Kathmandu Press

साइकललाई सकसपूर्ण सहर

जुन खाल्डोमा खसी योग प्रशिक्षक श्याम सुन्दर श्रेष्ठको मृत्यु भयो, त्यो खाल्डो त पुरियो तर काठमाडौंमा अझै पनि जताततै त्यस्ता धरापहरू छन्।
साइकललाई सकसपूर्ण सहर
शोभा मानन्धर

साइकलमा घर फर्कदै गरेका योग प्रशिक्षक श्याम सुन्दर श्रेष्ठको गत कार्तिक १० गते खाल्डोमा परी मृत्यु भयो। त्यसपछि त्यो धराप खाल्डो त पुरियो, तर काठमाडौंमा अझै पनि जताततै त्यस्ता धराप खाल्डोहरू छन्।

काठमाडौं – योग प्रशिक्षक श्याम सुन्दर श्रेष्ठ साइकलमै विभिन्न देश पुगे । उनलाई कतै केही भएन । तर, आफू जन्मे–हुर्केकै सहर काठमाडौंको सडकमा खुलै छाडिएको खानेपानीको भल्भ च्याम्बरमा परी उनको मृत्यु भयो।

गत कार्तिक १० गते साँझ उनी साइकल कुदाउँदै चोभारतिरबाट डल्लु चाघल घर फर्किदै थिए । बाटो अलि अँध्यारो थियो । कीर्तिपुरको ल्याबोरेटरी स्कुल गाडि सडकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीहरूले भल्भ च्याम्बरको ढकनी खोलेर ह्वाङ्गै छाडेका रहेछन् । उनी त्यही खाल्डोमा खसे । बाहिर निस्कन सकेनन् । भोलिपल्ट विहान उनको लाश त्यहीँ भेटियो। 

श्याम सुन्दर श्रेष्ठ

Hardik ivf

श्रेष्ठको मृत्युमा धेरैले सरकारी लापरबाहीको दोष देखे । उनीहरूले सडकमा जताततै खाल्डा खनेर नपुरी धराप थापेको भन्दै सरकारको चर्को आलोचना गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक, ढल तथा खानेपानी कार्यालयका वरिष्ठ अधिकारीहरूलाई बोलाएर खाल्डाखुल्डी पुर्न निर्देशन दिए । कीर्तिपुरको त्यो धराप खाल्डो पुरियो पनि, तर काठमाडौंमा अझै पनि जताततै त्यस्ता धराप खाल्डोहरू छन्।

नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठ त्यो दुःखद घटनाबाट सरकारले कुनै पाठ नसिकेको बताउँछन् । उनी भन्छन्, ‘अझै पनि सहरभरि जताततै साइकल यात्री र बटुवाहरू लडेर मर्ने धराप खाल्डाखुल्डीहरू छन् । विहान घरबाट हिँडेको मान्छे बेलुकी सुरक्षित फर्कन्छ भनेर ढुक्क हुनसक्ने अवस्था छैन।’

‘मान्छे मरेपछि मात्रै कीर्तिपुरको खाल्डो पुरियो । अरु ठाउँका खाल्डा पनि मान्छे मरेपछि मात्रै पुर्ने हो?’

रत्नराम श्रेष्ठ, अध्यक्ष, नेपाल साइकल सोसाइटी

रत्नराम श्रेष्ठ, अध्यक्ष, नेपाल साइकल सोसाइटी

उनी हरेक विहानजसो साइकलमै गल्कोपाखा हुँदै गोंगबु चाेकसम्म पुग्छन् । साँझ त्यही बाटो घर फर्किन्छन् । पुगनपुग एक किलोमिटर लामो यो सडक खण्डमै दर्जनौ ज्यानमारा खाल्डाखुल्डी रहेको उनी बताउँछन्।

उनी भन्छन्, ‘मान्छे मरेपछि मात्रै कीर्तिपुरको खाल्डो पुरियो । अरु ठाउँका खाल्डा पनि मान्छे मरेपछि मात्रै पुर्ने हो?’

