काठमाडौंको कथा
प्राचीन काठमाडौंमा बस्ती बस्नुअघि नै बनेको सम्पदा काष्ठमण्डप २०७२ सालको भूकम्पमा गर्लम्म ढल्यो । ढिलै सही, युगौदेखि किंवदन्तीको रुपमा बाँचेको काष्ठमण्डपको पुनर्निर्माण सुरु भएको छ ।२०७२ सालको भूकम्पमा काष्ठमण्डप नढलेको भए त्यसलाई सायद ‘विनाशकारी भूकम्प’ भनिँदैन थियो ।
भौतिक संरचना मात्रै हेर्ने हो भने काष्ठमण्डप काठै काठले बनेको एउटा सत्तल मात्रै हो । तर, साँस्कृतिक महत्वका दृष्टिले काष्ठमण्डपसँग तुलना गर्न मिल्ने अर्को महत्वपूर्ण सम्पदा काठमाडौंभरि छैन ।
काष्ठमण्डप काठमाडौंकै पहिचान हो । काठमाडौंकै शान हो । भूकम्पमा गर्ल्याम्म ढलेपछि पनि काष्ठमण्डपले हामीलाई हाम्रो इतिहास र सँस्कृतिबारे धेरै कुरा बताउन र सिकाउन छाडेको छैन । यसबाट पनि काष्ठमण्डप कति महत्वपूर्ण सम्पदा हो भन्ने पुष्टि हुन्छ ।
भिडियो रिपोर्ट
काष्ठमण्डप निर्माण बारे प्रस्ट लेखिएको दस्तावेज अहिलेसम्म भेटिएको छैन । केही वंशावलीहरूमा सत्रौं शताब्दीका राजा लक्ष्मीनरसिंह मल्ल (सन् १६२१–१६४१) ले काष्ठमण्डप बनाएको भनी लेखिएको छ । लक्ष्मीनरसिंह मल्ल राजा प्रताप मल्लका पिता हुन् । तर, लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको जीर्णोद्धार मात्रै गरेका हुन् । यसको निर्माण त त्यो भन्दा पनि सयौं वर्ष अघि नै भइसकेको थियो । विभिन्न समयमा पाइएका ऐतिहासिक दस्तावेजहरूले काष्ठमण्डपको निर्माण लक्ष्मीनरसिंह मल्ल भन्दा करिब ६०० वर्षअघि नै भइसकेको प्रमाण दिएका छन् ।
तर अहिले काष्ठमण्डपको जग र त्यहाँ प्रयोग गरिएको निर्माण विधि एवं सामग्रीको अध्ययन गर्दा यो सातौँ शताब्दीमै निर्माण भइसकेको ठहर पुरातत्वविद्हरूले गरेका छन् । तथापि त्यहाँ भेटिएको पाँचौ शताब्दीको एउटा बुट्टेदार काठले भने काष्ठमण्डपको निर्माण त्यो भन्दा पनि पहिलै भएको हो कि भन्ने अनुमानलाई बल पुर्याएको सम्पदाविद् प्रा.डा. सुदर्शनराज तिवारी बताउँछन् ।
काठै काठले बनेको काष्ठमण्डपको आधार भनेकै काठ हो । ती काठमा पनि प्रमुख काठ हुन्, यसको चारैतिर उभ्याइने मोटा खम्बाहरू । गएको श्रीपञ्चमीमा काष्ठमण्डपमा ती खम्बा ठड्याइए । २५ फिट अग्ला ती वजनदार खम्बा उचाल्न २४ जना बलिष्ठ युवाको दह्रो काँध चाहिएको थियो ।
कालभैरवस्थानबाट खम्बा बोकेर काष्ठमण्डप निर्माणस्थलसम्म पुर्याइएको थियो । शुरुमा क्रेन प्रयोग गरी खम्बा ठड्याउने प्रस्ताव आएको थियो । तर काष्ठकार्यका मूल नाइके लक्ष्मीभक्त राजचलाले परम्परागत शैलीमै लिङ्गो उठाए सरी खम्बा उठाउने योजना अघि सारे । उनैको नेतृत्वमा रहेको टोलीले चारवटै खम्बा ठड्यायो ।
यी खम्बामाथि अब अरु काठका संरचनाहरू राखिने छन् । संरचनाहरू राख्दा एकले अर्को संरचनालाई जोड्न काठकै किला र चुकुल प्रयोग गरिने छ । काष्ठमण्डपभरि एउटै पनि फलामको किला ठोकिने छैन । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्य भन्छन्, ‘खम्बा ठडिएपछि अब तला थप्न सजिलो भयो । अब धमाधम माथिल्लो तलाको काम हुनेछ । असारसम्म पहिलो तल्ला बनाइसक्ने लक्ष्य छ ।’
