तीन हजार मिटर उचाइमा ‘फार्म टु फेसन’
थ्रेड्स अफ द हिमालय फाउन्डेसन र नेपाली पहिरनलाई विश्वबजारमा चिनाउँदै आएको ‘कासा’ ब्रान्डको संयुक्त आयोजनामा भएको कार्यक्रमका लागि काठमाडौंबाट ५५ जनाको टोली बाजुरा पुगेको थियो। नेपाली परिकारलाई विश्वसामु चिनाउन बीबीसी मास्टरसेफ सन्तोष शाह सहभागी थिए भने पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको पनि उपस्थिति थियो।
काठमाडौं, कात्तिक २० : समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको बाजुराको पोरखे लेकस्थित लामासिम डाँडा फरक रङ्गमा सजियो। बडिमालिकाको काखमा चिसो सिरेटोसँगै भेडाका बथान चरिरहँदा त्यही खर्क फेसनको खुला मञ्च बन्यो। किसानको श्रमलाई विश्व बजारसँग जोड्ने र बडिमालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘थ्रेड्स अफ द हिमालयः फार्म टु फेसन’ ले हिमाली जनजीवन र आधुनिक पहिरनलाई एउटै मञ्चमा उतार्यो।
थ्रेड्स अफ द हिमालय फाउन्डेसन र नेपाली पहिरनलाई विश्वबजारमा चिनाउँदै आएको ‘कासा’ ब्रान्डको संयुक्त आयोजनामा भएको कार्यक्रमका लागि काठमाडौंबाट ५५ जनाको टोली बाजुरा पुगेको थियो। नेपाली परिकारलाई विश्वसामु चिनाउन बीबीसी मास्टरसेफ सन्तोष शाह सहभागी थिए भने पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको पनि उपस्थिति थियो।
स्थानीय सीप र आधुनिक डिजाइनमा बाजुराकै भेडाको ऊनबाट तयार पारिएका पहिरनमा स्वेता खड्का, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, नीति शाह, भावना पन्त र आयुष्मान देशराज जोशीलगायत तीन दर्जनभन्दा बढी कलाकार तथा मोडल र्याम्पमा उत्रिए। उनीहरूको प्रस्तुतिले चिसो लामासिममा उत्साहको न्यानोपन थप्यो। ऊनका पहिरन विदेश निर्यात गर्दै आएको कासाले बाजुराको ऊनलाई प्राथमिकता दिनु स्थानीय भेडापालकका लागि आफ्नो उत्पादनको सम्भावना देखाउने अवसर बन्यो।
कार्यक्रमको केन्द्रमा फेसनसँगै किसानको समृद्धिको सपना थियो। तथ्याङ्कअनुसार बाजुरामा मात्रै ७० हजारभन्दा बढी भेडा छन्। छिमेकी बझाङ र दार्चुलामा पनि ऊन उत्पादनको उत्तिकै सम्भावना छ। पर्यटन व्यवसायी जनेश भण्डारीका अनुसार गाउँमै खेर जाने वा कौडीको भाउमा बेचिने ऊन प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु कार्यक्रमको लक्ष्य हो। भौगोलिक कठिनाइबीच आयोजित कार्यक्रमले बडिमालिकाको पर्यटनलाई स्थानीय उत्पादन र आर्थिक गतिविधिसँग जोड्ने प्रयास गरेको उनले बताए।
अब बाजुरा र आसपासका जिल्लाबाट ऊन संकलन गरी बाजुरामै प्रशोधन केन्द्र स्थापना गर्ने योजना छ। यसबाट युवालाई गाउँमै रोजगारी दिने र संकटमा परेको पुर्ख्यौली भेडापालन पेसालाई सम्मानित तथा व्यावसायिक बनाउने लक्ष्य छ। लामासिमको र्याम्पबाट सुरु भएको प्रयासले बडिमालिकाको पर्यटनलाई नयाँ पहिचान दिँदै किसानको श्रमलाई संसारभर न्यानोपनका रूपमा पुर्याउने आशा जगाएको छ।





