Kathmandu Press

मध्यरातमा गुल्जार मंगलबजार 

माटोको घैलाबाट थोरै बलिरहेको चिरागको उज्यालोमा विभिन्न देवी–देवता, दैत्य र अप्सराहरूको भेषभुषामा सजिएका कलाकारहरू पालैपालो नाच्न थाल्छन्। रात जति छिप्पिँदै जान्छ, कार्तिक नाच झन ओजिलो हुन्छ।
मध्यरातमा गुल्जार मंगलबजार 
रिवाज राई

ललितपुर – हिउँद लागिसक्यो। घाम निकै मधुरो भइसक्यो। यो चीसो काठमाडौं खाल्डोका मानिसहरू रात नछिप्पिँदै न्यानो सिरकमा बेरिएर सुत्न थालिसकेका छन्।

तर, पाटनको मंगलबजार क्षेत्र भने अहिले पनि राति अबेरसम्म गुल्जार हुन्छ। किनकि, अचेल मंगलबजारको डबलीमा हरेक रात कार्तिक नाच मञ्चन भइरहेको छ। 

झण्डै ४ सय वर्षदेखि निरन्तर चल्दै आएको कार्तिक नाच पौराणिक कालमा देउता र असुरबीच भएको लडाइँको नाटकीय प्रस्तुति त हुँदै हो, मल्लकालीन रंगकर्मको झल्को दिने अमूर्त सम्पदा पनि हो। 

Hardik ivf

जब सहर सुत्छ 

साँझ ७ बजे। जाडोले गर्दा पाटनका गल्लीहरू सुनसान हुन थालिसकेका छन्। तर, मंगलबजारको कार्तिक नाच मञ्चन हुने डबलीमा भने मानिसहरू गोलो घेरा बनाई बसेका छन्। त्यो घेराभित्रको बीच भागका चारै कुनामा ज्वालाहरू बालिएका छन्।  

माटोको घैलाबाट थोरै बलिरहेको चिरागको उज्यालोमा विभिन्न देवी–देवता, दैत्य र अप्सराहरूको भेषभुषामा सजिएका कलाकारहरू पालैपालो नाच्न थाल्छन्। रात जति छिप्पिँदै जान्छ, कार्तिक नाच झन ओजिलो हुन्छ।

पहिले झण्डै एक महिनासम्म कार्तिक नाच कात्तिक महिनामा मञ्चन हुन्थ्यो। अहिले झण्डै १२ दिनसम्मै मात्रै यो नाच देखाइन्छ। किनकि, जति धेरै नाच देखाइयो, त्यति नै धेरै तयारी चाहिन्छ। कार्तिक नाच प्रदर्शन गर्ने कलाकारहरू लामो समय दिन भ्याउँदैनन्। उनीहरूले आफ्नो जीवन पनि धान्नु पर्ने हुन्छ। 

तर, जति नै मुश्किल भए पनि केही कलाकारहरूले भने अझै पनि कार्तिक नाचका लागि समय र उर्जा खर्च गरिरहेका छन्। तिनैमध्ये एक हुन् – प्रतापधर शर्मा ।
शर्माका बाबु–बाजेहरू पनि कार्तिक नाच नाच्थे। सानै छँदा उनले बाजा बजाउन थालेका थिए। एक पटक उनीहरूको खलकमा नरसिंह नृत्य गर्ने कलाकारको आवश्यकता भयो। र, १६ वर्षकै उमेरमा उनले नरसिंह अवतार नाच्न थाले। 

नरसिंह नृत्य गर्ने कलाकार प्रतापधर शर्मा ।

नरसिंह नृत्य कार्तिक नाचको विशेष आकर्षण हो। यो नाच हेर्न मानिसहरू यत्ति आकर्षित हुन्छन् कि कतिले प्रोजेक्टरमार्फत नाच हेरेर पनि चित्त बुझाउँछन्।
नयाँ नृत्यकारलाई नरसिंह नृत्यमा पोख्त हुन ६ महिनासम्म लाग्छ। तर, उनी भने अघिल्लो दिन एक दुई घण्टा अभ्यास गरेकै भरमा डेढ घण्टासम्म कार्तिक नाच नाच्न सक्छन्। सायद, सानैदेखि नाच्न थालेकोले हुँदो हो। यो नृत्यमा उनी नारायण भगवानको अवतारमा रुपान्तरित हुन्छन्।

हिरण्य कश्यपुको वध गर्न तयार भएका उनी यस दिन बिहानैदेखि चोखोनितो भई नाच नसकेसम्म पानीसमेत खाँदैनन्। मध्यराति १२ बजे उनी नरसिंहको अवतारमा हजारौं मानिसको भिड छिचोल्दै पाटनको कृष्ण मन्दिर अगाडि पुग्छन्। 

