शहरको अर्को नयाँ यात्रा
गाउँबाट शहर पस्दै गर्दा के सोचिन्छ ? मान्छेमान्छेमा फरक पर्ला । अध्ययनका लागि गाउँ छोड्नेहरु उज्ज्वल भविष्यबारे सोच्ल
गाउँबाट शहर पस्दै गर्दा के सोचिन्छ ? मान्छेमान्छेमा फरक पर्ला । अध्ययनका लागि गाउँ छोड्नेहरु उज्ज्वल भविष्यबारे सोच्लान, बेरोजगारहरु रोजगारी, दुःख, पीडा भोगेकाहरु सुख, सयल इत्यादि । जेसुकै होस्, अधिकांश सपना बोकेर शहर पस्छन् ।
शहरका हरेक चिज सपनाजस्तै लाग्छन्, मलाई पनि लागे । चिनजान भएकाहरु नचिनेजस्ता, नचिनेकाहरु चिनजान भएका जस्ता । बाटो हिँड्दा कतिसँग ठोक्किएर हिँडिएछ । गाडीमा कतिसँग कुम जोडेर हुइँकिइएछ । ठेलम्ठेल त हुने नै भयो । कसैसँग कसैलाई बोल्ने फुर्सद नहुँदो रहेछ । सबै रफ्तारमा हुँदा रहेछन् ।
यति रफ्तार कि अपाङ्ता भएका व्यक्तिलाई सघाउन क्षणभर समय हुँदैन । माग्न बसेकाहरुलाई फर्केर हेर्न फुर्सद हुँदैन । अशक्त, वृद्धवृद्धालाई हात दिन समय हुँदैन । सडकमै ढलेको मान्छेलाई पनि उठाउने फुर्सद हुँदैन । देखे नदेखेजस्तै गरेर हुइँकिदोरहेछ, शहर । यो रफ्तार रोक्ने केही छ त सेल्फीमात्रै ।
ओहो, शहरसँग त कसैको वास्ता हुँदैन । शहरका मान्छेलाई पनि उस्तै हो । एउटै छतमुनि बस्ने मान्छेहरुबीच पनि चिनजान हुँदैन । एकअर्कालाई सहयोग, दुःख–सुख बाँडचुड त टाढाको विषय । शहरले त मान्छेलाई विरक्तलाग्दो बनाउँदो रहेछ ।
यो त गाउँभन्दा ठ्याक्कै उल्टो हुँदोरहेछ । शहरले मान्छेलाई बदल्छ कि मान्छेले शहर बदल्छ, अलमलमा पर्छु । डर लाग्छ, म पनि कतै शहरजस्तै बदलिने पो हुँ कि । मान्छे भएर पनि मानवीयता हराउँदो रहेछ ।
अरुलेजस्तै मैले पनि शहर छिर्दा सपना देखेकी थिएँ, अनेक । केही सिक्ने उत्सुकता थियो । जागर थियो, उत्साह थियो । जब शहरसँग नजिक हुँदै गएँ, उत्तिकै टाढिँदै गएँ । र, एकाएक गाउँ फर्किएँ ।
शहरबाट सिधै बझाङ हानिएँ । त्यहाँ रेडियो साइपाल एफएममा काम गर्न थालेँ । शहरमा हराएको खुसी फर्किएर आएजस्तो भयो । नयाँ ठाउँ भए पनि गाउँ नै थियो । आफ्नोपन थियो । रेडियोमा बोल्दाबोल्दै, समाचार लेख्दालेख्दै दुई वर्ष वितेको पत्तै पाइनँ ।
त्यसपछि बैतडी दौडिएँ । रेडियो निंगलासैनीमा मेरो आवाज सुनिन थाल्यो । कार्यक्रम संयोजकको रूपमा काम गर्दा सिक्ने र सिकाउने मौका पाएँ । रेडियोमा बोले, समाचार लेखेँ । त्यहाँ पनि आफ्नोपन खोज्नु परेन, आफैँ आयो ।
अछाम, बझाङ र बैतडीमा रेडियोमा बोल्दै, गाउँघर चहार्दै, समाचार लेख्दै ६ वर्ष बितेको पत्तै भएन । अझ बालबालिका र महिलाका विषयमा कलम चलाउँदाको आनन्द बेग्लै थियो । यो अवधिमा आफ्नो काममाथि, अझ आफूमाथि विश्वास गर्न थालेँ ।
यो बसाइले आत्मविश्वास पनि बढायो । जुनसुकै अवस्थामा, जस्तोसुकै काम गर्न नडराउने बनायो । गाउँघरको भोगाइ र दैनिकीले केही नयाँ गर्न र सिक्न उस्कायो । अझ राम्रो गर्ने हौसला बढायो ।
र, फेरि गाउँ छोडेर शहर पसेकी छु, केही नयाँ गर्ने उत्साहले । पत्रिका र रेडियोको यात्रापछि अनलाइनसँग जोडिएकी छु । आशा छ, यसपटकको शहर यात्रा काठमाडौं प्रेससँगै रमाइलो हुनेछ ।