विद्युत् महसुल बढाउने तयारी
शुक्रबार श्वेतपत्र जारी गर्ने क्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समयानुकूल विद्युत् महसुल समायोजन गरिने बताए।
काठमाडौं, वैशाख १९ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बढाउने तयारी गरेको छ।
शुक्रबार श्वेतपत्र जारी गर्ने क्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समयानुकूल विद्युत् महसुल समायोजन गरिने बताए। उनका अनुसार, तीन वर्षदेखि विद्युत् महसुल समायोजन भएको छैन।
यस्तै, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता प्रचलित विद्युत् वितरण तथा संलकन विनियमावलीअनुसार असुलीको प्रक्रिया तत्काल अगाडि बढाइने उनको भनाइ छ।
लोडसेडिङ हुन नदिन भारतबाट अझै ठूलो परिमाण बिजुली आयात गर्नुपर्ने देखिएको छ। नेपाल विद्युत प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रमा माग र आपूर्तिको असन्तुलन आर्थिक वर्ष २०८३/८४ सम्म हुने उल्लेख गरेको छ। चालु आर्थिक वर्षमा माग र आपूर्ति असन्तुलन मिलाउन भारतबाट ८ सय मेगावाटसम्म बिजुली आयात भएको छ।
आर्थिक वर्ष २०८२/८३ को सुक्खायाममा ७ सय ९१ मेगाबाट र आर्थिक वर्ष २०८३/८४ को सुक्खा मौसममा ७ सय २८ मेगावाट बिजुली अपुग भएपछि भारतबाट आयात गर्नुपर्ने अवस्था देखिएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
उनले राष्ट्रिय विद्युत प्रणालीमा वर्षा तथा सुक्खायामको विद्युत माग र आपूर्तिबीच फरक किसिमको असन्तुल रहेको बताएका छन्।