Kathmandu Press

व्याक स्टेजमा जोनी डो रिगोलाई भेट्दा

गत शनिबार दिउँसो काठमाडौंमा हिउँदे वर्षा भइरहेको थियो । बिहानको पारिलो घामले न्यानो भइसकेको सहर फेरि एक्कासि चिस्सिएक

व्याक स्टेजमा जोनी डो रिगोलाई भेट्दा

गत शनिबार दिउँसो काठमाडौंमा हिउँदे वर्षा भइरहेको थियो । बिहानको पारिलो घामले न्यानो भइसकेको सहर फेरि एक्कासि चिस्सिएको थियो । बाहिर सडकमा मानिसहरू बाक्लो लुगा लाएर हिँडिरहेका थिए । 

तर, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको एउटा हलको स्टेज पछाडि भने विभिन्न देशका बडी बिल्डरहरू कपडा फुकालेर वार्म अप गरिरहेका थिए । उनीहरू आईएफबीबी बडीबिल्डिङ प्रो क्वालिफायरका लागि भिड्ने तयारीमा थिए ।

व्याक स्टेजमा प्राकृतिक प्रकाश छिर्दैन थियो । यसैले, ट्यूबलाइटहरू बालिएका थिए । बत्तीको उज्यालोमा कोही आफै आफ्नो शरीरमा चम्किलो रङ दलिरहेका थिए । कसैलाई भने अरुले मद्दत गरिरहेका थिए ।

Hardik ivf

म आफै पनि जिम जान्थेँ । जिम नगई चित्तै बुझ्दैन थियो । म जाने जिममा बडेमान ज्यान भएका धेरै जिमरहरू आउँथे । तर, मलाई कहिल्यै पनि आफू उनीहरूका अगाडि धेरै सानो छु भन्ने महशुस हुन्थेन ।

आईएफबीबी बडीबिल्डिङ प्रो क्वालिफायरका सहभागी खेलाडीहरूका अगाडि चाहिँ मैले आफूलाई फिस्टा जत्रो मात्रै पाएँ । हुन त मैले अन्तर्राष्ट्रिय बडी बिल्डरहरूलाई धेरै पटक तस्वीर, भिडियो र स्टेजमा पनि प्रत्यक्ष  देखेको थिएँ । तर, उनीहरूलाई त्यति नजिकबाट नियाल्ने मौका चाहिँ पाएको थिइनँ ।

उनीहरू तस्वीर र भिडियोमा जति बडेमानका देखिन्छन्, नजिकबाट प्रत्यक्ष हेर्दा झन् अजङ्गका हुँदा रहेछन् । कोही केही साना थिए । तर, अधिकांश चाहिँ साँच्चै हल्क जस्ता देखिन्थे । 

जोनीको जीउमा एक महिला सहयोगीले रङ दल्दै थिइन्

त्यही व्याक स्टेजम थिए – जोनी डो रिगो । बेलायतका यी २३ वर्षीय बडी बिल्डर अरुभन्दा भिन्न थिए । अरुहरू सबै एउटै झुण्डमा थिए । उनी चाहिँ एउटा कुनामा थिए । अरुहरू प्रायः सबै आफ्नो शरीरमा आफै रङ दलिरहेका थिए । केहीलाई पुरुष सहयोगीले रङ दल्न मद्दत गर्दै थिए । तर, जोनीको जीउमा चाहिँ एक महिला सहयोगीले रङ दल्दै थिइन् । 

अरु अलि नर्भस देखिन्थे । जोनी चाहिँ निष्फिक्री थिए । उनको अनुहारमा आत्मविश्वास देखिन्थो । मानौ उनलाई थाहा भइसक्यो – मै हुँ विजेता ! 

पहिलो पटक बडीबिल्डिङको व्याक स्टेजमा जान पाएकोले म निकै उत्सुक थिएँ । त्यसैले, धमाधम फोटो खिचिरहेको थिएँ । कसैले मलाई केही भनेन । जोनीले चाहिँ मलाई बोलाइवरि आफ्नो फोटो खिच्न आग्रह गरे । मेरो डिजिटल क्यामेराको स्क्रिनमा आफ्नो फोटो हेरेपछि उनले मसँग अंग्रेजमा सोधे, ‘कस्तो लाग्यो ?’

व्याक स्टेजमा पोज गर्दै जोनी

मैले भने, ‘राम्रो छ ।’

मलाई लाग्यो, यिनले पक्कै कुनै पुरस्कार जित्नेछन् । नभन्दै, उनले ओभरअलमा ९० देखि १०२ केजी तौल समूहमा पहिलो भई आउँदो सेप्टेम्बरमा आयोजना हुने मिस्टर ओलम्पियामा सहभागी हुन प्रो कार्ड पाए ।

मिस्टर ओलम्पियाको प्रो कार्ड पाउनुको अर्थ यो विश्वप्रसिद्ध बडीबिल्डिङ प्रतियोगितामा भाग लिन योग्य हुनु हो । तर, यसका लागि उनले अझै केही चरण पार गर्नुपर्नेछ ।

प्रो कार्ड पाएपछि जोनीले भने, ‘मेरो १५ वर्षदेखिको मेहनतले बल्ल आज पुरस्कृत भयो । तर, मेरो सपना साकार हुन बाँकी नै छ । यसका लागि मैले थप मेहनत गर्नुपर्नेछ ।’

स्टेजमा र स्टेजपछाडि जोनीले जस्तो आत्मविश्वास र कौशल प्रदर्शन गरे, त्यसले उनी बडीबिल्डिङमा अझै माथि जानेछन् भन्ने मलाई लाग्छ । आखिर बडीबिल्डिङ भनेको शरीर सुगठित पार्नुमात्र हैन, त्यसलाई आत्मविश्वासका साथ प्रदर्शन गर्नु पनि हो । 

गुड लक, जोनी । 

प्रतियोगितामा सहभागी एक नेपाली खेलाडी व्याक स्टेजमा

 

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, फागुन ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्