Kathmandu Press

जीवनबारे राष्ट्रकवि : सके केही गर, नसके संसार हेर्दै मुस्कुराऊ!

‘हेर्नोस्, कस्तो रमाइलो संसार छ। यहाँ बस्ने मानिस कति रमाइला छन्। हामीले केही गर्न सकेनौँ भने पनि संसार हेरेर मुसुक्क हास्नुहोस्, आनन्द मिल्छ,’ राष्ट्रकविले थपे, ‘ज्यान बूढो भयो भन्दैमा एकै ठाउँमा बसेर दुःख मनाउँदैन म। मेरा लागि जीवन जहिले पनि उत्सव हो।’
जीवनबारे राष्ट्रकवि : सके केही गर, नसके संसार हेर्दै मुस्कुराऊ!

काठमाडौं, भदौ १७ : कोही केबल लामो जिन्दगी बाँच्छन्, कोही भने छोटो जिन्दगीमै अमिट छाप छाड्न सफल हुन्छन्।

अर्को महिना १०१ औं जन्मोत्सव मनाउने तयारीमा रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको जिन्दगी भने लामो मात्रै होइन, भव्य पनि छ।

यति लामो जिन्दगी उनले आफ्ना लागि मात्रै होइन, राष्ट्रका लागि पनि बाँचिरहेका छन्। तब न उनी राष्ट्रकवि!

दुई वर्षअघि आन्द्राको घाउबाट सुरू भएको आन्तरिक रक्तस्रावले ज्यान गलेपछि उनी निस्फिक्री हिँडडुल गर्न सक्दैनन्। भर्‍याङ उक्लन–ओर्लन पनि उनलाई कसैको साथ चाहिन्छ।

रोग र बूढ्यौलीले शरीर गले पनि उनी निष्क्रिय बसिरहेका छैनन्। सखारै उठ्छन्, नुहाउँछन् र केही लेख्ने प्रयास गर्छन्। पहिले जस्तो कलम समाएर लेख्न बस्ने बित्तिकै कविता फुर्दैन, आजकाल।  

लैनचौरस्थित निवासमा उनले काठमाडौं प्रेससँग भने, ‘बाहिर जाऊँ, सक्दिनँ। कविता लेखूँ, पहिले भावना उर्लेर आउँथ्यो, चिन्तन नयाँ–नयाँ आउँथ्यो, अहिले त्यो आउँदैन।’

उनले लगत्तै थपे, ‘तैपनि, म कोशिस गर्छु।’

यो कोशिसमै राष्ट्रकविको जिन्दगीको सार छ। किनकि, उनले कोशिस गर्न कहिल्यै छाडेनन्। कोशिस गर्दा दुःख हुन्छ, तर त्यो दुःखले नै सुख पनि दिन्छ।

जीवनप्रतिको मोह, कर्मप्रतिको आस्था र सकारात्मक सोचले नै राष्ट्रकवि यो उमेरमा पनि प्रेम, प्रकृत्ति र राष्ट्रिय उन्नयनका काव्य रचना गर्न उद्दत छन्।

यति लामो र भव्य जिन्दगी बाँच्ने राष्ट्रकविको परिभाषामा जीवन के हो? यो प्रश्नको उत्तरमा उनी मुसुक्क हाँसे र भने, ‘सुन्दा सरल तर निकै कठिन प्रश्न हो, यो।’

तैपनि, उनले अथ्र्याए, ‘जीवन त इश्वरको बरदान हो। यसलाई त्यसै बरबाद पार्नु हुँदैन। सकभर राम्रो काम गरेर, राम्रो सोचेर जीवन बिताऊ, भएन भने चुपचाप लागेर रमाइलो संसार हेरेर बिताऊ।’

उनी भन्छन्, ‘हेर्नोस्, कस्तो रमाइलो संसार छ।  यहाँ बस्ने मानिस कति रमाइला छन्। हामीले केही गर्न सकेनौँ भने पनि संसार हेरेर मुसुक्क हास्नुहोस्, आनन्द मिल्छ।’