दर्शकहरु उनी र दैत्यको नाच देखेर मन्त्रमुग्ध हुन्छन्। उनी सुनाउँछन्, ‘दर्शकको उत्सुकता देख्दा मलाई अझैं नाचिरहूँ जस्तो लाग्छ।’ 
२०५१ सालदेखि कार्तिक नाचमा संलग्न भएका उनले २०५८ सालदेखि नाच्न थालेका हुन्। 

किरण चित्रकार– अर्का कलाकार हुन्। जसले हिरण्य कश्यपुको भेष धारण गरी कार्तिक नाच प्रस्तुत गर्दै आएका छन्। नरसिंह नृत्य हिरण्य कश्यपुबिना अधुरो हुन्छ। यस नाचको सुरुवात नै हिरण्य कश्यपुबाट सुरु हुन्छ। ४१ वर्षीय चित्रकारले पुख्र्यौली पेशाकै रुपमा यो नाच प्रस्तुत गर्दै आएका छन्। 

 कार्तिक डबली मंगलबजारका अध्यक्ष समेत रहेका कलाकार किरण चित्रकार

कार्तिक नाचमा दैत्यको प्रतिनिधित्व गर्ने चित्रकार यस नाचका प्रशिक्षक पनि हुन्। कार्तिक डबली मंगलबजारका अध्यक्ष रहेका उनलाई भविष्यमा कार्तिक नाचले निरन्तरता नपाउँला कि भन्ने निकै डर छ। 

पाटनमा मात्रै देखाइने यस नाचमा वाद्यवादक, नाच्ने कलाकार गरेर १ सय जना सरिक हुन्छन्। जसमा ५० जना नृत्यमा सहभागी हुन्छन्। कलाकारहरू दुई तीन महिनासम्म प्रशिक्षण गर्छन्। 

यति लामो समयसम्म रिहर्सल गर्ने कलाकारलाई राम्रो खाजाको व्यवस्थासमेत छैन। हरेक कलाकारलाई एकदिनको १ हजार रुपैयाँ पारिश्रमिक दिने भनिए पनि आर्थिक स्रोतको अभावले दैनिक पाँच सय रुपैयाँ मात्रै दिन सकिएको चित्रकार बताउँछन्। 

यसै कारण कतिपय कलाकारहरू यस क्षेत्रबाट पलायन भइसकेका छन्। ‘नाच्ने कलाकार नै जुटाउन धौ धौ छ’ उनी भन्छन्।  

कतिपयले भने संस्कृति संरक्षणकै लागि भए पनि कार्तिक नाचलाई निरन्तरता दिइरहेका छन्। उनीहरू पैसाको मुख हेर्दैनन्। तिनैमध्ये एक हुन् – विवेक श्रेष्ठ। 

कार्तिक नाचको हरेक दिन सुरुवात र अन्त्यमा देखा पर्ने श्रेष्ठ नै सम्पूर्ण नाचको मुख्य पात्र हुन्। अरु बेला कुनै नाचमा भाग नलिने श्रेष्ठ कार्तिक नाचमा भने विशेष रुचि राख्छन्। 

कलाकार विवेक श्रेष्ठ। 

उनका पुर्खा कृष्णवीर श्रेष्ठले वराह र कृष्ण बनेर नाच्ने गर्थे। आठौं पुस्ताका श्रेष्ठ २०७१ देखि यी दुई अवतारमा नाच्दै आएका हुन्। जब ऋषिको यज्ञलाई दैत्यले भंग गरिदिन्छन्, तब वराह रुपमा उनी प्रकट हुन्छन्। नाच्दा नाच्दै दैत्यलाई हराउन सफल हुन्छन्। अनि अप्सरा आएर नाचेपछि उनको रिस शान्त हुन्छ। खुशी भएको वराह एक्लै नाचेपछि यो नाच सकिन्छ।

‘यो नाचको अभ्यास गर्दा म पूरै पसिनाले भिजेको हुन्छु,’ उनले भने, ‘तर वराह अवतारमा मन्त्र लिएर नाचेपछि भने मेरो शरीरमा एक थोपा पनि पसिना आउँंदैन। सायद दैवी शक्तिले हो कि !’ 

कलाकारकाे भेषमा विवेक श्रेष्ठ

३७८ वर्ष पुरानो कार्तिक नाच ललितपुरमा लोककल्याणको लागि सुरु भएको हो। पहिले २७ दिनसम्म नाचिने यस नाच अहिले १२ दिन सम्म नाचिन्छ । प्रत्येक दिन छुट्टै प्रस्तुति हुन्छ। नरसिंह र वराह् अवतार वर्षमा एक पटक पात्रो अनुसार मंगल बजारमा मात्र देखाइन्छ। यति पुराना संस्कृति जोगाई राख्न भने अहिले मुस्किल हुदै गएको छ। र, पनि पाटनवासीहरु यसको पौराणिक महत्व बुझ्र्दै मध्यरातसम्म मंगलबजार डबलीमा गुल्जार भएका हुन्छन्। 

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, कात्तिक २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्