Kathmandu Press

कानुनै नबनाई किन बाँडिदैछ राष्ट्रिय परिचयपत्र ?‌‍

राष्ट्रिय परिचयपत्र र पञ्जीकरणसम्बन्धी विधेयकको अवधारणामा प्रत्येक नागरिकको डिजिटलाइज रेकर्ड राख्ने भन्ने  छ । यो कार्य प्रशंसनीय छ । नेपाल सरकारले टोली खटाएर वित....

कानुनै नबनाई किन बाँडिदैछ राष्ट्रिय परिचयपत्र ?‌‍

राष्ट्रिय परिचयपत्र र पञ्जीकरणसम्बन्धी विधेयकको अवधारणामा प्रत्येक नागरिकको डिजिटलाइज रेकर्ड राख्ने भन्ने  छ । यो कार्य प्रशंसनीय छ । नेपाल सरकारले टोली खटाएर वितरण गर्ने भनिएको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र हाम्रोजस्तो देशले वितरण गर्दै हिँड्ने कुरा होइन । बुझ्न नसकिने कुरा– यो किन वितरण गर्दै हिँड्ने ? यसको पछाडिको उद्देश्य के हो ?

जुन देशमा दशौँ लाख विदेशी मान्छे बस्छन्, त्यो ठाउँमा यो वितरण किन गर्ने ? फेरि यो वितरण गरेर कहिल्यै सकिँदैन । नसकिने कुरा वितरण गर्दै हिँड्नु किन ? हामी पासपोर्ट वितरण गर्दैनौँ, लाइसेन्स वितरण गर्दैनौँ तर यो चाहिँ वितरण गर्दै हिँड्ने भन्ने अवधारणा किन आयो ? नागरिकतासम्बन्धी विधेयक र राष्ट्रिय परिचयको विषयमा यो अचम्म लागेको छ । 

संसारका कुनै पनि देशले उसको नागरिकता वितरण गर्दै हिँड्दैनन् । यो त कहिल्यै वितरण गरेरै सकिँदैन । यदि वितरण गर्दै सकिन्न भने किन टोली खटाउनु ? एक पटक वितरण गरेपछि पुग्ने भए बेग्लै हुन्थ्यो । यो अचम्मको कुरा छ । नागरिकता विधेयकमा पनि त्यसलाई निरन्तरता दिएको छ । 

Hardik ivf


म नागरिकता र राष्ट्रिय परिचयपत्र बेग्लाबेग्लै राख्नुको औचित्य देख्दिनँ । राष्ट्रिय परिचयपत्र वितरण गर्नुको जुन उद्देश्य राखिएको छ, त्यो उद्देश्य अहिलेको बन्दोबस्तले पूर्ति गर्दैन । नागरिकता, परिचयपत्र जारी गर्ने, उजुरी हेर्ने, रद्द गर्ने इत्यादि एउटै निकायले गर्नुपर्छ ।  

अर्को, संसद्मा विचाराधीन विधेयकमा ऐन आउनुभन्दा पहिला वितरण गरिएका परिचयपत्रलाई पनि वैधानिकता दिएको छ । पञ्जिकरण गरिएकोलाई त ठीकै होला तर ऐन नै नबन्दै गरिएको कामलाई पनि किन मान्यता दिने ? अहिले पाँचथर गएर राष्ट्रिय परिचयपत्र वितरण गरिएको भनिएको छ । किन के आधारमा वितरण गरियो ? विधायिकाले कानून बनाएकै छैन तर वितरण गरिसकिएको छ । यो कुरालाई पश्चात्दर्शी प्रावधान राखेर कानून बनाउँछ । हाम्रो विधायिकामा कुन सिद्धान्त लागू गरेका छौँ ? यदि यस्तो सिद्धान्त अपनाउने हो भने अरु–अरु कुरामा पनि सरकार विधायिकाको नियन्त्रणमा हुँदैन । कागजमा पाँचथरमा बाँडेको भनेको छ, अन्यत्र पनि बाँडिरहेको छ कि ? ऐन बनेपछि पश्चात्दर्शी व्यवस्था राखेर त्यसलाई वैधता दिनु विधायिकाको आधारभूत सिद्धान्तमै प्रश्नवाचक चिन्ह खडा भएको छ । त्यसैले यो गर्न दिनु हुँदैन । 

