काठमाडौं अदालतको आदेश- रवि लामिछाने कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन [पूर्णपाठ]
बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।काठमाडौं, माघ २ : काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
योसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि लामिछानेले बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन्।
अदालतल लामिछानेलाई उक्त मुद्दामा अहिल्यै कसुरदार होइनन् भन्न नमिल्ने अवस्था रहेकाले धरौटीमा छाड्न भनेका हुन्।
प्रतिवादीहरू रवि लामिछाने र जिबी राईको नाममा ऋण खाता खोली ४६ लाख ९८ लाखको फोर ह्वीलर लोन र ४६ लाख ४८ हजारको इको सेभेन सिटर भ्यान लोन लिएकोमा रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० रूपैयाँ स्वर्णलक्ष्मी सहकारी संस्थामा ऋण भुक्तान गरेको देखिएको आदेशमा उल्लेख छ।
'... गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भूक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन्न भन्न सक्ने अवस्था नदेखिएको..,' आदेशमा भनिएको छ।
यस्तो छ पूर्णपाठः
यसमा प्रस्तुत मुद्दामा निवेदन साथ हाजिर हुन आएका प्रतिवादी रवि लामिछानेको वयान लिने कार्य सम्पन्न भई थुनछेक आदेश प्रयोजनार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री रामहरि शर्मा काफ्ले, विद्वान जिल्ला न्यायाधिवक्ताहरु श्री सीताराम अर्याल, श्री खडिन्द्रराज कटुवाल, श्री राधिका सुवाल, श्री उदयचन्द्र अधिकारी, श्री सुभाष कुमार भट्टराई, श्री सन्तोषराज कटुवाल, श्री विना खड्का थापा, विद्वान सहायक जिल्ला न्यायाधीवक्ताहरु श्री चन्द्र प्रसाद संजेल, श्री पूर्णेन्द्र पाण्डेय, श्री गणेश कुमार शर्मा एवं जाहेरवालाको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता डा. श्री सुरेन्द्र भण्डारी, तथा विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीले गर्नुभएको तर्कपूर्ण बहस सुनियो ।
त्यसैगरीं प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सुशिल कुमार पन्त, विद्वान वरिष्ठ अधिवक्ता डा. श्री नारायण घिमिरे, विद्वान वरिष्ठ अधिवक्ता श्री रमण कुमार श्रेष्ठ तथा • विद्वान वरिष्ठ अधिवक्ता श्री सुरेन्द्र थापा एंव विद्वान अधिवक्ताहरु श्री राजेन्द्र प्रसाद सेडाई, श्री नारायण दत्त कडेल, श्री सुरज बस्नेत, श्री रेणी देवी सिटौला, श्री हेमराज पोखरेल उपाध्याय, श्री सुधिज्ञ पन्त, श्री अफताभ आलम, श्री सन्जय गोलेले गर्नुभएको तर्कपूर्ण वहस समेत सुनी मिसिल संलग्न कागजात अध्ययन गरि हेरियो ।
स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्था लि. का वर्तमान तथा पूर्व संचालकको रुपमा रहेका प्रतिवादीहरु गितेन्द्र बाबु राई समेत तथा कानून विपरित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. बाट ऋण लिई ठगी गर्ने विभिन्न कम्पनीहरुका संचालक समेत रहेका प्रतिवादीहरु गितेन्द्र बाबु राई र रवि लामिछाने समेतले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.को विगो रकम कानून विपरित कर्जा प्रवाह गरी आर्थिक उपार्जन गर्ने उद्देश्यले लामो समयदेखि निरन्तर रुपमा उक्त सहकारीको रकम दुरुपयोग गरी कानून विपरित ऋण कर्जा लिनुदिनु गरी बेईमानीको नियतले उक्त सहकारीका संचालकहरु तथा ऋण लिने कम्पनीका संचालकहरु समेत मिली आफूलाई फाईदा र उक्त सहकारीलाई नोक्सान पुऱ्याउने, वचतकर्ताहरुको निक्षेप रकम लिने खाने उद्देश्यले संगठित रुपमा मिलेमतो गरी ठगी गरेको हुँदा यी प्रतिवादी रवि लामिछाने समेतलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसूर 'अपराधमा सोही संहिताको दफा २४९ को उपदफा (३) को देहाय (ग) वमोजिम सजाय गरी पाउँन र संगठित रुपमा