उनी थप्छन्, ‘ज्यान बूढो भयो भन्दैमा एकै ठाउँमा बसेर दुःख मनाउँदैन म, मेरा लागि जीवन जहिले पनि उत्सव हो।’

अहिले दिनहरू कसरी बिताउनु हुन्छ भन्ने प्रश्नमा राष्ट्रकविले भने, ‘खोलाले जीवन कसरी बिताउँछ? जसरी एकोहोरो बगिरहन्छ। त्यस्तै कविले आफ्नो जीवनमा सबभन्दा उत्सुकता केही कविता लेख्न पाए आनन्द हुन्छ। राम्रो नराम्रो जस्तो होस्।’

उनी अहिले पनि कविता लेख्ने, गीत लेख्नेमै दिन बिताउन आनन्दित हुन्छन्। तर, पहिलेको जस्तो जाँगर चल्दैन। भन्छन्, ‘तपाईंहरु जस्तै मान्छे आउँछन् उहाँहरुसँग कुरा गर्छु। आफन्तहरु आउँछन्, उनीहरुसँग कुरा गर्छु। यस्तै दिनहरु बित्छन्।’

खुसी कसरी रहने?

अहिलेका युवा सधैं तनावमा भएको पाउँदा राष्ट्रकवि खिन्न हुन्छन्। उनी भन्छन्, ‘यसो भएन, उसो भएन मात्रै भन्छन्, केही नगरी सोचेर बसेमा केही हुँदैन।

मिहेनतको फल मिठो हुन्छ। जीवन मिहेनतले निर्माण हुन्छ। यही मिहेनतको खुशी नै जीवनको खुशी हो। मौकामा सबै काम गरिरहनु पर्छ। मैले कवितामा यही मिहेनत नगरेको भए मलाई देशले राष्ट्रकवि बनाउने थिएन।’

कुराकानी गर्दै जाँदा राष्ट्रकवि घिमिरे बालापन र युवा अवस्थामा पुगे। उनले भने, ‘म गाउँको एउटा गोठालाको छोरा हुँ, सानैमा टुहुरो भएँ। पछि काठमाडौं आएँ, कवितामै कलम चलाएँ।’

बालापनमै उनको बिहे भयो। बिहे हुँदा उनी ११ वर्षका थिए भने उनकी श्रीमती नौ वर्षकी थिइन्। ‘अहिलेको जस्तो, फेसबुक, टुइटर थिएन, बिहे गरिसकेपछि एकै ठाउँ बस्न थालेपछि हाम्रो माया बढेको हो,’ राष्ट्रकविले ति दिन सम्झिदै भने, ‘मेरी श्रीमती यी हुन् भन्ने मलाई थाहा थियो। मेरो श्रीमान यी हुन् भन्ने उनलाई पनि थाहा थियो। तर, हाम्रो कुराकानी धेरै हुँदैन थियो। देख्ने बित्तिकै आङ सिरिङ्ग हुन्थ्यो।’

'चिन्तित हुँदिनँ'

राष्ट्रकवि घिमिरे भन्छन्, ‘अहिलेको पुस्तालाई धेरै बुझाउनुपर्छ। अरु देशले उन्नति गर्‍यो हाम्रोमा केही छैन भन्ने निराशाहरु पनि छन्। सुविधाहरु विज्ञानले दिँदै आएको छ। मिहेनत गर्न छोड्यो, यो राम्रो होइन।’\

पछिल्लो पुस्ता धेरै भए ६०–६५ वर्षको उमेरसम्म मात्रै बाँचेको देख्दा मान्छेको खुशी हराउँदै गएको महशुस हुन्छ। उनी भन्छन्, ‘जीवनमा सबैभन्दा ठूलो, सकारात्मक सोच र खुशी हो। यो नै मान्छेमा छैन भने मानिस कहिल्यै खुशी रहन सक्दैन।’

राष्ट्रकविले थपे, ‘म बूढो भयो भन्दैमा चिन्तित हुँदिनँ। बरु उत्सव मनाउँछु, तपाईंहरू पनि त्यस्तै गर्नुहोस्।’

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, भदौ १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्