लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु : अर्थमन्त्री
उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए।
काठमाडौं, जेठ १९ : अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२, ८३ को बजेटलाई लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोशिस गरेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए।
‘एमालेको नेतृत्वको सरकार होस अथवा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस त्यसले लोकप्रिय र राम्रो बजेट ल्याउछ भन्ने एउटा मानक बनेको छ। यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु,’ उनले भने, ‘मैले लोकप्रिय हुनु पर्छ, के गर्दा भइएला, कस्तो कार्यक्रमको छनोट गर्दा लोकप्रिय भइएला भन्ने कुरामा होईन के गर्दा अनुशासित भइएला, स्रोत व्यवस्थापन गर्न सकिएला, प्रभावकारी तरिकाले खर्च व्यवस्थापन गर्न सकिएला भन्ने तर्फ बढि केन्द्रीत भएको छु।’
अर्थमन्त्री पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले बजेट बनाउदा लोकप्रिय मात्र होईन, अनुशासित बजेट पनि बनाउन सक्छ भन्ने कुरा स्थापित गर्ने तर्फ पनि बढि केन्द्रीत भएको बताए।
बजेट निर्माण गर्दा अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने जस्ता जिम्मेवारीहरु भएको भन्दै सोही जिम्मेवारी र सिमाभित्रबाट बजेट निर्माण गर्ने कोशिस गरेको पनि उनको भनाई छ।