Kathmandu Press

नागरिकसँग पार्टीलाई जोड्न वडा र पालिका तह बलियो हुनुपर्छ : प्रदीप पौडेल

नागरिक र कांग्रेसबीचको सम्बन्धलाई बलियो र निरन्तर बनाउन वडा तथा पालिका कार्यसमितिको नीति र रणनीति नै सबैभन्दा प्रभावकारी हुने उनले स्पष्ट पारे । ‘पालिकाले स्थानीय संस्कृति र वडाले नागरिकको जीवनशैलीसँग जोडिएर काम गर्न सक्छ,’ पौडेलले भने ।
नागरिकसँग पार्टीलाई जोड्न वडा र पालिका तह बलियो हुनुपर्छ : प्रदीप पौडेल

काठमाडौं, असाेज ७ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकसँग पार्टीको सम्बन्ध सुदृढ बनाउन वडा र पालिका तह सशक्त, संगठित र गतिशील हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले स्थानीय तहमै पार्टी कमजोर भए नागरिकसँगको सम्बन्ध टुट्ने बताएका हुन् ।

वडा तह पार्टीको विचार र सन्देश सम्प्रेषण गर्ने आधारभूत संरचना भएको उल्लेख गर्दै महामन्त्री पौडेलले भने, ‘नेपाली कांग्रेसको सन्देश र विचार सम्प्रेषण गर्ने सबैभन्दा तल्लो तह वडा हो । वडा र पालिका तहमा कांग्रेस मजबुत, संगठित र गतिशील हुन सकेन भने पार्टीलाई नागरिकसँग जोड्न सकिँदैन । नागरिकसँग जोडिन नसके कांग्रेसका संरचनागत समितिहरू त रहलान्, तर नागरिकसँगको सम्बन्ध टिक्न सक्दैन ।’

नागरिक र कांग्रेसबीचको सम्बन्धलाई बलियो र निरन्तर बनाउन वडा तथा पालिका कार्यसमितिको नीति र रणनीति नै सबैभन्दा प्रभावकारी हुने उनले स्पष्ट पारे । ‘पालिकाले स्थानीय संस्कृति र वडाले नागरिकको जीवनशैलीसँग जोडिएर काम गर्न सक्छ,’ पौडेलले भने ।

परम्परागत शैलीको राजनीतिले अब निकास नदिने उल्लेख गर्दै उनले पार्टीलाई नवप्रवर्तन र समसामयिक विचारका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । ‘अब प्राचीन राजनीतिक विचारहरू बोकेर राजनीति सम्भव छैन,’ उनले भने, ‘हामीले नवीनतम विचार सिर्जना गरेर नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्ने गतिविधिहरू सञ्चालन गर्न सक्नुपर्छ ।’

पार्टीका कार्यकारी पदमा रहेका नेतृत्व तहका नेताहरूले संगठनलाई पर्याप्त समय दिनुपर्ने बताउँदै पौडेलले नेतृत्वको इच्छाशक्ति र सक्रियताबाट मात्र पार्टी चलायमान हुने धारणा राखे । नेतृत्वले समय दिएर संगठनलाई गतिशील बनाउन नसक्नु पार्टीप्रतिको धोका हुने उनको भनाइ थियो ।

प्रकाशित मिति: १८:०० बजे, बुधबार, असोज ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्