झन् झन् सास्ती

वि. सं. २०६७, कार्तिक महिनाको दोस्रो साता बल्खुमा संरक्षणविद् डा प्रल्हाद योञ्जनको ट्रकको ठक्करबाट मृत्यु भयो । उनको गल्ती एउटै थियो – काठमाडौंको सडकमा साइकल कुदाउनु !

डा. योञ्जनको मृत्युपछि वातावरणप्रति सचेत युवाहरूको एक समूहले ‘गेट भिजिवल’ अभियान सुरु गर्‍यो, जसको उद्देश्य थियो – काठमाडौंका सडकहरूलाई साइकल–मैत्री बनाउनु। 

डा प्रल्हाद योञ्जन

साइकलमैत्री सडक संरचना र सहरका लागि विभिन्न बहसहरू भए । जनचेतनामूलक र्‍यालीहरू निकालिए । दबाबमूलक कार्यक्रमहरू भए । भइरहेकै छन् । तर, साइकल यात्रीहरूको सास्ती झन् बढ्दो छ । योग प्रशिक्षक श्याम सुन्दर श्रेष्ठको मृत्यु त्यसको एउटा उदाहरण मात्रै हो।

उनको मृत्यु भएको केही सातापछि अर्का साइकल चालक ६५ बर्षीय राज श्रेष्ठको पनि मृत्यु भयो । उनी गत भदौमा काठमाडौंको युएन पार्क नजिकै खाल्डामा खसेर गम्भीर घाइते भएका थिए । तीन महिनासम्म थला परेपछि उनको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयका अनुसार, वि. सं. २०७२ देखि २०७५ सालभित्र काठमाडौं उपत्यकामा मात्रै सडक दुर्घटनामा परी ५४२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश मोटरसाइकल चालक छन् । साइकल यात्रीको संख्या खासै धेरै छैन । तर, साइकल यात्रीको कुल संख्याको अनुपातमा सडक दुर्घटनामा परी मृत्यु तथा अङ्गभङ्ग हुने साइकल यात्रीको संख्या हेर्ने हो भने सडकमा सबैभन्दा असुरक्षित उनीहरू नै छन् भन्ने देखिन्छ।

काठमाडौंका सडकहरू साइकलका लागि जति असुरक्षित हुँदै गएका छन्, साइकल कुदाउनेको संख्या यहाँ त्यति नै घट्दै गएको छ।

झण्डै २५ वर्ष अघिसम्म काठमाडौंको सडकमा खासै भिडभाड थिएन । त्यस बेलासम्म यहाँ साइकल चलाउनेको संख्या उल्लेख्य थियो । उपत्यकावासीका लागि सजिलो र भरपर्दो सवारी नै साइकल थियो । तर, सडकहरू फराकिला बने र अन्य सवारी साधनको चाप बढ्दै गयो, जसले गर्दा साइकल चलाउनेको संख्या विस्तारै कम हुन थाल्यो। 

जहाँ योग प्रशिक्षक श्याम सुन्दर श्रेष्ठको मृत्यु भएको थियो

सन १९९१ मा सडक विभाग र जापानी सहयोग नियोग जाइकाले गरेको एक अध्ययन अनुसार त्यतिबेला काठमाडौं उपत्यकामा चल्ने कुल सवारीमध्ये ६ प्रतिशत साइकल थियो । सन् २०११ मा सडक विभाग र जाइकाले नै अर्को अध्ययन गर्दा उपत्यकाका कुल सवारीमध्ये १ दशमलव ५ प्रतिशत मात्रै साइकल रहेको देखियो।

अहिले साइकल यात्रीको संख्या त्योभन्दा घटेको अनुमान छ । कारण प्रष्ट छ –  धेरै मानिसहरू साइकल चलाउन चाहन्छन्, तर सडक सुरक्षित छैन।