ठगीको कसूर अपराध गरेतर्फ प्रतिवादीहरुको अपराधमा निरन्तरता; समूहगत संरचना र आवध्दता, एकअर्का बिचको सम्बद्धता, अपराधको गम्भीरता, संरचनागत सहभागिता, आर्थिक लाभ आर्जन गर्ने उद्देश्य, संस्थागत निरन्तरता, समूहगत सहभागिता र कानूनको गंभीर उल्लंघनको कार्य निरन्तर भएको देखिंदा निज प्रतिवादीहरुलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२) र (३) को देहाय (क), सोही दफा ३ को उपदफा (४) र दफा ५ बमोजिमको कसूरमा सोही ऐनको दफा ९ को देहाय (क) बमोजिम सजाय माग दाबी रहेको देखियो ।
प्रस्तुत मुद्दामा सुमन खनाल समेतका बचतकर्ता तथा शेयर सदस्यहरूलाई प्रतिवादी गितेन्द्र बावु राई समेतका सहकारी सञ्चालकहरूले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. मा खाता खोली निक्षेप जम्मा गर्नु, आकर्षक व्याज दिन्छौं भन्ने जस्ता कुरा गरी आश्वासन देखाई खाता खोल्न लगाई रकम बचत गर्न लगाएकोमा निज सुमन खनाल समेतका निक्षेपकर्ताहरूले सहकारीमा निक्षेप जाहेरी दरखास्तमा उल्लिखित जम्मा नगद रु. १,१९,४९,२१,२७०।- (अक्षरुपी एक उन्नाइस करोड उनन्पचास लाख एकाईस हजार दुई सय सत्तरी रुपैया मात्र) विगो रकम सहकारीमा गई फिर्ता माग्दा आज भोलि भनी आलटाल गरी फिर्ता नगरेको र एक्कासी सहकारी समेत बन्द गरी सहकारी संचालनकर्ताहरू भागी फरार भएकोमा काठमाडौँ कीर्तिपुरस्थित बस्ने प्रचण्डमान प्रधान भन्ने व्यक्तिले सहकारीमा आफ्नो समेत ठुलो मात्रामा बचत रकम तथा शेयर रहेको भनी हामी सहकारीबाट पीडित भएका व्यक्तिहरूसँग मिलेको जस्तोगरी सहकारीको सम्पुर्ण बचतकर्ताहरूको बचत रकम फिर्ता गराई दिन्छु भन्ने आश्वासन देखाई बचतकर्ताहरूबाट प्रतिव्यक्ति रु.५००।- (अक्षरुपी पाँच सय रुपैया मात्र) का दरले रकम उठाई सो रकम समेत आफैले खाई पचाई रिकभरीबाट प्राप्त हुन आएको रकम समेत बचतकर्ताहरूलाई झुलाई सहकारीबाट रकम उठाईदिन्छु भनी मासिक रुपमा तलब समेत बुझी लिई सहकारीका व्यवस्थापक नविन अछामीसँग मिलेर निजलाई सहकारीको ठुलो परिमाणको रिकभरीबाट प्राप्त हुन आएको रकम लिई भगाउने वातावरण सिर्जना गरेको तथा संसदिय छानविन समितिको प्रतिवेदन समेतबाट खुल्न आएको यस सहकारी संस्थासमेतबाट अनाधिकृत रुपमा ठुलो परिमाणमा ऋण लिई अपचलन गर्ने गोर्खा मिडिया नेटवर्क प्रा. लि. लगायतका कम्पनीका सञ्चालकहरू रवि लामिछाने र छविलाल जोशी सहित सहकारीको रकम उठाईदिन्छु भन्ने आश्वासन देखाई सहकारी संचालनकर्ताहरूसँग मिलेर सहकारीको रकम लिई भगाउने कार्यमा संलग्न प्रचण्डमान प्रधान भन्ने व्यक्ति समेतलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत बेहोराको जाहेरवालाहरूको जाहेरी दरखास्त रहेकोमा सोही बेहोरालाई समर्थन हुने गरी मौकामा बुझिएका सज्जय अधिकारी समेतले घटना विवरण कागज गरेको देखिन्छ ।
प्रतिवादी रवि लामिछानेले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानमा सहकारीको रकम गोरखा मिडियामा ल्याउने कुनैपनि प्रक्रियामा मेरो संलग्नता छैन । मिसिल संलग्न मलाई देखाईएको निवेदनको छाँयाकपीमा भएको हस्ताक्षर र औठाछाप मेरो हो तर कम्पनीमा जोडिँदा र कम्पनी छोड्दा मैले शेयर वापतको पैसा लगानी गरेको पनि होईन र लिएर गएको पनि होईन।।