स्टार्टअप क्षेत्रमा महिलाका अवसर र चुनौती सम्बोधन गर्न सबैको साझा प्रयास आवश्यक : मन्त्री सिन्हा
उनले कृषि, पर्यटन सेवा तथा सिर्जनात्मक उद्योगजस्ता क्षेत्रमा महिलाले आफ्नो सीप, ज्ञान र सोचलाई व्यवसायमा रूपान्तरण गरिरहेको अवस्था स्पष्ट रूपमा देखिएको बताए।
काठमाडौं, पुस २१ : उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि बढ्दो अवसरसँगै विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
नीति रिर्सच प्रालिको आयोजना एवम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले पछिल्लो समय स्टार्टअप क्षेत्रमा महिलाका लागि नयाँ–नयाँ अवसरहरू खुलेको उल्लेख गरे।
उनले कृषि, पर्यटन सेवा तथा सिर्जनात्मक उद्योगजस्ता क्षेत्रमा महिलाले आफ्नो सीप, ज्ञान र सोचलाई व्यवसायमा रूपान्तरण गरिरहेको अवस्था स्पष्ट रूपमा देखिएको बताए।
‘आज स्टार्टअप क्षेत्रमा महिलाका लागि नयाँ नयाँ अवसरहरु खुलेका छन्। कृषि तथा पर्यटन सेवा र सिर्जनात्मक उद्योग जस्ता क्षेत्रमा महिलाले आफ्नो सीप, ज्ञान र सोचलाई व्यवसायमा रुपान्तरण गरिरहेको हाम्रो अगाडि स्पष्ट छ,’ उनले भने, ‘मोबाइल फोन, ईन्टरनेट र आत्मविश्वासले महिलाहरुलाई स्थानिय बजारबाट विश्व बजारसम्म पुर्याउने सकेको पनि थुप्रै उदाहरणहरु छन्।’
तर अवसरसँगै चुनौती पनि महिलाको साथमै रहेको उनले बताए। ‘चुनौती व्यवसायमा मात्र होइन, शारीरिक रूपमा पनि चुनौती भोग्दै आएका हामी कतिपय छौं,’ उनले भने।
आज पनि धेरै महिला उद्यमीहरू वित्तीय पहुँचको अभाव, सामाजिक सोच, पारिवारिक जिम्मेवारी तथा नीतिगत जटिलतासँग जुधिरहेको उनको भनाइ थियो
यी चुनौती महिलाको क्षमता कमजोर भएर नभई प्रणाली र संरचनामा रहेको कमजोरीका कारण उत्पन्न भएको मन्त्री सिन्हाको धारणा छ। उनले यस्ता समस्याहरू समाधान गर्न राज्य, निजी क्षेत्र, वित्तीय संस्था र समाज सबैको साझा दायित्व भएको बताए।
सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महिला उद्यमशीलताको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको पनि जानकारी गराए।












