पेट्रोलियम पदार्थको मूल्य घट्यो
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ कायम भएको छ।
काठमाडौं, जेठ १ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ कायम भएको छ।
यस्तै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ। निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ आठ पैसा र डिजेलमा दुई रुपैयाँ ८० पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ।