पूर्वराजालाई कृष्ण सिटौलाको चुनौतीे– राजनीतिमा आउने हो भने एजेन्डा लिएर खुला रुपमा आउनू
‘म आफैँले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्रसँग संवाद गरेको हुँ। निवासको, सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,’ उनले भने, ‘अहिले मै केही गर्छु भनेर गाडीमा बसेर ताली खाँदै ताली दिँदै हिँड्नु शोभनीय विषय भएन।’
काठमाडौं, चैत ४ : नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएको सम्मान ग्रहण गरेर आफ्नो ठाउँमा बस्न सुझाव दिएका छन्।
सिटौलाले पूर्वराजा ज्ञानेन्द्रले राजनीतिमा आउने हो भने एजेन्डा लिएर खुला रुपमा आउन समेत चुनौती दिए।
पछिल्लो समय देखिएको ज्ञानेन्द्र शाहको सक्रियताप्रति सिटौलाले आपत्ति जनाए। सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै सिटौलाले उक्त आपत्ति जनाएका हुन्।
सिटौलाले मुलुक लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा रहेको स्मरण गराउँदै यो व्यवस्था यत्तिकै प्राप्त नभएको पनि बताए। सिटौलाले लामो संघर्षको समयमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनु दुखद् भएको पनि बताए।
उनले ०४७ सालको संविधानले नारायणहीटीलाई संसद्को मातहत राखेको भए यस्तो हुन्थेन कि भन्ने प्रश्न पनि गरे। तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफैँले संवाद गरेको स्मरण पनि गरे।
‘म आफैँले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्रसँग संवाद गरेको हुँ। निवासको, सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,’ उनले भने, ‘अहिले मै केही गर्छु भनेर गाडीमा बसेर ताली खाँदै ताली दिँदै हिँड्नु शोभनीय विषय भएन।’
उनले परिवर्तनकारी राजनीतिक दलहरू संविधानको पक्षमा एकपटक एकताबद्ध भएर उभिने बेला भएको पनि बताए।
सिटौलाले अघि भने, ‘धेरै ठूलो संघर्षको नेतृत्व हामीले गरेका थियौँ। धेरै ठूलो रक्तपात भएको छ मुलुकमा । हामीले गर्न सकेको कुरा भन्न सक्नुपर्छ नसकेको कुरा पनि प्रष्ट भन्नुपर्छ यो कारणले सकिएन ।’