गोरखा मिडिया नेटवर्कका लगानीकर्ता गितेन्द्र बाबु राई नै हुन् । लगानीकर्ताको निर्देशन विना र उल्लिखित प्रक्रिया विना मैले कम्पनीको चेक जारी गर्न सक्दैनथे । छविलाल जोशी अधिकांश समय - विदेश गएका थिए र गितेन्द्र बाबु राई अत्यन्तै व्यस्त थिए । म मात्र लेखाका कर्मचारीहरुले खोज्दा स्टेशनमा रहेको हुँदा मेरो हस्ताक्षर लिन उनीहरुलाई सहजता थियो । त्यस कारण सहजकर्ता रुपमा मात्रै मैले चेकहरु हस्ताक्षर गरेको हुँ । व्यक्तिगत रुपमा गितेन्द्र बाबु राईले उपलब्ध गराएको ऋण नै गोरखा मिडिया नेटवर्कले लिएको ऋण हो । मेरो कार्यकालमा गितेन्द्र बावु राईबाट लगभग २२ करोड ऋण आएको देखिन्छ । आफूले लिएको ऋण उनले को कोबाट र कहाँ कहाँबाट लिए त्यो मेरो जानकारीको विषय रहेन। लेखा सम्बन्धी कार्यको पुर्ण नियन्त्रण कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको हुने भएकोले त्यसमा मैले केही सोच्नु पर्ने अवस्था थिएन । प्राविधिक रुपमा चेकमा सहि गर्न म कहाँ चेकहरू ल्याईने भएपनि कम्पनीका लागनीकर्ताको मात्रै यसमा नियन्त्रण थियो । म प्रवन्ध निर्देशक रहेको अवधीभर गोरखा मिडिया नेटवर्क प्रा.लि. मा उल्लिखित स्वर्ण लक्ष्मी बहुउदेश्यीय सहकारी लगायत कुनै पनि सहकारीबाट रकम ल्याउने निर्णय भएको नहुँदा म निर्दोष छु भनी अभियोग दावी वमोजिमको कसूरमा ईन्कार रही बयान गरेकोमा सोही अनुसन्धानको वयान वेहोरालाई समर्थित हुनेगरी यस अदालत समक्ष समेत वयान गरेको पाईन्छ ।
प्रतिवादी रवि लामिछानेले अनुसन्धान अधिकारी र यस अदालत समक्षको वयानमा ईन्कार रही बयान गरेतापनि यी प्रतिवादीहरु उपर किटानी जाहेरी दरखास्त रहेको देखिन्छ । यी प्रतिवादी रवि लामिछाने आफू गोर्खा नेटवर्क मिडिया प्रा. लि. को प्रवन्ध निर्देशक रहेको, गोर्खा मिडिया नैटवर्क प्रा.लि.बाट शेयर खरिद गरि नलिएको, आफूलाई प्राप्त भएका शेयर स्वेट शेयर वापत पाएको हुँ । उक्त प्रा.लि.बाट राजिनामा दिई छोडेर जाँदा पनि शेयरको पैसा नलिई तेतिकै शेयर हस्तान्तरण गरि गएको हुँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रा.लिको खातामा आएका रकमका बारेमा आफूलाई केही थाहा नभएको । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु भनी कसूरमा इन्कार रही बयान गरेको देखिएतापनि प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रा.लि.का विक्रीमा रहेको १,८०,००० थान शेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग वमोजिम यस प्रा.लि.मा विक्रीमा रहेको शेयर मध्ये १,८०,००० शेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई शेयर लिएको देखिंदा निजले उक्त प्रा. लि. को शेयर खरिद गरिलिएको देखिइ निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रा.लि.को शेयर होल्डर एंव प्रबन्धक निर्देशक समेत रहेको देखियो । प्रतिवादी रवि लामिछाने गोरखा नेटवर्क मिडिया प्रा. लि. मा शेयर होल्डर एंव प्रवन्ध निर्देशक हुनु भन्दा अघि नै प्रतिवादी रवि लामिछाने समेतको हस्ताक्षरबाट खाता संचालन हुने गरी गोरखा नेटवर्क मिडिया प्रा.लि. को ग्लोबल आई.एम.ई. बैंकमा खाता खोली संचालनमा ल्याएको, निज प्रवन्ध निर्देशक भएको वेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रा.लि.को सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो । प्रतिवादीहरु रवि लामिछाने र गितेन्द्र बाबु राईको नाममा ऋण खाता खोली रु.४६,९८,०००/- Four Wheeler loan र रु.४६,४८,०००/- Eco Seven Seater Van Loan लिएको, प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट रु.९०,१६,६६० / - स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको, गोर्खा मिडिया नेटवर्क प्रा. लि. को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिंदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होईनन् भन्न सक्ने अवस्था नेदिएकोले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारवाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६०,००,०००/- (साठ्ठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारीखमा राख्नु । साथै फरार रहेका प्रतिवादीहरुको हकमा यसै अदालतबाट पक्राउ पूर्जि जारी गरी पक्राउ भई आएपछि वयानका लागि पेश गर्नू।