Kathmandu Press

कोरोना महामारी : संक्रमणमुक्त हुँदै गरेको बेलायतबाट नेपालले के सिक्ने ?

लन्डन, साउन ४ :  गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ।

यो....

कोरोना महामारी : संक्रमणमुक्त हुँदै गरेको बेलायतबाट नेपालले के सिक्ने ?
फाइल

लन्डन, साउन ४ :  गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ।

यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक हो। अहिले भने यहाँ यो महामारीको असर निकै कम हुँदै गएको देखिएको छ । बेलायतमा हालसम्म करीब ४६ हजार मानिसको यसै महामारीका कारण मृत्यु भएको छ। 

 हिजोआज भने दिनमा १०० भन्दा कमैको ज्यान जाने गरेको छ। यहाँ महिना दिनअघि सम्म कुनै दिन त एक हजार २०० सम्मको पनि मृत्यु भएको थियो । यहाँ यस महामारीबाट नेपाली पनि हाल सम्म ६७ जनाको मृत्यु भइसकेको छ। बेलायतमा सरकारले तोकेको बन्दाबन्दी बिस्तारै खुकुलो हुँदैछ भने जनजीवन सतर्कता साथ सामान्यतर्फ उन्मुख भइरहेको छ।

Hardik ivf

बेलायतमा नेपालमा जस्तै वार्षिक रुपमा अर्थात् मनसुनको बेलामा आउने बाढीका लागिसमेत पूर्व तयारीस्वरुप समितिसमेत गठन हुने गरेका छन्। ती समितिहरुको समन्वयात्मक कार्यका कारण जति ठूलो बाढी आए पनि बढीमा १० दिनभित्रै त्यसको व्यवस्थापन गर्ने गरेको पाइएको छ। कोरोना जस्ता महामारी भने यहाँका लागि पनि आकस्मिक नै थियो। यसका लागि पूर्वतयारीको अवस्थामा रहने कुरा भएन। त्यसैले तयारी गर्दागर्दै पनि यहाँ यो महामारीबाट ठूलो सङ्ख्याका नागरिकको ज्यान गयो।

 तर अझै धेरैको मृत्यु हुन्छ भनिएकामा त्यसलाई रोक्न यहाँको सरकारले निकै ठूलो प्रयत्न गरेको थियो। अहिले गरिएका विश्लेषणहरुमा सरकारले समयमै प्रभावकारी काम गर्न सकेकाले महामारी फैलिन नपाएको र धेरैको ज्यान बचेको बताउने गरिएको छ । यसरी सरकार अरू हजारौँ मृत्यु रोक्न सफल भएको यहाँका वैज्ञानिकहरूको भनाइ छ।

नेपालमा जस्तै बेलायतमा पनि सरकारलाई सल्लाह दिने निकाय छन् र ती सल्लाह र सुझावहरुलाई यहाँको सरकारले ठीक तरिकाले प्रयोग गर्ने गरेको छ । कोरोना देखिएपछि सरकारका स्वास्थ्य सल्लाहकारहरूले बन्दाबन्दी नगरिए दुई लाख पचास हजार मानिसको ज्यान जाने बताएका थिए।

शुरुमा यसलाई वास्ता नगरेपछि मृत्यको सङ्ख्या पनि एक्कासि बढ्यो र प्रधानमन्त्रीले पुनः बैठक बोलाएर  वैज्ञानिकहरूको सो चेतावनीबारेमा छलफल पनि गरे।  त्यसपछि सरकारले २३ मार्चमा बन्दाबन्दीको घोषणा गर्‍यो। बन्दाबन्दी घोषणा गरेलगत्तै जनताका नाममा सरकारले अपिल गरेर यो सङ्कटमा सहयोग गर्न आग्रह पनि गर्‍यो। 

