'लगानीको वातावरण बनाउन सरकार तयार'
मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
काठमाडौं, माघ ३०: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन्।
मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को शिलान्यास समारोहमा उनले आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।
मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
'व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ,' उनले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशमा हुने सबैखाले लगानीको सुरक्षित वातावरण बनाउन राजनीतिक सहजीकरणको भूमिका निर्वाह गरिने उल्लेख गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतले कर्णालीमा लगानी प्रवर्द्धन र व्यावसायिक सुरक्षाको वातावरण बनाइने बताइन्।
मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ ।
दुईवर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिनेछ।