Kathmandu Press

गड्यौले मलले मालामाल

आनन्दशोभा ताम्राकारको घरमा झण्डै एक लाख गड्यौला छन् । ती गड्यौलाले बनाउने मल प्रति केजी २५ देखि ३५ रुपैयाँसम्ममा बिक्री हुन्छ । गड्यौला नै पनि प्रतिकिलो २ हजार रुपैयाँमा बिक्री हुन्छ । अहिलेसम्म उनले १० लाखभन्दा बढी गड्यौला बेचिसकेकी छिन् । गड्यौले मल त कति बेचिन् कति ! 
गड्यौले मलले मालामाल

आफ्नै घरअगाडि कसैले फोहोर फ्याँके के गर्नु हुन्छ ? आनन्दशोभा ताम्राकार चाहिँ खुशी हुन्छिन् ।

प्राणीशास्त्रकी यी अवकाशप्राप्त प्रोफेसर बिहान उठ्ने  बित्तिकै गेटबाहिर कसैले फोहोरको पोको छाडेर गएको छ कि भनी हेर्छिन् । फोहोर भेटिए दङ्ग पर्छिन् र टिपेर गेटभित्र लान्छिन् । 

उनी भन्छिन्, “बिहानै घर अगाडि फोहोरको पोको भेट्दा मेरो त दिनै राम्रो हुन्छ ।” 

Hardik ivf

अरुका लागि जे फोहोर हो, त्यो उनले पालेकी गड्यौलाहरूको आहारा हो । यसैले, उनी फोहोर भेट्दा खुशी हुन्छिन् । उनका गड्यौलाहरूले खान्छन् भनेर छिमेकीहरू पनि भान्साबाट निस्केका कुहिने फोहोरका पोकाहरू उनको घरअगाडि छाडेर जान्छन् ।  

काठमाडौं, ताहचलमा रहेको उनको घरमा झण्डै एक लाख गड्यौलाहरू छन् । ती गड्यौलाहरूले बनाउने मल प्रति केजी २५ देखि ३५ रुपैयाँसम्ममा बिक्री हुन्छ । गड्यौला नै पनि प्रतिकिलो २ हजार रुपैयाँमा बिक्री हुन्छ । अहिलेसम्म उनले १० लाखभन्दा बढी गड्यौला बेचिसकेकी छिन् । गड्यौले मल त कति बेचिन् कति ! 

उनी सात वर्षअघिसम्म त्रिभुवन विश्वविद्यालयमा प्राणीशास्त्र अध्यापन गर्थिन् । विश्वविद्यालयमा पढाउँदा हात पर्ने मासिक तलबभन्दा बढी आम्दानी गड्यौला पालनबाटै हुने उनको अनुभव छ । उनी भन्छन्, “आम्दानी त छँदैछ, घरछिमेकको फोहोर व्यवस्थापन हुने र वातावरण स्वच्छ हुने फाइदा पनि छँदैछ ।”

दुई दशक अघि उनी अमेरिकाको क्यालिफोर्निया राज्य पुगेकी थिइन् । त्यहीँ उनले व्यवसायिक गड्यौला पालनको महत्व र तरिकाबारे थाहा पाइन् । 

अमेरिकाबाट फर्केलगतै आनन्दशोभाले गड्यौला खेतीबारे थप अध्ययन गर्न थालिन् । त्यस बेला नेपालमा कसैले व्यवसायिक गड्यौला पालन सुरु गरेकै थिएन । सन् १९९७मा भारतको बैङ्लोरबाट करिब ४ सय वटा रातो गड्यौला ल्याएर उनले गड्यौले मल बनाउन सुरु गरिन् ।

सुरुमा त उनलाई साथीभाइ र छिमेकीहरूले खिसीट्यूरी गरे । अरु प्रोफेसरहरू प्रायःकिताबका चाङबीच भेटिइन्थे । उनी चाहिँ बिहान–बेलुकी नै फोहोरको डङ्गुरमा हुन्थिन् ।