अर्को कुरा, नागरिकता पनि बनाउने, परिचयपत्र पनि दिने दुइटा कुरा यसले व्यवस्था गरेको छ । नागरिकता नभएकालाई पनि परिचयपत्र दिने भनेको छ । नागरिकता दिन योग्यता पुगेका व्यक्तिलाई परिचयपत्र दिने भनेको छ । यसले नागरिकता प्राप्त नगरेकोलाई पनि दिने भनेको छ ।

संविधानमा लेखियो– नेपालका कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गरिने छैन । के भनेको त्यो ? नेपालको नागरिक त ऊ यसै ठहरिइसक्यो । नागरिकता भनेको कागजको खोस्टा हो र ? कोही नागरिक हो कि हैन भनेर नागरिकताले निर्धारण गर्ने हो । यो कस्तो अवधारणा हो ? यो विधेयकमा पनि नागरिकता नभएका तर नागरिकता दिन योग्यता पुगेकालाई पनि परिचय पत्र दिने भनेर स्पष्ट लेखिएको छ । नागरिकता दिन योग्यता पुगेको व्यक्ति भनेर कसले निर्णय गर्ने ? नागरिकता दिने मान्छे र निकाय नै दुइटा भए । एउटा स्थानीय निकायका पदाधिकारी, अर्को प्रमुख जिल्ला अधिकारी । परिचयपत्र पाइसकेको व्यक्तिलाई नागरिक होइनस् भन्ने तागत हामीसँग हुँदैन । नागरिकता पाउन योग्यता नै पुगिसकेर त पाएको हो– परिचयपत्र । 

परिचयपत्र रद्द गराउने दफामा लेखिएको छ– नागरिक रहेनछ भने   परिचयपत्र रद्द हुने भनेर । यो व्यवस्था मिल्दैन । माथि नागरिकता पाउन योग्यलाई मात्र राष्ट्रिय परिचयपत्र दिने भन्ने थियो तर तल नागरिकता पाउन योग्यता पुगेन भने रद्द हुने भनेर लेखियो । नागरिकता नभए पनि नागरिक हुने भन्ने उही कुरा फेरि आयो । परिचयपत्र जारी गर्ने स्थानीय तहको प्रशासकीय अधिकारी छ । सार्वजनिक सेवा प्रवाहका लागि यो नभई नहुने भनेर लेखिएको छ । परिचयपत्र लागू नगर्ने जिल्ला तोक्न सकिने छ पनि भनिएको छ । मानौँ– सरकारले काठमाडौं जिल्लाभित्र सार्वजनिक सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र चाहिन्छ भनेर तोकिदियो । त्यो लागू नभएको जिल्लाको मान्छे भयो भने उसले त्यो पाएकै हुँदैन । उसले कसरी सेवा लिन्छ ? कार्यान्वयनमा पनि कठिनाइ देखिन्छ । 

संसारकै ठूलो जनसङ्ख्या भएका मुलुकका बीचमा हाम्रो देश छ । खुला सिमाना छ । यो देशमा कति विदेशी नागरिक बस्छन्, त्यो पनि थाहा छैन । तिनले के गर्छन् भन्ने कुनै अभिलेख छैन । पढ्दै थिएँ–रोहिंग्या (म्यानमारका मुश्लिम शरणार्थी) ले गएर गोरखामा घर बनाइरहेका रहेछन् । त्यहाँ बसेको दुई–तीन वर्ष भइसकेछ । ऊ मजाले नेपाली बोल्ने भइसकेछ । भोलि–पर्सि त्यो नेपाली हुन्छ । बच्चा जन्मियो, हुर्किइसक्यो । उसलाई मानवीय हिसाबले पनि नागरिकता नदिनु पनि भएन । तर, ती कुनबेला नेपाल छिरे, सरकारलाई थाहा छैन । वास्तविक सङ्ख्या कति छ, त्यो पनि थाहा छैन । तिनका छोराछोरी कति छन्, त्यो पनि थाहा छैन । कतै दर्ता छ कि छैन, त्यो पनि थाहा छैन । त्यस्ता कति विदेशी छन् नेपालमा ? यस्तो सानो गरिब देशमा भएभरका ‘रछ्यान’ भारत वा अरु देशका सबै हामीले व्यहोर्ने हो ? यो कुराको निर्णय कसले गर्ने हो ? नेपाली जनताले कुन बेला गर्ने ? अहिलेसम्म त सह्यौँ, अब कति सहने ? यो देशलाई आफ्नै आँखाअगाडि स्खलित भएको कसरी हेर्ने ? 

