टाँगियावासीलाई उठिवासको चिन्ता
वीरगञ्ज, चैत ११ : पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि ईन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपूर्जा देख्नसमेत पाएका छैन । ‘आफ्नै ज....
वीरगञ्ज, चैत ११ : पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि ईन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपूर्जा देख्नसमेत पाएका छैन । ‘आफ्नै जीवनमा लालपूर्जा बने हुन्थ्यो, छोरानातिले जग्गा नहुनाको पीडा भोग्न नपरोस्,’ उनले भने।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६टाँगियाबस्तीमा १४ हजार ७६ घरधुरीले घर कहाँ भने सोध्दा ‘टाँगियाबस्ती’ भन्छन् तर त्यहाँ उनीहरूको नाममा जग्गा छैन । सबै समुदायका एउटै थलोमा रहेका उनीहरू त्यहाँ २०३० देखि बसोवास गर्दै आए पनि लालपूर्जा पाउन सकेका छैनन्।
लालपुर्जाले हरेक चुनावमा माहौल तताउने गर्छ । नेताहरूले भोटमाग्न आउँदा जितेपछि लालपूर्जा उपलब्ध गराइदिन्छौ भने पनि अहिलेसम्म बेवास्था गरेको गुनासो गर्दै पवित्रा सुन्दारले भनिन्, ‘अब त दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि हामीलाई उठिवास हुने पीडाले सताउन थालेको छ।’
विमानस्थलको धावनमार्गको बिचमै टाँगियाबस्ती रहेकाले यसलाई अन्यत्र सार्न करीब चार अर्ब लाग्ने अनुमान गरिएको छ । सिमरास्थित विमानस्थल आयोजना कार्यालयका अनुसार मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णका लागि मुख्य समस्या भनेको बस्तीलाई स्थानान्तरण गर्न कठिन हुनु हो।
जितपुर सिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेलले भने, ‘बस्तीलाई अन्यत्र सार्नका लागि नजिकैको पसहा, हरैया र तामागढी गरी तीन ठाउँ हेरिएको र त्यसबारे अध्यान भइरहेको छ।’
४२ वर्ष अघिदेखि पूर्व–पश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्डको १६ किलोमिटर भन्ने ठाउँबाट चार किलोमिटर दक्षिणतर्फ सात सय ३१ बिगाहा १४ कठ्ठा ऐलानी जङ्गल फँडानी गरेर बस्ती बसालिएको थियो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एक हजार एक सय बिगाहा जग्गा छुट्याइएकोमा सात सय ३१ बिघा १४ कठ्ठा जमीन बस्तीको जग्गा धावनमार्गको मध्यभागमा परेको छ।
सहजनाथ तथा तामागढी साझोदारी वनको बिचमा रहेको बस्तीका बासिन्दा बेरोजगार भएकाले घरेलु मदिरा उत्पादन तथा बिक्री नै उनीहरूको मुख्य पेशा बनेको छ । उनीहरूलाई उचित ठाउँमा पूर्वाधार सहितको बस्ती बसाल्न २०६४ देखि सरकारसँग छलफल हुँदै आएको छ।
लोकतन्त्र प्राप्तिपछि देशमा सबैले अधिकार पाएपनि बस्तीका सुकुम्बासी ४२ वर्षदेखि सुकुम्वासी नै रहनु परेको उनीहरुको गुनासो छ । बस्तीमा एक हजार चार सय ७६ घरधुरीका करीब १० हजारमध्ये दुई हजार ६ सय मतदाता छन् । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताबाट वञ्चित रहेका बस्तीका बासिन्दा अब विमानस्थल निर्माणसँगै विस्थापित हुनुपर्ने भएकामा खिन्न छन्।
बस्ती अन्यत्र सारिदा प्रतिपरिवार दुई बिघा पाँच कठ्ठाको दरले जग्गा उपलब्ध गराउनुपर्ने, आयोजनास्थलको बाहिर तथा तीन किलोमिटरभित्र मुआब्जाको जग्गा उपलब्ध गराउनुपर्ने, एक घर एक रोजगारीको सुनिश्चिता हुनुपर्ने, १८ महिनासम्म रासनपानीको व्यवस्थालगायत पूर्वाधारको व्यवस्था गरिनुपर्ने माग अघि सारिएको टाँगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बताए।
बाराको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने उक्त बस्तीका सुकुम्वासीको माग छ, ‘हामी त ४२ वर्षदेखि सुकुम्वासी भएर जीवन गुजा¥र्यौ तर आउने सन्तानले सुकुम्वासी भएर बाँच्नु नपरोस ।’ (रासस)