Kathmandu Press

मार्चदेखि अस्ट्रेलियाका सात सहरमा गुञ्जिँदैछ नेपथ्य

नेपथ्यले सन् २०२५ को विदेश भ्रमण अस्ट्रेलियाबाट सुरू गर्ने भएको छ।
मार्चदेखि अस्ट्रेलियाका सात सहरमा गुञ्जिँदैछ नेपथ्य

काठमाडौं, माघ ३० : नेपथ्यले अस्ट्रेलियामा श्रृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ।

वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अस्ट्रेलियाली सहरहरुमा आफुलाई प्रस्तुत गर्नेछ ।

आगामी मार्च महिनाको ३ तारिखमा संघीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ। त्यसबीच ब्याण्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफूलाई उभ्याउने छ।

Hardik ivf

नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यको यो सातौँ अस्ट्रेलिया यात्रा शृंखला हो ।

‘नेपथ्यले स्थापनादेखि नै देश विदेशमा प्रस्तुती दिँदै आएको भएता पनि ब्याण्डलाई विशिष्ट कलेवरमा पहिलोपटक उभ्याउने काम अस्ट्रेलियाले गरेको थियो,’ मुख्य गायक एवं अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यहाँका स्रोता दर्शकबाट पाइने न्यानो मायाले हरेक यात्रामा अविष्मरणीय छाप छोड्दै आएको छ।’

अस्ट्रेलियाको यात्रामा यसपटक छ जना ब्याण्डका सदस्य र आठजना प्राविधिक एवं व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट राजधानी क्यानबेराको ‘नेशनल कन्भेन्सन सेन्टरस्थित रोयल थिएटर’ मा आयोजना हुनेछ । त्यसको ६ दिनपछि अर्थात् मार्च महिनाको ९ तारिख पर्थको ‘मेट्रो सिटी’मा नेपाली लोकरकको चीरपरिचित स्वर गुञ्जिनेछ।

यो सहर वेस्टर्न अस्ट्रेलिया राज्यको राजधानी हो।

मुलुककै पश्चिमी किनारामा यसरी प्रस्तुत हुनासाथ ब्याण्ड फेरि पूर्वी किनाराको ब्रिस्बेन पुग्नेछ । क्विन्स्ल्याण्ड राज्यको यो राजधानीस्थित ‘दी टिभोली’ हलमा मार्चको १४ तारिख प्रस्तुती रहनेछ ।

त्यसको लगत्तै टोली दक्षिणवर्ती टापु तास्मानियाको यात्रामा हिँड्नेछ । राजधानी होबार्टस्थित ‘ओडिअन थिएटर’  मा मार्च १८ तारिख नेपथ्यका गीतहरु सुनाइने छन् । यो हलमा यसअघि पनि ब्याण्डले कार्यक्रम गरिसकेको छ ।

पाँचौ प्रस्तुती भने साउथ अस्ट्रेलिया राज्यको राजधानी एडिलेडमा आयोजना हुनेछ।  मार्च २१ तरिखका दिन त्यहाँस्थित ‘हिण्ड्ले स्ट्रीट म्यूजिक हल’ मा ब्याण्डले प्रस्तुती दिनेछ।

त्यस लगत्तैको कन्सर्टका लागि ब्याण्ड भिक्टोरिया राज्यको राजधानी मेलबर्न पुग्नेछ । मार्च २४ तारिखका दिन त्यहाँस्थित ‘फेस्टिभल हल’ मा नेपथ्यले आफूलाई उभ्याउनेछ।

त्यसपछिको नेपथ्य यात्रा भने पृथ्वीको दक्षिणी गोलाद्र्धमै ब्याण्डका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ ।

अस्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा नेपथ्य कन्सर्ट ‘होडर्न पभिलियन’मा आयोजना हुनेछ । थुप्रै विश्वविख्यात कलाकारहरुले आफूलाई प्रस्तुत गरिसकेको मुर पार्क स्थित यो हलमा नेपथ्य दोश्रोपटक उभिन लागेको हो।

यसरी सिड्नीमा ब्यापक दर्शकको घेरा अनुभव गरिसकेपछि ब्याण्ड स्वदेश फिर्तिको तयारीमा लाग्नेछ ।

‘स्रोता दर्शकहरुको अपार माया पाउँदै आएको अस्ट्रेलियामा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं,’ मुख्य गायक एवं अगुवा अमृत थप्छन्, ‘त्यहाँका दर्शकहरुलाई पहिलेको भन्दा फरक सेटलिस्ट सहित गीत सुनाउने तयारी पनि चल्दैछ ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन्।

नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्याण्डसँग नेपालय आवद्ध भएको यो २५ औं वर्ष पनि हो । यसबीच ब्याण्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफुलाई उभ्याइसकेको छ ।

‘नेपालीभाषीको उल्लेख्य उपस्थितीसँगै अस्ट्रेलियामा नेपाली कलाको बजार विकास भइसकेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसलाई अझ विस्तारित एवं दिगो बनाउँदै लैजान हामीले नेपथ्यलाई सदैव जिम्मेवारीपूर्वक उपस्थित गराउँदै आएकोमा यसपाला पनि त्यसले निरन्तरता पाउनेछ।’

अस्ट्रेलियाका सबैजसो कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ । सबै शोको बुकिङसमेत खुला भइसकेको छ ।

कतिपय सहरमा भने विशेष छुट सहितका अग्रीम बुकिङ खुला गर्नेबित्तिकै त्यस्ता छुट्याइएका टिकट समाप्त भइसकेको जानकारी पनि आइरहेका छन् ।

सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् जानकारी पाउन सक्नेछन्।

प्रकाशित मिति: २०:३८ बजे, बुधबार, माघ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्