विस्तारै अरुले पनि गड्यौला पालनको महत्वबारे बुझे । र, उनीसँग त्यसको तरिकाबारे सिक्न थाले । विभिन्न संस्थाहरूले उनलाई गड्यौला पालन तालिम दिन बोलाउन थाले । हालसम्म उनले नेपालका ४५ भन्दा बढी जिल्लाका किसानलाई गड्यौला पालन तालिम दिइसकेकी छिन् ।

अहिले विभिन्न विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा गड्यौला खेतीसम्बन्धि पाठहरू समावेश गरिएका छन् । यो उनकै प्रयासले सम्भव भएको हो । 

आनन्दशोभाकै पहलमा २०६० सालतिर काठमाडौं महानगरपालिकाले ठूलो परिमाणमा गड्यौला खेती सुरु गरेको थियो । टेकुका २ सय घरबाट निस्किने जैविक फोहोर एकै ठाउँ भेला गरी गड्यौले मल उत्पादन गर्ने कार्यक्रम सुरु भएको थियो । यसमा जाइकाले पनि प्राविधिक सहयोग गरेको थियो । तर, त्यो कामले निरन्तरता पाउन सकेन । 

उनकै प्रयासमा पोखराको फेवाताल मिच्ने जलकुम्भी झारको व्यवस्थापनमा पनि गड्यौलाको प्रयोग भइरहेको छ । एनआरडीसी नामक गैरसरकारी संस्थाले फेवातालको जलकुम्भीझार गड्यौलालाई खुवाएर मल उत्पादन गरिरहेको छ । 

त्रिभुवन विश्वविद्यालयको वातावरण विभाग र काठमाडौंको ह्वाइटहाउस कलेजमा पनि अहिले गड्यौला खेती हुन्छ । त्यहाँ पनि उनैले यो ज्ञान हस्तान्तरण गरेकी थिइन् । 

सामुदायिक रुपमा गड्यौला पालन गर्दा फोहोर व्यवस्थापन भई वातावरण स्वच्छ हुने त छँदैछ, रोजगारी पनि सिर्जना हुन्छ । यसको उदाहरण हो – काठमाडौं, रामकोटमा केही युवाहरूले सञ्चालन गरिरहेको प्रारम्भ बायोटेक । 

प्रारम्भ वायोटेकले २०६९ सालमा ३ रोपनी जग्गा भाडामा लिएर गड्यौले मल उत्पादन सुरु गरेको थियो । अहिले यो खेतीे ६ रोपनीमा फैलिइसकेको छ । प्रारम्भ वायोटेकले अहिले वार्षिक ५ लाख किलोसम्म गड्यौला बिक्री गर्छ । 

पूर्व मन्त्री भक्तबहादुर बलायरले पनि व्यवसायिक रुपमै गड्यौला पालन गरिरहेका छन् । उनले ललितपुरको गोदावरीस्थित बाडेगाउ‘मा ५ रोपनी जग्गामा गड्यौला मल उत्पादन गर्दै आएका छन् ।

गुनी गड्यौला

गड्यौला एकदमै सोझो र गुणी जीव हो । गड्यौलाले न कसैलाई टोक्छ, त कसैलाई हानी पुर्‍याउँछ ।कराउने, हल्ला गर्ने पनि गर्दैन । सानो ठाउँ पाए पुग्छ । त्यहीँ स्याउँस्याउँ गर्दै बस्छ । गड्यौला पाल्न इन्धन वा पेट्रोल पनि चाहिँदैन । शारीरीक रुपले कमजोर र अशक्त व्यक्तिहरूले पनि सजिलै गड्यौला पाल्न सक्छन् । 