मुख्य खम्बा ठड्याउँने अवसरलाई उत्सवकै रूपमा अविस्मरणीय बनाइएको थियो । त्यस अवसरमा काठमाडौं महानगरका सम्पूर्ण जनताको प्रतिनिधिका रूपमा महानगरका ६३ वटा परम्परागत टोलका ज्यापु नायः, १८ वटा बहाल र १८ वटा बहीका चक्रेश्वर लगायत महानगरका सम्पूर्ण जातीय गुठीका नायःहरूको उपस्थिति थियो ।
साथै काठमाडौं महानगरका जीवित देवी कुमारी (स्थान मात्र), मखन कुमारी, गणेश र भैरव लगायत पञ्चबुद्धलाई पनि कार्यक्रममा विराजमान गराइएको थियो । कार्यक्रममा काठमाडौंका सांसद लगायत विभिन्न वडाका वडाध्यक्ष र स्थानीय भाषा, धर्म, जाति क्षेत्रका विशिष्ट अगुवाहरूको पनि उत्साहपूर्ण उपस्थिति रहेको थियो । मुख्य खम्बाको संकल्प पूजा हुँदा स्थानीय नेवाः परम्परा अनुसार सहभागी सबैले अक्षता छर्किने (कीगः तीगु) कार्य समेत गरेका थिए । ती खम्बाहरूलाई तान्त्रिक र वैदिक विधिद्वारा पूजा गरिएको थियो ।
काष्ठमण्डपको मूल आधारका रूपमा रहेका यी चार वटा खम्बा मध्ये तीन वटा नयाँ नै बनाइएको थियो भने एउटा पुरानै प्रयोग गरिएको थियो । पुरानो खम्बा वैज्ञानिक परीक्षणबाट उपयुक्त ठहर भए पछि प्रयोग गरिएको हो । ती चार वटा खम्बाहरू स्थानीय मरु टोल, तःब्व भिमसेन टोल, ओमबहाल टोल र मखन टोलका स्थानीयवासीले बोकेर लगेका थिए । काष्ठमण्डप महानगरपालिकाका चार वटा वडाहरू (१९, २०, २३ र २४) अन्तर्गत रहेको हुनाले ती चार वटै वडाको प्रतिनिधिका रूपमा चार वटा टोलले बोक्ने कार्य गरिएको थियो । खम्बा बोकेर लैजाँदा परम्परागत नाय्खिं, धाः, धिमे, बाँसुरी र दाफा बाजाहरू पनि बजाइएको थियो ।
काष्ठमण्डप बारे धेरैले विश्वास गर्दै आएको एउटा जनविश्वास के हो भने यो मण्डप एउटै रूखको काठ प्रयोग गरी बनाइएको हो । रूख यति ठूलो थियो कि त्यसबाट पूरा काष्ठमण्डप बनाइसक्दा पनि काठ सकिएन । बाँकी रहेको काठबाट काष्ठमण्डपको छेउमै अर्को एउटा सत्तल पनि बनाइयो जसलाई ‘सिँल्यं सतः’ अर्थात ‘बाँकी रहेको काठको सत्तल’ भनिन्छ । यसपछि पनि बाँकी रहन गएको काठका टुक्राटाक्रीहरू जम्मै यी दुई सत्तलहरूको बीचमा एउटा खाल्डो खनी त्यहाँ गाडिएको थियो । काठ गाडिएको यो ठाउँमा अहिले मरु दबू बनाइएको छ । केही गरी काष्ठमण्डप मर्मत वा जीर्णोद्धार गर्नुपर्यो भने त्यही खाल्डोबाट पुरानै काठ झिकी प्रयोग गर्नुपर्छ भन्ने जनकथन पाइन्छ ।
काष्ठमण्डप बनाउँदा प्रयोग गर्नुपर्ने काठहरू जम्मै नजिकैको एउटा बौद्ध बहालमा राखिएको रहेछ । त्यो बहाललाई अहिले पनि ‘सिँखंमू बहाः’ भन्ने गरिन्छ । नेपालभाषामा ‘सिँ’ को अर्थ काठ हुन्छ, ‘खं’ को अर्थ डंगूर हुन्छ । यो बहाल अहिले कुमारी चोकसँगै जोडिएर रहेको छ ।
नेपाली समाजमा अत्यन्तै प्रचलित रहे पनि एउटै रूखको काठबाट काष्ठमण्डप बनेको भन्ने किंबदन्तीलाई पुष्टि गर्ने प्रमाण भने अहिलेसम्म नभेटिएको संयोजक शाक्य बताउँछन् ।