Kathmandu Press

चराले माया मारेको सहर

काठमाडौंबाट चरा हराउँदै जानुले यो सहर मानिसका लागि समेत विषाक्त बन्दै गएको संकेत गर्छ
चराले माया मारेको सहर
काठमाडौं प्रेस इलुस्ट्रेशन

कुनै बेला काठमाडौं उपत्यकाभित्रै दंगर गिद्धले बच्चा कोरल्थ्यो । अहिले काठमाडौंमा मात्र होइन, विश्वमै यो पंक्षी संकटमा छ । 

अलि अघिसम्म बथानका बथान भेटिने राजगण चरा पनि अचेल काठमाडौं उपत्यकाभित्र कतै देखिँदैनन् । सिमसारमा मात्रै रमाउने यो पक्षी कङ्क्रिटको जंगलमा परिणत भइसकेको काठमाडौं सहरमा बाँच्ने कुरै भएन । 

हावासिल चराहरू फागुन लाग्ने बित्तिकै काठमाडौं उपत्यका पस्थे । जेठ सम्म यतै रमाउँथे । हावासिलहरूले काठमाडौंको हावामा कावा खान छाडेको धेरै भइसक्यो । 

Hardik ivf

दंगर गिद्ध, राजगण र हावासिल मात्र होइनन्, अन्य धेरै प्रजातिका चराहरू अचेल काठमाडौं खाल्डो भित्र पाइँदैनन् । 

कुनै बेला काठमाडौं उपत्यकाभित्र पाइने यी चराहरू अहिले अस्तित्वको लडाइँ लडिरहेका छन्

फुर्के हाँस, घाउँके हावासील, तिलहरी चरा, बगाले बगेडी चरा उपत्यकामा देखिन छाडेको छ । यी चराहरु अति संकटापन्न चराको रुपमा सन २०१६ मा आईयुसीएनको रातो सूचीमा समेत सूचीकृत गरिएका छन् । डाँफे अनि नीलपंखे तोरीगाडा चरा निकट भविष्यमै दुर्लभ हुने अवस्थामा छन् । त्यस्तै काठमाडौंमा भइरहेको वासस्थान विनाशले गर्दा काँडे भ्याकुरको संख्यामा निकै कमी आएको छ । 

जुन ठाउँमा चराहरू पाइन छाड्छन्, त्यो ठाउँको वातावरण मानिसका लागि पनि विषाक्त हुन्छ

कुनै बेला काठमाडौं उपत्यका भित्र खोला–नालाहरू कल्कल बग्थे । जताततै हरिया–पहेँला खेतहरू थिए । सिमसार पनि प्रशस्तै थियो । ती खोला–नाला, खेत, जंगल र सिमसारमा अनगिन्ती चराहरू आश्रित थिए । तर, अचेल यहाँ जताततै घर, सिमेन्ट संरचना र पुत्पुतविषालु धूँवा फ्याँल्ने गाडीहरू मात्रै छन् । सिममार र जंगलमा आश्रित चराहरू लोप भइसके । आगन्तुक चराहरू पनि आउन छाडे । 

वरिष्ठ पक्षीविद् डा.हेमसागर बराल सन् १९९० को दशक सम्म हाँस लगायत विभिन्न चराहरू हेर्न मनहरा नदी किनार पुग्थे । त्यहाँ सुडसुडिस्या, महाचील, भूइँचील र पानी हाँसहरू देखिन्थे । 

संकटमा परेको जलअप्सरा । तस्वीरः हठन चौधरी

डा. बराल भन्छन्, ‘अचेल त्यहाँ घर, गाडी र मानिसको भीड मात्रै छन् ।’ 

बरालका अनुसार, काठमाडौं उपत्यकामा सन् १७९३ देखि अहिलेसम्म लगभग ६ सय प्रजातिका चराहरु रेकर्ड भएका छन् । गृष्म ऋतुमा भारत लगायत दक्षिण पूर्वी एसियाबाट थुप्रै चराहरु नेपाल आउने गरेका छन । हिउँदमा चीन, तिब्बत, मंगोलिया लगायत साइबेरियाबाट समेत बसाइँ सराई गरेर हिउँदे आगन्तुक चराहरु यहाँ आएर रमाउने गर्छन । 

करिव ७ बर्षअघि सम्म पनि उपत्यकामा थुप्रै आगन्तुक चराहरु आउँथे  तर, अहिले आगन्तुक चराहरुको संख्यामा निकै कमी आएको चरा विज्ञ हठन चौधरी बताउँछन् । 

चराको महत्व न सरकारले बुझ्यो, न काठमाडौंका वासिन्दाहरूले नै । यसैले, यहाँ सहरीकरण र विकासका बहस हुँदा चराको चर्चा नै कहिल्यै गरिएन । 

जताततै रुख काटिए । खुला क्षेत्र बाँकी राखिएन । नदीहरुमा पनि विषाक्त फोहोर मिसाइयो । सिमसार र पोखरी मासेर घरहरू ठड्याइए । 

सरकारको नीति–कार्यक्रममा संरक्षणका मुद्दा समावेशै नगरिएको होइन । तर, तिनको कार्यान्वयन गर्दा चाहिँ यो उपत्यका मानिसको मात्र नभई चराचर जगतको पनि हो भन्ने हेक्का कहिल्यै राखिँदैन । 

यसैको उदाहरण हो – कलंकी–कोटेश्वर सडक । यो सडक फराकिलो बनाउने क्रममा चराहरू बस्ने पिपल, काँइयों र शिरीष जस्ता एक हजारभन्दा बढी रुखहरू फेदैबाट काटिए । एउटा रुख काट्दा कम्तीमा २५ वटा बिरुवा रोप्ने सरकारी नियम पनि यहाँ पालना गरिएन । 

उपत्यकामा जे–जति चराहरू बाँचेका छन्, ती पनि अप्ठेरो अवस्थामा छन । बासस्थानका अभावमा कतिपय प्रजातिका चराले बिजुलीका खम्बा–टावर जस्ता मानव–निर्मित संरचनामा गुँड बनाएका छन् । 

अचेल काठमाडौं उपत्यकामा काग, भँगेरा, कालो चिल र परेवा जस्ता आम रुपमा पाइने चराहरू मात्रै पाइन्छन् । तर, यी चराहरु हुनु काठमाडौंको पारिस्थितिकीय प्रणाली (ईको–सिस्टम) स्वस्थ र सन्तुलित रहेको संकेत होइन । 

जुन ठाउँमा चराहरू पाइन छाड्छन्, त्यो ठाउँको वातावरण मानिसका लागि पनि विषाक्त हुन्छ । चराहरू लोप हुनुको अर्थ मानिसको अस्तित्व लोप हुने समय नजिकिएको प्रमाण पनि हो । 

नेपाल पंक्षी संरक्षण संघका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरीका अनुसार, चरा हराउँदा विभिन्न किरा फट्याङ्ग्राहरू अस्वभाविक  रुपमा बढ्छन्, जसले थरिथरिका रोग ब्याधि ल्याउने खतरा रहन्छ । 

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, फागुन २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्