भक्तपुरमा महेश बस्नेत र काभ्रेमा गोकुल बाँस्कोटाको नाम एकल सिफारिस
सचिव बस्नेतको नाम भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ र बास्कोटाको नाम काभ्रे २ बाट एकल सिफारिस भएको हो।
काठमाडौं, पुस २१ : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सचिव महेश बस्नेत र नेता गोकुल बाँस्कोटाको नाम एकल सिफारिस भएको छ।
सचिव बस्नेतको नाम भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएको हो। बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। ०७९ को निर्वाचनमा भने कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए।
जेनजी आन्दोलनको नाममा देशभर अराजक गतिविधि बढ्दै राजनीतिक दलहरूलाई अघोषित रूपमा प्रतिबन्ध लगाउने प्रयास भइरहेका बेला बस्नेतले राजनीतिक मैदानमा उत्रिएर त्यसको प्रतिवाद गरेका थिए।
बस्नेत सक्रिय रूपमा सडक र राजनीतिक गतिविधिमा उत्रिएपछि एमालेका अन्य नेता तथा अन्य राजनीतिक दलहरू पनि क्रमशः सार्वजनिक रूपमा सक्रिय बनेका थिए।
यस्तै, काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस गरिएको छ। बास्कोटा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भइसकेका छन्।
एकल नाम सिफारिस भएकोले यी निर्वाचन क्षेत्रबाट उनीहरू चुनाव लड्ने करिब निश्चित भएको छ । तथापि अन्तिम निर्णय भने पार्टी केन्द्रले गर्नेछ।