हामीले पटक–पटक नागरिकता परिवर्तन ग¥यौँ । टोली खटाएर नागरिकता वितरण ग¥यौँ । कहिल्यै समाधान नहुने फसादमा पर्दै गयौँ । फेरि बाँड्दै गयौँ. । यतिलाई बाँड्यौँ भनेर उपलब्धिका रुपमा गृह मन्त्रालयका कर्मचारीले खुशी हुनुपर्ने अवस्था छ । पाँचथरमा यति ग¥यौँ या फलानो ठाउँमा यति भयो । संसारमा कहीँ पनि यसरी बाँडिदैन । 
यसले पार्नसक्ने अप्ठेरोबारे पनि अलिकति व्याख्या गरौँ । दुईवटा निकायबाट दुईथरि प्रमाणपत्र बाँडिने भए– एउटा नागरिकता अर्को राष्ट्रिय परिचयपत्र । हामी सुतुर्मुर्गजस्ता भयौँ । अष्ट्रिचले टाउको धुलोमा लुकाएपछि लुकेँ भनेजस्तो । 

नागरिकता चाहिँ हामीले एउटा कागजको खोस्टोमा एउटा फोटो राखेर छाप लगायौँ । त्यो फोटो पनि कयौँ वर्षअघिको चिन्नै नसकिने हुन्छ । आधारभूत डकुमेण्ट नागरिकता त्यस्तो बाँड्यौँ । त्यसैको आधारमा राष्ट्रिय परिचयपत्र बनाउछौँ । डिजिटलाइज्ड गर्ने नै हो भने नागरिकतालाई गरिदिनुपर्ने थियो । त्यो राम्रो पनि हुन्थ्यो होला ।

अब नागरिकता भनौँ वा परिचयपत्र– अब दुई थरिले बाँडिने भए । यो अलग्गै (म्युचुअली एक्सक्युसिभ) छैनन् । एउटा दिनु भनेको अर्को पनि दिनु हो । परिचयपत्र पाइसकेकोलाई नागरिकता दिन्न भनेर कसरी भन्ने ? नागरिकता पाएकोलाई परिचयपत्र नदिन कसैले सक्दैन । यस कारणले दुईटा निकायले दिएको दुईथरि प्रमाणपत्र हाम्रो साथमा हुने भए । एउटा स्थानीय निकायको अधिकारीले गर्ने दिने भयोे । अर्को प्रमुख जिल्ला अधिकारीले दिने भयो । कार्यविधि पनि दुइटै छ । 

यसको आवश्यकता किन पर्‍यो ? हामीले खोजेको के हो ? हामीले खोजेको नागरिकको डाटा रहोस् भन्ने हो । त्यसको डुप्लिकेशन नहोस्,  आधुनिक डिजिटलाइज्ड फिचरहरूको रूपमा रहोस् । यो राम्रो कुरा हो । नागरिकको राष्ट्रिय परिचयपत्र बन्नु अत्यन्त राम्रो कुरा हो तर हामीले अहिले जे बन्दोबस्त गर्न लागेका छाै‌ । त्यसले यो उद्देश्यलाई विल्कुलै पूर्ति गर्दैन । नागरिकता हामीले डिजिटलाइज्ड गरेका छैनौँ, परिचयपत्र हामीले डिजटलाइज्ड गर्ने भयौँ । नागरिकता त फेरि पनि पुरानै रहने भयो । 