जनतालाई सुरक्षित राख्न यहाँको सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड निकाल्यो। त्यस्तै स्वास्थ क्षेत्रमा काम गरेका पूर्वकर्मचारीहरुलाई सहयोगका लागि आह्वान पनि गर्‍यो। यसरी गरिएको आह्वानमा १० दिनको बीचमा स्वास्थ सेवामा काम गरेर अवकाश पाएका पाँच लाख कर्मचारीले स्वयंसेवकका रुपमा काम गर्न तयार भए। जनताबाट पाएको यो साथले सरकारलाई आत्मबल थपियो। नागरिकबाट साथ पाएपछि सरकारले कसरी काम गर्न सक्छ भन्ने उदाहरण यहाँ राम्रोसँग देख्न सकियो। 

कोरोना आएसँगै सरकारले सेना परिचालन गर्‍यो। बेलायती सेनामा गोर्खा सैनिकको पनि ठूलो योगदान छ। यो कोरोनाको समयमा पनि गोर्खा बटालियनको अग्रसरतमा १० दिनमा चार हजार जनासम्म बिरामी राख्न सकिने गरी लन्डनमा नाइटिङ्गल अस्पताल निर्माण भयो। जसमा ५०० वटा आइसियू कक्षसमेत बनाइएको थियो।

हाल कोरोनाका बिरामी घटेसँगै यो अस्पताल क्यान्सर अस्पतालका रुपमा रुपान्तर भइसकेको छ। तर नेपालमा भने कोरोना महामारी भित्रिएपछि के कति अस्पताल बने वा भएका अस्पतालहरुको पनि के कस्तो व्यवस्थापन गर्न सकियो भन्ने कुरा हामीले मनन गर्नुपर्दछ। 

मार्च २३ देखि बन्दाबन्दीको घोषणा गर्दा बेलायत सरकारसँग मुस्किलले दैनिक तीन हजार जनाको मात्र पिसिआर परीक्षण गर्नसक्ने क्षमता थियो। तर आजको दिनमा ८० हजार एन्टिबडी टेष्टसहित पिसिआर टेष्टको क्षमता दुई लाख ५२ हजार ८४ पुर्‍याइएको छ। यो अर्को महत्वपूर्ण कारण बन्यो कोरोनाको नियन्त्रणका लागि।

बेलायतका इङ्ल्यान्ड, स्कटल्यान्ड, नर्दन आयरल्यान्ड, वयल्स सबै ठाउँमा आजको दिनमा आवश्यकता हेरेर घरघरमा किट पठाउने व्यवस्था गरिएको छ भने स्वास्थकर्मीहरुलाई समेत पछिल्लो समयमा विशेष प्राथमिकताका साथ कोरोना परीक्षण गराइएको छ।

कोरोना सङक्रमणलाई फाइदाका रुपमा लिन खोज्ने कतिपय मेडिकल क्षेत्रका संस्थालाई कार्वाहीको दायरासमेत ल्याइएको छ। लन्डनको हार्ली स्ट्रिट भनेको निजी अस्पताल र क्लिनिकहरु भएको ठाउँ हो। कोरोनापछि यहाँको एक क्लिनिकले प्रतिव्यक्ति पिसिआर परीक्षण गरेको ५०० पाउन्डसम्म लिएपछि अनुसन्धान थालियो।

उक्त क्लिनिकले बजार भाउभन्दा तीन गुना बढी लिएको देखिएपछि उक्त क्लिनिक बन्द गरी क्लिनिकका मालिकको लाइसेन्स खारेज गरेको सार्वजनिक सूचना सरकारले प्रसारण गरेको थियो। यसले गर्दा यहाँ जनताले बाहिर गएर होइन सरकारले नै टेष्ट किट दिन्छ भनेर कुरे र पाइरहेका पनि छन्। कोरोना देखिएपछि सरकारले स्वास्थ सामग्री खरिद गर्न पनि जतिसक्दो छोटो बाटो अपनाएको थियो। 