तीन वर्षअघि उपत्यकामा नयाँ बन्ने सडकको डिजाइनमा साइकल लेन राख्नेबारे निकै चर्चा भएको थियो । सरकारी पदाधिकारीहरूले यसबारे प्रतिबद्धता पनि जनाएका थिए । कतिपय सडकको डिजाइनमा साइकल मार्गलाई समावेश पनि गरियो । तर, सडक बनाउँदा चाहिँ साइकल लेन राख्दै राखिएन।  

तस्वीरः शोभा मानन्धर

यसैको उदाहरण हो – भर्खरै निर्माण सम्पन्न भएको  कोटेश्वर–कलंकी सडक खण्ड । यो सडकको डिजाइनमा साइकल लेन र फुटपाथको पनि व्यवस्था थियो । तर सडक बनाउँदा चाहिँ फुटपाथ स‘ाघुरो पारियो । साइकल लेन नै राख्दै राखिएन।

यो सडकमा साइकल र पैदल यात्रीको सुरक्षाका लागि कुनै उपाय नै अपनाइएको देखिन्न । उपयुक्त ठाउँमा जेब्रा क्रस पनि छैन । सडक बत्ती र पार्किङ स्टेशन जस्ता नागरिकमैत्री संरचनाहरू छैनन् । मानौ – यो सडक गाडी कुदाउन धनीहरूको सुविधाका लागि मात्रै बनाइएको हो।

कोटेश्वर–कलंकी सडक साइकल–पैदलयात्री मैत्री नभएकै कारण यो सडक सम्पन्न भएको आठ महिना भित्रै ८ जनाले ज्यान गुमाइसकेका छन्।

साइकल अभियन्ता शैल श्रेष्ठ भन्छन्, ‘साइकल लेन छैन । सडकमा साइकल कुदाउनु निकै जोखिमपूर्ण छ । ठूला गाडी र मोटरसाइकलहरू सडक नियमको पालना नै गर्दैनन् । माइक्रो त कतिबेला कहाँ रोकिन्छ थाहै हुन्न । सरर आउँछ, बाटो काटिहाल्छ । आफैलाई हान्ला जस्तो !’

भिडियो स्टोरी

कतिपय सडकमा साइकल लेनहरू बनाइएका छन् । तर, ती पनि साइकल मैत्री छैनन् । जस्तै, माइतीघरबाट तिनकुनेसम्मको सडकमा २.७ किलोमिटर साइकल लेन बनाइएको छ । तर, यहाँ साइकलका चिन्हहरू राखिएका छैनन् । आवश्यक बत्ती जडान गरिएको छैन । साइकल लेन ठाउँठाउँमा टुक्रिएको छ । कतै ओरालो छ त कतै उकालो । यसैले, साइकल यात्रीहरू पनि यस्ता साइकल लेन प्रयोग गर्दैनन् । र, यस्ता साइकल लेनमा मोटरसाइकल र गाडी पार्किङ हुने गर्छ । सहरी योजनाकार सोम राना भन्छन्, ‘सरकारी पदाधिकारीहरूको गैरजिम्मेवारपूर्ण कामको परिणाम हो, यो ।’

साईकलयात्रीका लागि पार्किङको पनि व्यवस्था छैन ।  मोटरसाइकल र गाडी चालकहरूले पार्किङ गर्ने ठाउँ भेट्छन्, तर साइकल चालकहरूले भेट्दैनन् । साइकल चालक दृष्टि श्रेष्ठ भन्छिन्, ‘साइकल पार्किङ कता हो भनेर सोध्दा जहाँ पनि कुनातिर देखाइन्छ ।’

उनी भन्छिन्, ‘सरकारको नीति नै ठूला गाडीको आयातलाई  प्रवर्द्धन गर्ने खालको छ । मानौ, सरकार भनिरहेको छ – जति गाडी आयात गर्नुछ गर, हामी बाटो फराकिलो बनाइदिन्छौँ । फुटपाथ र साइकल लेनका लागि एक इञ्च जमिन नछोडी सडक फराकिलो पार्नुले यही पुष्टी गर्छ ।’

प्रकाशित मिति: १४:०७ बजे, शनिबार, चैत २, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्