नाबालक परिचयपत्र दिने भनेको छ । बच्चालाई नागरिकताको आवश्यकता किन पर्‍यो भन्ने पनि खुलेको छैन । त्यसको आधार बुझेको छैन । १६ वर्ष नपुगी नागरिकता प्राप्त हुँदैन । अहिलेको हाम्रो कानूनले भन्छ– त्यसभन्दा अघि जहाँ पनि उसको अविभावकले उसको प्रतिनिधित्व गर्छ । कानूनले नै त्यही भन्छ भने फेरि उसलाई परिचयपत्र किन आवश्यक भो ? ठूलो उपलब्धि पनि केही भएन । 

परिचयपत्रका राष्ट्रियता उल्लेख गर्ने भनेको छ । के देशको राष्ट्रियता पनि अर्को हुन सक्छ र ? कुरो बुझिँदैन । 

विदेशी र गैरआवासीय नेपालीलाई दिने भनिएको छ । गैरआवासीय नेपालीसम्बन्धी ऐन खारेज भएको छैन । यसमा फेरि गैरआवासीयलाई परिचयपत्र दिने भनेको छ । यदि यो दिने हो भने त्यसलाई खारेज गर्नु जरुरी छ । 

परिचयपत्रमा विदेशीका लागि तोकिएको छुट्टै परिचयपत्र जारी गर्न सक्नेछ भनिएको छ । बरु उसको परिचयपत्र पो माग्नुपर्ने हो । को हौ तिमी, तिम्रो परिचयपत्र लेऊ पो भन्नुपर्ने हो । यसको उद्देश्य के हो भन्ने मस्यौदा हेर्दा थाहा हुँदैन । 

हामी (२५प्लस समूहका मान्छे) ले बूढानीलकण्ठ नगरपालिकामा गएर भन्यौँ, ‘मेयर साप, यहाँ विदेशीले पसल खोलिरहेका छन्, हकरको काम गरिरहेका छन् । बिहान–बिहान हरेक टोलमा काठमाडौंमा मात्र दशौँ हजार छन् । अन्यत्र हरेक व्यापारिक केन्द्रहरू र ससाना बजारमा देख्नुहुन्छ, कवाडी उठाउनेहरू । खाली सिसी भन्दै आउँछन् । अन्यत्र त कुरै छोड्नुस्, सोलुखुम्बुमा पनि देख्नुहुन्छ । तिनीहरूलाई दर्ता गर्नुस् । तिनीहरू को हुन्, कहिलेदेखि बसेका छन् । लेखा राख्नुस् ।’ 

मेयर साप कस्तो हुनुहुँदो रहेछ भने कुरो सबै सुन्ने, हस् हस् भन्ने तर केही नगर्ने । हामीले त्यो व्यहोर्‍यौँ । सबैलाई राम्रो भए पछि त त्यो मान्छे कसैलाई पनि राम्रो हुँदैन । हामीलाई त्यो गर्न त कुनै पनि सम्झौताले बन्देज लगाएको छैन । अहिले हामीले परिचयपत्र दिने त भन्छौँ । त्यसको उद्देश्य केही पनि पूरा भएन । 

विदेशीको अभिलेख अद्यागमन विभागमा राख्नु उचित हुन्छ । किनभने, कुन देशको मान्छे हो ? किन छिर्‍यो ? कति बस्ने हो ? के काम गर्ने हो ? काम गर्न कुनै परमिट पो चाहिने हो कि ? विदेशीको यो सबैको रकर्ड अद्यागमन विभागमा राख्नु उचित हुन्छ । विदेशीका लागि बेग्लै बन्दोबस्त गर्नु राम्रो हो । 

म नागरिकता र राष्ट्रिय परिचयपत्र बेग्लाबेग्लै राख्नुको औचित्य देख्दिनँ । राष्ट्रिय परिचयपत्र वितरण गर्नुको जुन उद्देश्य राखिएको छ, त्यो उद्देश्य अहिलेको बन्दोबस्तले पूर्ति गर्दैन । नागरिकता, परिचयपत्र जारी गर्ने, उजुरी हेर्ने, रद्द गर्ने इत्यादि एउटै निकायले गर्नुपर्छ ।  नागरिकतामै सबै विद्युतीय रेकर्ड राख्नु वेश हुन्छ । दुईटा सरकारी निकाय राख्ने, फेरि नागरिकता र परिचयपत्र दुई उस्तै बनाउने । एउटा चाहिँ अलि आधुनिक बनाएजस्तो गर्ने अनि अर्को पुरानै कागजको खोस्टो राख्नुको औचित्य छैन । 

