर्दिनँ। संसदीय राजनीतिमा भने उनले मर्यादा राख्छन्। 

हुन पनि गोविन्द केसीको अनसनका बेला संसदीय समितिमा बसेर उनका मुद्दाकाे खण्डन गरे । उनले चिकित्सा शिक्षा विधेयक बनाउने उपसमितिमा काम गरे। केसीका तर्कहरूको सार्वजनिक रूपमा खण्डन गरे। उनी  'एन्टिसेन्टीमेन्ट' बाेलेर जाेखिम उठाउने साहस भएका नेता हुन् । पहिलोपटक संसद्मा चुनिएको योगेश पहिलो पटक मन्त्रीकाे कुर्सीमा आसिन भएका छन्। उमेरभन्दा युवा देखिन्छन् ५३ वर्षीय यी ‘सेलिब्रिटी’। उनकाे वास्तविक परीक्षाकाे घडी सुरु भएकाे छ।

समकालीन राजनीतिज्ञहरू उनलाई अलि रुखो स्वभावका मान्छन्। शीर्षनेतालाई समेत चित्त नबुझेको कुरामा जवाफ फर्काउने आँट गर्छन्। पार्टी कार्यकर्ता र पार्टीबाहिरका धेरै मान्छे चिन्ने नेता हुन् योगेश। उनको लोकप्रियता पार्टीभित्रभन्दा बाहिर बढी छ। अर्थात्, नेकपा बाहिरका मान्छेका समेत नेता हुने क्षमता राख्छन् उनी। त्यसैले उनी लोकप्रिय भएका हुन्। 

सत्ता हुँदाभन्दा सत्ताबाट बाहिरिँदा सधैँ लोकप्रियता हासिल गरेका ओलीको दुईतिहाई बहुमतसहित प्रधानमन्त्री दोस्रो ‘इनिङ’ले विपरीत परिणाम दिएको छ। अधिकांश मन्त्रीको कमजोर प्रस्तुति देखाइरहेका बेला मैदानमा उतारिएका छन्– यी खेलाडी। उनको सिंहदरबारको यात्रासँगै ओलीले ‘कोर्ष करेक्सन’ को प्रयास गरेको अनुमान गर्न सकिन्छ।
 

प्रकाशित मिति: १७:१६ बजे, बुधबार, साउन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्