चीनबाट करीब छ लाख पाउन्ड बराबरको किटसमेत गरी अरू मेडिकल सामग्री ल्याउने निर्णय भयो। तर पछि भने उक्त किट गुणस्तरहीन भएको र सुरक्षा मापदण्ड पूरा नगरेको देखिएपछि सम्पूर्ण सामग्री फिर्ता गरेर रकम पनि फिर्ता माग्यो । पछि भने बेलायतको फ्रान्सिस क्रिक इन्स्टिच्युटमा आबद्ध वैज्ञानिक डा चाल्स स्वोटनको समूहले पिसिआर टेष्ट किट बनाउन थाल्यो। जसका कारण अहिले यहाँ किटको अभाव छैन। तर नेपालमा भने लामो समयसम्म पनि स्वास्थ्य सामग्री खरिदका विषयमा लामो समयदेखि ने अलमल देखिएको थियो। हामीले किट बनाउने कुरा त कल्पना बाहिरको कुरा रह्यो तर खरिद गर्नसमेत समयमा सकेनौँ। 

कोरोना देखिएपछि स्वास्थ्यसँग सरोकार राख्ने अधिकांश सङ्घसंस्थाले अध्ययन अनुसन्धान थाले र यसका कारण कुन ठाउँमा कुन गतिमा यो सङ्क्रमण फैलिन्छ भन्ने तालिका नै प्रकाशन गरेर।  त्यो अनुमानले सरकार तथा नागरिकलाई पनि सोही अनुसारको सावधानी अपनाउन भनियो र सजिलो पनि भयो। बन्दाबन्दीको घोषणा भएकै दिनदेखि अधिकांशले सरकारले भनेबमोजिम मात्र आवतजावत गरे। नागरिकले सरकारको आदेशको पूर्णतया पालना गरे।

अत्यावश्यकबाहेक बाहिर नहिँड्न भनेपछि बेलायतीहरु निकै सावधानीका साथ बाहिर निस्के।  बिनाकारण निस्कनेहरुलाई प्रहरीले ठूलो रकम जरिवाना तिरायो। स्कुल कलेज अझै पूर्णरुपमा खुलेका छैनन् तर जहाँ थोरै मात्रामा खुलेका छन् त्यहाँ अभिभावकहरूको मत बुझेर सर्भेका आधारमा खुला गरिएको हो। अधिकांश अभिभावकहरु बालबालिका पठाउन अनिच्छुक देखिएका कारण विद्यालय खोल्न पनि हतार गरिएन।

कोरोनाका कारण रोजगारी गुमाउनु परेका नागरिकलाई उनीहरुले खाइपाइ आएको तलबको ८० प्रतिशत राहात रकम दिने घोषणा सरकारले गर्‍यो। यसका कारण पनि नागरिकलाई बाहिर निस्कन त्यति हतार गर्नुपरेन। तर अत्यावश्यकलाई भने सरकारको रोकतोक थिएन। साथै बैंकहरूले घरजग्गा किन्दा दिँदै आएको मासिक किस्ता तीन महिनाका लागि तिर्न नपर्ने भनेर सरकारले घोषणा गरिदियो। यसका कारण आर्थिक संकटको महसुस पनि कम हुन गयो। जसले गर्दा सामाजिक दुरी लगायतका सावधानी प्रभावकारी बन्यो। 

कोरोनाको रोकथामका लागि बेलायतमा खोपको विकास भइसकेको छ। तीन हप्ताअघि खोपको परीक्षण समेत भएको थियो । जसले भ्यान्टिलेटरमा रहेका विरामीलाई ४० प्रतिशत र अन्यलाई साठी प्रतिशत काम गरेको जानकारी दिइएको छ। यसलाई अब क्लिनिकल्ली अनुमोदन गर्न बाँकी छ। सम्भवतः दुई तीन हप्तामा यो प्रक्रिया पनि पुरा भइ बजारमा आउने अनुमान गरिएको छ। बताइएअनुसार सात दिनका लागि बनाइएको डोज (मात्रा) का लागि प्रत्येक दिन पाँच पाउण्ड लाग्ने र एक हप्तामा ३५ पाउण्ड पर्ने छ। जसको नेपाली मूल्य केवल पाँच हजार पर्ने देखिन्छ। 