परिचयपत्र पनि नागरिकताका आधारमा मात्र बनाउनु उचित हुँदैन । किनकि, यहाँ प्रशस्तै नक्कली नागरिकता बाँडिएका छन् । नागरिकताको कार्डका आधारमा मात्र दिन हुँदैन । नागरिकताको कागजका आधारमा बाँड्दा यो नक्कली हो कि सक्कली भनी जाँच्ने आधार पनि छैन । जुन मूल रेकर्ड हो, त्योसँग भिडाएर मात्र दिनुपर्छ । मानौं, एउटा रामप्रसाद भन्ने सिडिओले ०२५ सालमा नागरिकता दिएको भनी लेखिदिन्छ । ०२५ सालमा त्यो नाम गरेको सिडिओ थियो कि थिएन, कसरी जाँच्ने ? ०२५ सालको अभिलेख नै हामीसँग छ कि छैन ? 
नागरिकतामै सबै विद्युतीय रेकर्ड राखौँ । हामीले नयाँ दिँदा नागरिकतामा पनि चाहेका तथ्यांक राखेर दिऊँ । पहिले हामी पासपोर्ट पनि हातले लेखेर दिन्थ्यौँ । पछि त्यसलाई एमआरपी बनायौँ । नागरिकतालाई नै त्यसो गर्न सकिन्छ । नागरिकतामै परिचयपत्रमा राख्ने सबै कुरा राखेर अबदेखि बाँड्न थाल्यौँ भने नागरिकताको पनि स्तर बढ्यो । त्यसको डुप्लिकेशन पनि गर्न नसकिने भयो । 

नक्कली नागरिकताको बिगबिगी र प्रयोगबारे छानबिन गर्न विशेष आयोग बनाऊँ । नक्कलीलाई खारेज गरिदिऊँ । एउटा हवाइजहाज खस्यो भने आयोग गठन गर्ने सरकारले यत्रो प्रश्न उठिसकेपछि राष्ट्रिय नागरिकता छानबिन आयोग गठन गर्नुपर्छ । डिजिटलाइजको बेला आएकोले त्यस्तो नागरिकता दिने हो भने राष्ट्रिय परिचयपत्र नै चाहिँदैन । अहिले नागरिकता खोजेर त्यसको आधारमा राष्ट्रिय परिचयपत्र बाँड्ने पञ्जिकरण गर्ने विशेष तागत भएको डाटा सबै राख्ने जुन अड्डा खडा गर्न खोजिएको छ, त्यसैलाई नागरिकता बाँड्न दिए हुन्छ । नागरिकतालाई नै डिजिटलाइज्ड गरौंँ । राष्ट्रिय परिचयपत्रको आत्मामा विवाद छैन, यसको फ्रेमवर्क स्पष्ट गरौँ । राष्ट्रिय परिचयपत्रको विधेयकमा धेरै कुरा तोकिएबमोजिम भनिएको छ । नियम बनाउन त कति हो कति पर्छ । देशको स्वतन्त्रता र सुरक्षाका लागि पनि जरुरी हुन्छ । हामी जे गर्दैछौँ, त्यसले हामीलाई झन् अप्ठेरोमा पार्छ । 


(नेपाल–भारत विज्ञ समूहमा रहेर काम गरिसकेका उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त हुन् । अन्तर्राष्ट्रिय कानूनका ज्ञाता उपाध्यायको प्रस्तुत विचार ‘२५प्लस समूह’ को बुधबार बालुवाटारमा आयोजित अन्तक्र्रियामा प्रस्तुत कार्यपत्रका आधारमा तयार पारिएको हो ।)

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, फागुन २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?