तालावन्दी र अवरोधका कारण १५ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
काठमाडौंका ६ र बाहिरका ९ क्याम्पसमा निर्वाचन प्रक्रिया अनिश्चित
काठमाडौं, चैत ४ : विद्यार्थी संगठनको तालावन्दी र अवरोधका कारण त्रिभुवन विश्वविद्यालयका १५ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया रोकिएको छ।
प्रमुख विद्यार्थी संगठन सत्तारूढ कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, प्रतिपक्षी माओवादीनिकट अखिल क्रान्तिकारीलगायत संगठनका कारण स्ववियु निर्वाचन प्रक्रिया रोकिएको हो।
काठमाडौंका ६ र बाहिरका ९ क्याम्पसमा निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ। उपत्यकामा त्रिवि कीर्तिपुर, सरस्वती क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गलाई रोकिएको निर्वाचन प्रक्रिया रोकिएको छ।
उपत्यका बाहिर सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा क्याम्पस रूपन्देही, तेह्रथुम क्याम्पस, रामसागर रामस्वरूप क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस रामपुरमा पनि निर्वाचन प्रक्रिया अबरुद्ध बनेको छ।
त्रिविअन्तर्गतका आंगिक, सम्बन्धनप्राप्त सामुदायिक र निजी क्याम्पसमा विद्यार्थी कल्याण र हकहितका लागि स्थापित साझा संस्था स्ववियुको निर्वाचन ५ चैत मंगलबार हुँदै छ । निर्वाचन अनिश्चित बनेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आचारसंहिताविपरीत कार्य गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।
मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले विज्ञप्ति जारी गर्दै तोकिएको मितिमा निर्वाचन गराउन र आचारसंहिता पालना गर्न सरोकारवालालाई आग्रह गरेका छन्।












