सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब पुग्यो
संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ।
काठमाडौं, वैशाख ३१ : सरकारी कार्यालय, संगठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब नाँघेको छ।
आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्षमा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ।
महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ। अद्यावधिक बेरुजु गतवर्षको भन्दा ९.४५ प्रतिशतले बढेको छ।
त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुंगो लगाउनुपर्ने रकम पाँच खर्ब ५१ अर्ब एक करोड गरी कुल रु १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगेको हो। यसरी हालसम्मको कुल बेरुजु रु १२ खर्ब ८४ अर्ब २० करोड नाघेको हो।
अद्यावधिक बेरुजुतर्फ संघीय सरकारी कार्यालयको तीन खर्ब ७५ अर्ब ४७ करोड, प्रदेश सरकारी कार्यालयको ३० अर्ब ४८ करोड १९ लाख, स्थानीय तहको दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख र समिती तथा अन्य संस्थाको एक खर्ब १७ अर्ब ९४ करोड बराबर रहेको छ।