घर–भान्साबाट निस्किने ६० प्रतिशतभन्दा बढी फोहोर जैविक हुन्छ । तरकारी, फलफुलका बोक्रा, कागज, काठको मसिना धुलो, झारपात, सुतीको कपडा र जुटको पुराना बोराजस्ता जैविक फोहोर गड्यौलाका लागि चाहिँ एकदमै पौष्टिक आहारा हो । यस्ता जैविक फोहोर खाएर गड्यौलाले निकाल्ने मल गन्धरहित हुन्छ । गड्यौलालाई गाईको गोबर पनि खुब मन पर्छ । गोबर जति खायो, त्यति नै छिटो मल बनाउँछ र बच्चाहरू जन्माउँछन् । फोहोरमा भएको ५ देखि १० प्रतिशत पौष्टिकत्तत्व मात्रै गड्यौलाले लिन्छ, बाँकी ९० देखि ९५ प्रतिशत मलसँगै निस्किन्छ । यसैले, गड्यौले मल निकै पोषिलो र प्रभावकारी हुन्छ । 

गड्यौले मलमा एक प्रकारको चिल्लो पदार्थ (म्यूकस) हुन्छ, जसमा असंख्य सूक्ष्म जीवाणुहरू हुन्छन् । गड्यौले मलमा पाइने पौष्टिक तत्व र म्यूकसले माटोलाई उर्वर बनाउँछ । गड्यौले मल हालिएको माटोमा फलफुल र सागसब्जीहरू सप्रिन्छन् । म्युकसले विषादिको कामपनि गर्छ । यसैले, गड्यौले मलप्रयोग गरिएको खेतमा किरा लाग्दैन । रासायनिक मलको तुलनामा गडयौले मलको पानी सोस्ने क्षमता अझ बढी हुन्छ । गड्यौले मलमा क्षारीय गुण धेरै हुने भएकोले वरिपरिको माटोलाई पनि राम्रो बनाउँदै लान्छ । अग्र्यानिक खेतीकालागि गड्यौले मल एकदमै उपयोगी हुन्छ । 

तर, सबै गड्यौलाले मल बनाउँदैन । विशेष प्रकारको रातो रङको गड्यौलाले मात्रै मल उत्पादन गर्छ । यसरी मलबनाउने रातो गड्यौला संसारभर जम्मा ६ प्रकारका मात्रै छन् । ती मध्ये तीनप्रकारका नेपालमा पाइन्छन् । मल बनाउने रातो गड्यौलाको वैज्ञानिक नाम ‘आईसेनिया फिटीडा’ हो । 

गड्यौलाका फाइदाहरु

रातो गड्यौलाको उपयोगिता मल बनाउनुमा मात्रै सीमित छैन । ताम्राकारको एक अध्ययन अनुसार गडयौलामा ६८ प्रतिशत प्रोटिन पाइन्छ । यसैले, गड्यौलालाई कुखुरा, हाँस र माछा लगायतका जीवजन्तुको दानामा प्रोटिनको रुपमा प्रयोग गर्न सकिन्छ । ट्राउट लगायतका मांसाहारी माछाको लागि त यो अत्यन्तउपयोगी हुन्छ । खेतबारीमा प्रयोग हुने विषादिका कारण कीरा खाएर प्रकृति चक्रलाई बचाइराख्ने भ्यागुताको संख्या घटिरहेको छ ।  

गड्यौला भ्यागुताको मन पर्ने आहारा भएकोले गड्यौला खुवाएर भ्यागुता पाल्न सकिन्छ । यसले प्राकृतिक सन्तुलन कायम गर्नुका साथै चिकित्साशास्त्रका विद्यार्थीलाई पनि सहयोग पुग्नेछ । चराहरु प्नि गड्यौला मन पराउँछन् । 

गड्यौलामा हुने प्रोटिनकै कारण यसको प्रयोग विभिन्न रोगहरूको उपचारमा समेत हुने गरेको छ । वाथ रोग, घुँडा दुख्ने रोग, पाईल्स, टि बी र हातखुट्टा सुन्निने लगायतका समस्यामा गड्यौला औषधि हो । युनानी उपचार विधिमा गड्यौलाको प्रयोग धेरै हुने गरेको पुष्टि भइसकेको छ । 

प्रकाशित मिति: १७:३६ बजे, आइतबार, माघ २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्