अर्थ समितिमा बजेटबारे छलफल, वैदेशिक ऋणबारे चर्को बहस
उनले विदेशी अनुदान नै २२.९ प्रतिशतले बढाउने भनेपनि हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गर्न नसकेकाले असम्भव जस्तै भएको बताए।
काठमाडौं, चैत २२ : शुक्रबार बसेको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा छलफल गरिएको छ। बैठकमा अर्थ मन्त्रालयसँग बजेटका सम्बन्धमा छलफल भएको हो।
छलफलमा बोल्दै पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्ने कुरा विश्वास गर्ने कसरी भन्दै प्रश्न गरे। उनले विदेशी अनुदान नै २२.९ प्रतिशतले बढाउने भनेपनि हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गर्न नसकेकाले असम्भव जस्तै भएको बताए।
‘अनुदान नै २२.९ प्रतिशतले बढाउने भन्या छौं। वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्या छौं । जब की हामीले हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गरेकै छैनौं। अब यत्रो ठूलो वृद्धि हुन्छ भनेर विश्वास गर्ने कसरी? यो सम्भव नै छैन,’ उनले भने।
नेता महतले अहिले जुन अन्तर्राष्ट्रिय परिवेश छ त्यसले अर्थतन्त्रमा थप जटिलता थपेको बताए। उनले १९ खर्ब प्लसको बजेट प्रस्तुत गरिएको छ त्यो विदेशी सहयोग यत्रो ठूलो मात्रामा बढ्ने कुनै सम्भावना नरहेको बताए।
‘वैदेशिक अनुदान नै २२.९ प्रतिशत बढ्छ भनेर अहिले जुन बजेट प्रस्ताव गर्नु भएको छ। १९ खर्व प्लसको बजेट प्रस्तुत गर्नु भएको छ । अब राजश्व चाँही १०.३ प्रतिशत र आन्तरिक ऋण ८.३ प्रतिशतले बढाउने भन्नु भएको छ। अब विदेशी सहयोग यत्रो ठूलो मात्रामा बढ्ने कुनै सम्भावना छैन,’ उनले भने।
छलफलमा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सांसद ज्ञानेन्द्र शाही, सूर्यबहादुर थापालगायतले धारणा राखेका थिए।