जनस्तरबाट ठूलो सहयोग भएका कारण पनि कोरोना सोचेभन्दा छिटो काबुमा आएको यहाँका सरकारी अधिकारी र वैज्ञानिकहरुको भनाई छ। सरकारले गर्न खोजेका धेरै काम थिए तर आर्थिक हिसाबले अलि कठिन हुन पुगेको यस क्षेत्रका अधिकार बताउँछन्। तर जनता आफैँ सरकारका लागि सहयोग जुटाउन लागि परे। जस्तो कि यहाँका एकजना ९२ वर्षिय बेलायती सेनाका पूर्व अधिकारी टम मुरले यहाँको स्वास्थ संस्थाका लागि बन्दाबन्दीका बेला आफ्नै घरको बगौंचामा दैनिक हिँडेर २९ मिलियन पाउण्ड रकम उठाए। जुन रकम १० दिनमा बनेको नाइटिङ्गल अस्पतालका लागि खर्च गरियो। टमकै प्रभावबाट सयौँले थोरै धेरै पैसा उठाएर स्थानीय र केन्द्रीय अस्पताललाई सहयोग गरेका थिए। 

यस्तै यहाँका निजी अस्पतालहरूले पनि सरकारलाई सहयोग गरे। निजी अस्पतालहरूले आफ्ना ८०० वटा वेड सरकारलाई प्रयोग गर्न दिए। उनीहरूले बेड मात्रै नभएर सो अस्पतालमा भएका सबै उपकरण समेत दिए। यतिमात्र होइन बेलायतका अस्पतालमा यहाँका रेष्टुरेण्ट व्यवसायी तथा अन्य ठूला उद्योगले निःशुल्क खाना र कपडा समेत दिएका छन्। हरेकहप्ता जसो प्रत्येक विहीबार साँझ ८ बजे स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको हौसला बढाउन घरबाट बाहिर निस्केर एक मिनेट ताली बजाउने काम पनि लण्डनमा सबैतिर भएको थियो।

बन्दाबन्दी भएलगत्तै सरकारले उद्योगपतिहरूलाई बोलाएर अस्पतालका लागि अत्यावश्यक औजार, भ्यान्टिलेटर र पिपिई उत्पादक गरिदिन अनुरोध गर्‍यो। उनीहरुले सरकारको सो आग्रहलाई माने र उत्पादन बढाए। त्यसै अनुरुप उत्पादन थपिँदै गएको छ। हाल बजारमा आएका कमसल खालका कुनै पनि पिपिई प्रयोग नगर्न साथै अनलाइनमा पाइने सस्ता मास्कहरु पनि प्रयोग नगर्न अनुरोध गरिएको छ भने अस्पतालमा पुग्ने सबैलाई शुरुमा निःशुल्क मास्क दिएर मात्र अस्पताल प्रवेश गर्न दिइएको छ। 

समग्रमा बेलायतमा यो महामारीमा जनस्तरबाट व्यापक सहयोग भयो भने सरकारले पनि गर्नसक्ने जति काम बेलैमा गर्‍यो। अझै पनि सरकारले गर्न सक्ने काममा थोरै ढिला भएको महसुस यहाँका नागरिकले गरेका छन् र आगामी दिनमा पनि यस्तै महामारीको सामना गर्नुपर्ने अवस्था आयो भने त्यसका लागि यो अवस्थालाई पाठका रुपमा लिन नागरिकले दिएका सुझावलाई सरकारले सहजै ग्रहण गरिरहेको जनाएको छ। यहाँको विपक्षी राजनीतिक दलले पनि यो महामारीलाई राजनैतिक रुपमा नभएर सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर हेर्‍यो र सह्यो पनि गर्‍यो।

तर नेपालमा भने कोरोनाका सङ्क्रमितहरुका साथै यसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो देखिएको छ। नेपालमा अस्पताल तथा क्वारेन्टिनमा कोरोना भाइरसका सङ्क्रमितहरु रहेका छन्। त्यसैले पनि हामी नेपालीहरुले विश्वका अरु देशले कोरोना भाइरसलाई के कसरी जिते भन्ने बारेमा उनीहरुका अनुभवहरु लिन सकिन्छ।

महामारीका सङ्क्रमित र मृत्यको सङ्ख्या प्रतिदिन बढ्दै गएको नेपालमा बेलायतले गरेका यी माथिका केही कार्यहरुबाट धेरै सिक्न सकिने देखिन्छ। 

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्